२०८२, भाद्र २४ गते

Sep 09 2025 | २०८२, भाद्र २४ गते

पक्लिहवा कृषि क्याम्पसका विद्यार्थीद्वारा पार्टीसम्बद्ध संगठन परित्याग, साइनबोर्ड जलाइयो

मंगलवार , भाद्र २४, २०८२

  • 484
    Shares
  • 484
    Shares
  • भैरहवा, २४ भदौ । रुपन्देहीको भैरहवास्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसमा क्रियाशील तीन विद्यार्थी संगठनले जेनजी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विद्यार्थी संगठन खारेज गर्ने निर्णय गरेका छन् । 

    मंगलबार बिहान विद्यार्थीहरुको हस्ताक्षर संकलन गरी यहाँ क्रियाशील नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा (एमाले) निकट अनेरास्ववियु र नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारीले विद्यार्थी संगठन खारेज गर्ने निर्णय गरेका हुन् ।

    विद्यार्थी संगठन खारेज गर्ने निर्णयपछि सबै संगठनका क्याम्पस कमिटीका अध्यक्षसहितका पदाधिकारी, सदस्यहरु र साधारण सदस्यहरुले सम्बद्ध संगठनबाट सामूहिक राजीनामा पनि दिएको बताएका छन् । त्यस्तै विद्यार्थी संगठनहरुले क्याम्पस हाताभित्र राखिएका तीनवटै विद्यार्थी संगठनका साइनबोर्ड निकालेर क्याम्पसको गेट अगाडि जलाएका छन् । जेनजी आन्दोलनलाई सरकारले दमन गरेको र निर्दोष युवाहरुलाई ताकेर गोली हानी हत्या गरेको विद्यार्थी संगठनहरुको भनाइ छ ।

    नेपाल विद्यार्थी संघका क्याम्पस कमिटी सभापति कमल सुवेदीले अब पक्लिहवा क्याम्पसमा कुनै विद्यार्थी संगठन नहुने बताउनुभयो । उहाँले वर्तमान सरकारले युवाहहरुको आवाज रोक्न खोजेको बताउनुभयो । 

    एमाले निकट अनेरास्ववियुका क्याम्पस कमिटी अध्यक्ष विवेक खनालले सबै विद्यार्थीहरुले संगठन र दलभन्दा माथि उठेर मुलुकको हितमा र युवाहरुको आवाजमा साथ दिनुपर्छ भनेर नै विद्यार्थी संगठन खारेज गरेको बताउनुभयो ।

    माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) का सदस्य उज्वल रायले मुलुकमा परिवर्तनको माग लामो समय रहे पनि अहिले आएर जेनजीहरु अघि आएको बताउनुभयो । अनेरास्ववियुकी क्याम्पस कमिटी कोषाध्यक्ष मनिषा ढकालले अब आफूहरु स्वतन्त्र युवा र विद्यार्थी भएको बताउनुभयो ।