२०८२, आश्विन १ गते

Sep 17 2025 | २०८२, आश्विन १ गते

पर्यटकलाई घुमफिरका लागि दशैँ–तिहारको समय ‘उत्तम’

बुधवार , आश्विन १, २०८२

  • 346
    Shares
  • 346
    Shares
  • काठमाडौं, १ असोज । जेन–जी आन्दोलनका कारण केही दिन असहज स्थिति पैदा भएपनि हाल होटेल, रेस्टुरेण्टदेखि एयरलाइन्स, ट्रेकिङ र ट्राभल व्यवसायसम्म सबै गतिविधि पूर्ववत अवस्थामा फर्किएका छन् ।

    पहिलेकै अवस्थामा फर्किएसँगै दशैँ,तिहारको बेला पर्यटन क्षेत्र चयायमान हुने देखिएको छ । नेपाल होटेल संघ (हान) का अध्यक्ष विनायक शाहले पनि मुलुकको पर्यटन क्षेत्र फेरि सामान्य अवस्थामा फर्किसकेको र अब फेरि यो क्षेत्र माथि उठ्ने बताउनुभएको छ ।

    शाहकाअनुसार सरकारले पनि पर्यटन क्षेत्रलाई पूर्ण साथ दिएको छ र अब पर्यटकले बुकिङ रद्ध गर्नुपर्ने कुनै कारण छैन ।

    नेपाल आउने पर्यटकलाई उनीहरुले खोजेको सेवा दिन पर्यटन क्षेत्रका सबै पक्ष तयार रहेको उहाँले बताउनु भएको छ । अहिले चाडपर्वको बेला भएकाले पनि नेपालमा पर्यटक आउँदा धेरै रमाइलो गरेर जान सक्ने बताउनु भयो ।

    शाहकाअनुसार नेपाल आउने पर्यटकका लागि लक्षित गरेर विभिन्न चाडपर्वलक्षित प्याकेजहरु समेत ल्याउने तयारी भइरहेको छ । खासगरी भारत र चीनबाट आउने पर्यटकलाई अझ आकर्षित गर्न नयाँ योजना र स्किमहरू तयार भइरहेको छ ।

    न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष शाहले भन्नुभयो–‘अहिले हामी सबै कुराहरू पूर्ववत अवस्थामा फर्किसकेका छौं । होटेल, रेस्टुरेण्ट र जति पनि हाम्रा एयरलाइन्सका कुराहरूलाई, ट्रेकिङका, ट्राभलका सबै कुराहरू हामी पूर्ववत अवस्थामा सामान्यकरणमा आइसकेका छौं । कुनै यसमा बाधा, अवरोध केही पनि छैन । सरकारले पनि हामीलाई साथ दिएको छ ।

    अब अगाडि बढ्ने हो । पर्यटकका लागि यो सिजन एकदमै राम्रो हो ।  अब जसले नेपाल आउने बुकिङ गर्नुभएको छ र अब उहाँहरूले क्यान्सिलिल गर्न आवश्यक छैन ।

    आउनुस्, पर्यटकले खोजेको कुरा पाउन सक्नुहुन्छ र मौसम अब धेरै राम्रो हुन्छ । अब हाम्रो दशैँ–तिहारमा फेरि रमाइलो मौसम पनि हो, चाडपर्व पनि छ । पर्यटकका लागि हामीले नयाँनयाँ स्कीम पनि ल्याउँदै छौं । 

    हाम्रो फोकस भारत र चीनमा अझ बढी फोकस हुन्छ । त्यहाँबाट आउने पर्यटकहरू धेरै हुनुहुन्छ । उहाँहरूलाई अझ आकर्षित गर्ने, हामी नयाँ–नयाँ स्किमहरू, नयाँ–नयाँ हाम्रो योजनाहरू पनि हामीले तयार पारिराछौं । 

    प्याकेजहरुमा हामीले आमुल परिवर्तन गर्दैछौं । अब पर्यटकले आउँदाखेरि पनि त्यो परिवर्तनको महशुस उहाँहरुले पनि गर्नसक्नुहुनेछ । हामीले दिने सेवा पनि आत्मीयताले भरिएको हुनेछ ।’

    अध्यक्ष शाहकाअनुसार अहिले नेपालका होटलहरुको क्षमता वार्षिक रुपमा ३५÷३६ लाख पर्यटकलाई सेवा दिन सक्नेछ । ती पर्यटकले विश्वस्तरको सुविधा नेपालमै पाउन सक्छन् । तर अहिले नेपालमा  १२ लाख मात्रै पर्यटक आउने गरिरहेका छन् ।

    अब यो पर्यटकको संख्यालाई बढाउन जरुरी छ ।  पोखरा, भैरहवा अन्तर्राष्ट्रिय एयरपोर्ट अर्बौँ लगानीमा बनाइएकाले तिनको समेत उपयोग गरेर पर्यटक भित्राउन सक्नुपर्ने शाहले बताउनु भयो ।

    पर्यटन क्षेत्रलाई थप चलायमान बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, व्यक्ति र साझेदारहरूको सहयोग र माया समेत महत्वपूर्ण भएको उहाँको भनाइ रहेको छ ।