२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईद्वारा लुम्बिनी भ्रमण

शनिवार , भाद्र २१, २०८२

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • लुम्बिनी, २१ भदौ । भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ । न्यायपालिकाको सर्वोच्च जिम्मेवारी सम्हालेपछि उहाँको यो पहिलो नेपाल यात्रा हो । उहाँले लुम्बिनी आगमनलाई विशेष आध्यात्मिक अवसरका रूपमा लिएको बताउनुभएको छ । 

    शनिबार बिहान लुम्बिनी प्रवेश गरेका गवईलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ), सदस्य–सचिव सानुराजा शाक्य, कार्यकारी सदस्य श्याम रोक्का, वरिष्ठ प्रशासन प्रमुख ज्ञानिन राईसहित कोषका अधिकारी तथा कर्मचारीहरूले स्वागत गरेका थिए । 

    भ्रमणका क्रममा गवईले लुम्बिनी क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्वबारे जानकारी लिनुभएको थियो । उहाँले मायादेवी मन्दिर परिसरमा पुगेर बुद्ध जन्मस्थल अवलोकन गर्दै शुत्रपाठ गर्नुभएको थियो । साथै, विश्व शान्ति, मानव कल्याण, नेपालको प्रगति र भारत–नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ होस् भन्ने कामना गर्दै दियो प्रज्वलनसमेत गर्नुभएको थियो ।

    लुम्बिनी भ्रमणपछि गवईले लुम्बिनी विकास कोषका पदाधिकारीहरूसँग गुरुयोजना र हाल सञ्चालनमा रहेका विकास–निर्माणका गतिविधिबारे चासो देखाउनुभएको थियो । उहाँले लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरमा थप प्रचार–प्रसार गर्न नेपालले गरेको प्रयासको प्रशंसा गर्दै यस क्षेत्रमा भारतको सहकार्य निरन्तर रहने विश्वास पनि व्यक्त गर्नुभएको थियो । प्रधान न्यायाधीश गवईलाई उपाध्यक्ष डा. लामाले बुद्धको मूर्ति उपहार प्रदान गर्नुभएको थियो ।

    प्रधानन्यायाधीश गवई नेपालमा आयोजना हुने ‘नेपाल–इन्डिया जुडिसियल डाइलग’ कार्यक्रममा सहभागी हुन आएको अवसरमा लुम्बिनी पुग्नुभएको हो । उक्त कार्यक्रममा नेपाल र भारतका न्यायाधीश तथा विधिवेत्ताबीच आपसी अनुभव आदान–प्रदान, न्याय क्षेत्रका चुनौती तथा सम्भावनाबारे छलफल गरिएको थियो ।

    प्रधान न्यायाधीश गवईको यस भ्रमणले लुम्बिनीमार्फत नेपालको पर्यटन, साँस्कृतिक र धार्मिक महत्व अझै उच्चस्तरमा पुग्ने विश्वास लुम्बिनी विकासकोषले व्यक्त गरेको छ ।