
सोमवार , आश्विन २७, २०८२
भैरहवा, २७ असोज । सिद्धार्थ उद्योग वाणिज्य संघ र लुम्बिनी केबलकार लिमिटेड बुटवल, रुपन्देहीबीच छुट सुविधा दिने सम्झौता भएको छ । सम्झौता अनुसार लुम्बिनी केबलकारले संघका पदाधिकारी, कार्यसमिति सदस्य र संघमा आबद्ध सम्पूर्ण सदस्य उद्योगी–व्यवसायीहरुलाई टिकट दरमा छुट सुविधा दिने भएको छ ।
संघका सदस्यहरुको परिचयपत्रको आधारमा केबलुकारको टिकट ५ सय रुपैयाँमा उपलब्ध गराइने सम्झौता–पत्रमा उल्लेख छ ।सम्झौता–पत्रमा संघका अध्यक्ष नेत्र प्रसाद आचार्य र लुम्बिनी केबलकारका अपरेशन म्यानेजर डिल्लीनारायण कायस्थले हस्ताक्षर गर्नुभएको छ ।
संघका अध्यक्ष आचार्यले कार्तिक २६ गतेदेखि लागू हुने गरी यो सम्झौताको अवधि एक वर्षको रहने जानकारी दिनुभयो । आइतबार सिद्धार्थ उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित कार्यक्रमकाबीच सम्झौता–पत्र आदानप्रदान गरिएको कार्यकारी सचिव कल्पना बस्नेतले बताउनुभयो । कार्यक्रममा संघका वाणिज्य उपाध्यक्ष हरि बहादुर थापा, महासचिव कृष्ण प्रसाद घिमिरे, सचिव मंगल भण्डारी लगायतको उपस्थिति थियो ।
लुम्बिनी केबलकार बुटवलस्थित गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म ३ किलोमिटर दुरीमा छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij