२०८२, भाद्र २४ गते

Sep 09 2025 | २०८२, भाद्र २४ गते

जनताको रगतमा नेताको 'महल'

मंगलवार , भाद्र २४, २०८२

  • 577
    Shares
  • 577
    Shares
  • नेपाल आज पीडाको दलदलमा डुबिरहेको छ । ‘जनताको प्रतिनिधि’ भनेर कुर्सीमा पुग्ने नेताहरू सत्तामा पुगेपछि कानमा रुई हालेर बस्छन् । पत्रकारले सत्य बोले धम्की खानुपर्छ, शिक्षकले विरोध गरे लाठी खानुपर्छ, विद्यार्थीले प्रश्न गरे अनुशासनको नाममा कारवाही हुन्छ । यही हो सरकारको ‘जनताको पक्षमा’ भन्ने ठट्टा । साँचो भन्नेलाई द्रोही ठहरिन्छ, झुट बोल्नेहरू नेता कहलिन्छन् ।
    सामाजिक सञ्जाल प्रतिबन्ध अहिलेको सबैभन्दा ठुलो उदाहरण हो । सरकारले भनेको बहाना त ‘कानून पालना भएन’ भन्ने मात्र हो । तर, वास्तविक कारण भने सधैजस्तो एउटै हो आलोचना सुन्न सक्ने हिम्मत छैन । सत्य बोलेको सहनै नसक्ने नेताहरूको सजिलो उपाय के हो भने सत्यलाई बन्द गर, झुटलाई फैलाऊ । जनतालाई आफ्नो पीडा पोख्ने माध्यम नै बन्द गरेर सरकारलाई लाग्छ समस्या समाधान भयो । तर, भोकले कराउने पेट, बेरोजगारीले धपेडी खाने युवाहरू, आँसु पुछ्दै सडकमा उभिने आमाबाबु कसरी मौन बस्लान् ?

    आज जनताको पीडा सीमाना नाघिसकेको छ । महंगी आकाश छोएको छ, बजारमा बुटको मूल्य सुनभन्दा महंगो जस्तै बढेको छ । तर, आमाको भान्सामा दैनिक खाना पकाउनै मुस्किल परेको छ । घरभित्र बाबुआमा छोराछोरी फर्केर आउलान् भनेर बाटो हेरिरहेका हुन्छन् । तर, उनीहरू हवाइजहाज चढेर देश छोडिरहेका छन् । सरकार भने हरेक भाषणमा ‘समृद्ध नेपाल’ को मन्त्र जपिरहेको छ । पेट भोकाएको छ तर, नेताको पेट मात्र भरिएको छ । जनताको पसिना सुखाएर उठाइएको कर नेताको महल, नेताको गाडी, नेताको विदेश भ्रमण र उपचारमा सकिन्छ । जनताले अँध्यारोमा बत्ती निभाएर बस्नुपर्छ । तर, नेताको घरमा रातभरि झिलिमिली बलिरहन्छ । जनताको पसिनाको पैसा देश बनाउन होइन, नेताको ऐश आराम सजाउन मुख्य स्रोत बनेको छ ।

    देशमा राजनीति भने झन घृणाको खेल बनेको छ । विपक्ष भनेर देखाइने कुरा नाटक मात्र हो, सत्तामा पुग्दा सबैको सौदाबाजी मिल्छ । कुर्सी बाँडफाँडमा नेताहरू एकजुट हुन्छन् । तर, जनता मर्ने बेलामा कोही हुँदैन । सडकमा जनता आँसु ग्यास र गोली खान्छन्, नेताहरू विदेशी अस्पतालमा एयर एम्बुलेन्स चढ्छन् । ‘नाच्न नजान्ने आँगन टेढो’ भन्ने उखान नेताहरूमा ठ्याक्कै मिल्छ जनताको हितमा केही नगर्ने, तर दोष जनतालाई लगाउने ।

    प्राकृतिक विपदको बेलामा पनि नेताहरूको रंगमञ्च देखिन्छ । बाढीले घर बगाउँछ, पहिरोले गाउँ मास्छ, जनताले छानो बिना रात बिताउँछन् । तर, राहत बाँड्दा फोटो खिच्न मात्र हुन्छ । मन्त्रीहरूको गाडीमा पेट्रोल कहिल्यै सकिँदैन । तर, जनतालाई दुई मुठी चामल जुटाउन कठिन हुन्छ । विपदमा सरकार नभएजस्तो हुन्छ । तर, महंगो सूट लगाएर विदेश जाँदा नेताहरू पहिलो लाइनमा देखिन्छन् ।
    न्याय प्रणाली नै जनताको घाउमा नुन छर्ने बनिसकेको छ । रवि लामिछानेलाई किन जेलमा राखिन्छ ? किनभने उनले पुराना नेताहरूको कालो धन्दा खोले । सत्य बोलेको सजाय कैद हुन्छ । तर, जब कुनै मन्त्री वा नेताको गाडीले निर्दोष नाबालिगलाई ठक्कर दिन्छ, त्यतिबेला ‘सामान्य चोट’ भनेर घटना थुन्छ । यो मुलुकमा न्याय किन किनिन्छ ? किनभने सत्तामा बस्नेहरूको अपराधलाई अपराध मानिँदैन । यही हो नेपालको वास्तविक न्याय प्रणाली सत्य बोल्ने अपराधी, झुट बोल्ने नेता ।

    जेनजीको अवस्था झन करुणामय छ । पढेर आफ्नो देशमै केही गर्ने भन्दा पनि पासपोर्टमा भिसा स्ट्याम्प पाउने मात्र लक्ष्य बनेको छ । श्रम गर्ने उमेरका हातहरू विदेशमा पसिना बगाइरहेका छन् । आफ्नै देशमा बस्न सक्ने वातावरण छैन भन्ने सोचले युवाहरूलाई देशभित्रै कैदीजस्तो महसुस गराइरहेको छ । ‘देशमा भविष्य छैन’ भन्ने वाक्य नै हाम्रो पुस्ताको साझा वाक्य बनेको छ । जुन पुस्ताले देशलाई भविष्य दिनुपर्ने थियो, त्यसैलाई देशले धोका दिइरहेको छ ।

    चुनाव आउँदा मात्रै नेताहरूलाई डर लाग्छ । त्यसैले अहिले सामाजिक सञ्जाल बन्द गरेर आलोचना रोक्न खोजिएको हो । यत्रा वर्षदेखि फेसबुक, युट्युब, इन्स्टाग्राम चलेको थाहा थिएन र ? अहिले मात्र किन सम्झियो ? कारण स्पष्ट छ चुनाव नजिकिएको छ, जनताको आक्रोश नियन्त्रण गर्न । पुराना भ्रष्ट अनुहारलाई फेरि पनि भोट हाल्न लगाउने खेल सुरु भएको छ ।
    तर, अब दोष सरकारलाई मात्र लगाएर बस्ने दिन सकिएको छैन।  प्रश्न हामीमाथि पनि छ । हामी यति धेरै पीडा सहँदा–सहँदै फेरि पनि त्यही पुराना सत्ता कब्जा गरेका नेताहरूलाई भोट दिन्छौं भने, दोष सरकारको होइन, दोष हाम्रो हुनेछ । गोरुबाट दूधको आशा गरेजस्तो हो पुराना नेताबाट परिवर्तनको आशा गर्नु । हामी आफैंले आँखा चिम्लेर पुराना खेलाडीहरूलाई जिताउँछौं भने, देश बिगार्ने सरकार होइन, देश बिगार्ने हामी आफैं हुनेछौं ।

    जेनजीको चाहना स्पष्ट छ देश छोडेर होइन, आफ्नै देशमा बसेर भविष्य बनाउन । त्यो सम्भव हुन्छ, तर त्यसका लागि अहिले नै उठ्नुपर्छ, बोल्नुपर्छ, र चुनावमा योग्य, इमान्दार मान्छे रोज्नुपर्छ । अब समय आएको छ कि हामी मौन बस्न छोडौं, सत्य बोल्नेहरूलाई समर्थन गरौं, अनि भोट दिने बेलामा जनताको लागि साँच्चै लड्नेहरूलाई रोजौं । नेपाल अझै बचाउन सकिन्छ । तर, त्यतिबेला मात्र जब हामी आफ्नै कमजोरी स्वीकारेर अन्धो भएर पुरानै नेताहरूलाई भोट दिन बन्द गर्छौं ।