
सोमवार , भाद्र १६, २०८२
तिलोत्तमा, १६ भदौ । राष्ट्रिय आयुर्वेद एशोसियसन नेपाल (रान) लुम्बिनी प्रदेशको आयोजनामा एशोसियसनको तेस्रो वार्षिक उत्सव रुपन्देहीको तिलोत्तमामा सम्पन्न भएको छ । राष्ट्रिय आयुर्वेद एशोसियसन नेपाल लुम्बिनीका अध्यक्ष वरिष्ठ कविराज निरिक्षक नरहरि अर्यालको अध्यक्षता तथा वरिष्ठ कविराज निरीक्षक गणेश भट्टराईको प्रमुख आतिथ्यता, राष्ट्रिय आयुर्वेद एशोसियसन नेपाल केन्द्रीय संस्थापक उपाध्यक्ष शालिकराम भुसाल, आयुर्वेद औषधी उत्पादक संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष चन्द्रकान्त खनाल, बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरज भट्टराई, सदस्य नारायण सापकोटा, सदस्य हरिहर भण्डारी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गणेश भट्टराईले आयुर्वेदको विकासका लागि केन्द्रदेखि स्थानीय तहसम्म अपनत्व हुने गरी नीति, नियम र ऐन, कानून बनाउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै राष्ट्रिय आयुर्वेद एशोसियसन नेपाल संस्थापक केन्द्रीय उपाध्यक्ष शालिकराम भुसालले आयुर्वेद क्षेत्रका सम्पूर्ण व्यवसायी तथा पेशागत आयुर्वेदकर्मीलाई रानमा सूत्र बद्ध गर्दै अगाडि लैजानुपर्नेमा जोड दिनुभयो ।
बुटवल उद्योग वाणिज्य संघ बुटवलका उपाध्यक्ष सुरज भट्टराईले आयुर्वेद बी.फार्माको अभाव रहेको र आयुर्वेद व्यवसायीलाई थोक लाइसेन्सको व्यवस्था गरिनुपर्ने धारणा राख्नुभयो । आयुर्वेद औषधी उत्पादक संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष चन्द्रकान्त खनालले आयुर्वेदको नाममा बिना दर्ताका औषधि, तेल तथा फुड सप्लिमेन्टको बजारीकरण रोक्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उद्योगी हरिहर भण्डारीले वार्षिकोत्सवको अवसरमा शुभेच्छा प्रकट गर्नुभयो । राष्ट्रिय आयुर्वेद एशोसियसन नेपाल लुम्बिनीका अध्यक्ष नरहरि अर्यालले वोल्दै आयुर्वेदको विकासका लागि व्यवसायी तथा पेशागत आयुर्वेद कर्मीबाट सुझाव संकलन गर्न ७ सदस्यीय समिति गठन गरिएको बताउनुभयो । उहाँले समितिले आवश्यक छलफलपछि दुई–तीन महिनाभित्र प्रदेश तथा संघका सम्बन्धीत निकायमा सुझाव पेश गर्ने समेत बताउनुभयो ।
राष्ट्रिय आयुर्वेद एशोसियसन नेपाल लुम्बिनीका उपाध्यक्ष दीपक पन्थीको स्वागत तथा एशोसियसनका केन्द्रीय सचिव प्रदिप बैठाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा चिकित्सक स्वास्थ्यकर्मी तथा आयुर्वेदसँग सम्बन्धीत सहभागीहरुको उपस्थिति थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij