२०८२, आश्विन ३० गते

Oct 16 2025 | २०८२, आश्विन ३० गते

तिलोत्तमा–६ मा प्रहरी चौकी पुनःस्थापना हुँदै

बिहिवार , आश्विन ३०, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • तिलोत्तमा, ३० असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नम्बर ६ मा प्रहरी चौकी पुनः स्थापनाका लागि स्थलगत निरीक्षण तथा छलफल गरिएको छ । वडाबासीको शान्ति सुरक्षालाई मध्यनजर गर्दै वडाको गोरकट्टा चोकस्थित १६/३३ मौजा सिंचाई समितिको भवनमा चौकी राख्नका लागि प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, नगरप्रमुख, वडाध्अयक्ष, स्थानीय लगायतको उपस्थितिमा चौकी स्थापनार्थ भवन अवलोकन तथा निरीक्षण गरिएको हो ।

    सो अवसरमा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले नगरपालिकाभित्र सुरक्षा कायम गर्न प्रहरी  र प्रशासनसँगको सहकार्यमा नगरपालिकाले अस्थायी चौकी स्थापना, नगर प्रहरी परिचालनलाइ तीव्र रुपमा अघि बढाएको बताउनुभयो । उहाँले पहिले पनि वडामा चौकी राखेकामा निरन्तर सुरक्षा दिने विषयमा समस्या भइ रोकिएको र अब पुनः स्थापना गरी निरन्तर सुरक्षा  दिने बताउनुभयो ।

    प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले स्थानीय सरकार, नागरिकको जागरुकतामा शान्ति सुरक्षा  कायम गर्न सक्नु राम्रो कार्य हुने बताउनुभयो । उहाँले वडाको पहलमा अघि सारेको चौकी स्थापना कार्यमा प्रशासन र जिल्लास्थित सुरक्षा निकाय सकारात्मक रहेको बताउनुभयो । उहाँले चौकी राख्न उपयुक्त स्थान समेत फेला परेकोमा अब व्यवस्थित तरिकाले प्रहरीले सुरक्षा दिन पाउने बताउनुभयो ।

    त्यस्तै रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रदीप बहादुर क्षेत्रीले जिल्लाबासीलाई सुरक्षाको अनुभुति गराउन प्रहरी हरबखत खटिरहेको बताउनुभयो । उहाँले तिलोत्तमामा शान्ति सुरक्षाका लागि जनप्रतिनिधि र स्थानीय नै सक्रिय भएकाले आफूहरुलाई काम गर्न समेत सहज हुने बताउनुभयो ।

    तिलोत्तमा नगरपालिका–६ का अध्यक्ष गणेश पाठकले वडाको मुख्य राजगमार्ग बुद्ध सर्किट भएको र यस सडकबाट अन्यत्रका मानिस समेतको आवतजावत अधिक भएकाले यहाँका मानिसको सुरक्षा आफुहरुको जिम्मेवारी भएको बताउनुभयो । उहाँले पहिले पनि चौकी राखेर सुरक्षा दिइरहेकामा जेनजी आन्दोलनले विस्थापित भएपछि अब स्थायी रुपमै चौकी स्थापना गर्ने बताउनुभयो ।

    सो छलफलमा १६/३३ मौझा सिंचाइका पदाधिकारीसहित स्थानीयको समेत उपस्थिति थियो ।