२०८२, आश्विन ३० गते

Oct 16 2025 | २०८२, आश्विन ३० गते

चितवनका व्यवसायी भन्छन्–गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्दा हामी खुसी हुन्छौं

बिहिवार , आश्विन ३०, २०८२

  • 394
    Shares
  • 394
    Shares
  • चितवन, ३० असोज । चितवनका पर्यटन व्यवसायीले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुँदा आफूहरु चिन्तित भएको बताएका छन् । उनीहरुले विमानस्थल सञ्चालन हुँदा आफूहरु खुसी हुने बताए । क्षेत्रीय होटल संघ नेपाल चितवनले सौराहामा आयोजना गरेको लुम्बिनी प्रेस क्लब र पर्यटन व्यवसायीबीच अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले यस्तो बताएका हुन् । 

    कार्यक्रममा पर्यटन व्यवसायी बासु ढुंगानाले चितवन आउने पर्यटकलाई लुम्बिनी जान प्रेरित गरिरहेको बताउनुभयो । उहाँले रुपन्देहीबासीले त्यहाँ आएका पर्यटकलाई चितवन आउन प्रेरित गरिरहेकोमा आफूहरु विश्वस्त रहेको बताउनुभयो । ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुँदा हामी चिन्तित छौं । उहाँले भन्नुभयो–‘भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान हुँदा हामी खुसी हुन्छौं ।’ 

    लुम्बिनी र चितवनबीचको सहकार्यलाई सार्थक परिणाम दिनुपर्ने उहाँको भनाइ छ । बाघको बासस्थानको दृष्टकोणबाट संसारको उत्कृष्ट निकुञ्जको रुपमा चितवन राष्ट्रिय निकुञ्जलाई विश्व वन्यजन्तु कोषले पहिचान गरेको उहाँले बताउनुभयो । ढुंगानाले लुम्बिनीमा सारस आकर्षणको केन्द्र भएको बताउनुभयो । 

    क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेले चितवनमा वार्षिक ३ लाख पर्यटक आउने गरेको बताउनुभयो । उहाँले लुम्बिनीमा आउने पर्यटकलाई गुम्बामा नभइ होटलमा राख्नुपर्ने बताउनुभयो । भारतीय पर्यटकलाई चेकिङका नाममा ठाउँठाउँमा दुःख दिने गरिएको गुनासो आएकोले एकीकृत चेकजाँच प्रणाली आवश्यक रहेको उहाँले बताउनुभयो ।

    संघका महासचिव महेश खनालले देश अहिले अफ्ठयारो अवस्थामा परेकोले धुलो टकटकाएर उठ्नुपर्ने बताउनुभयो । बुटवल–नारायणगढ सम्पन्न नहुँदा यात्रा असहज बनाएको उहाँले बताउनुभयो । त्यस्तै नेपाल पर्यटन पत्रकार संघ रुपन्देहीका अध्यक्ष नरेश के.सी.ले पर्यटकलाई लुम्बिनीमा कम्तीमा एक दिन बसाल्ने बिहान सारस देखाएर एक रात चितवन बसाउने गरी टूर प्याकेज बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले चितवनका होटल व्यवसायीले सञ्चालन गरेको घुमौं सौराहा अभियान सराहनीय रहेको बताउनुभयो ।

    लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले लुम्बिनी र चितवन नजिक भएको तर बुटवल–नारायणगढ सडक निर्माणसम्पन्न नभएका कारण पर्यटकले सास्ती खेप्नुपरेको बताउनुभयो । उहाँले पर्यटनबाट आर्थिक समृद्धि सम्भव भएकाले पर्यटकको बसाइ लम्ब्याउन योजना बनाउनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष रायमाझीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

    क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवालले लुम्बिनी, बर्दिया, रारा, चितवन, पोखरा लगायत विभिन्न पर्यटकीय गन्तव्यलाई जोड्न सकिने बताउनुभयो । उहाँले बुटवल–नारायणगढ सडक निर्माण सम्पन्न भएपछि लुम्बिनी–चितवन–पोखरा जोड्न अझ सहज हुने बताउनुभयो । उहाँले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो । 

    क्लबको कार्यसमिति सदस्य एलिना आचार्यले भारतसँगै चीनसँग पनि पर्यटन क्षेत्रको सहकार्यमा जोड दिनुपर्ने बताउनुभयो । कार्यसमिति सदस्य भीम भण्डारीले भ्रमणमा आउने विद्यार्थीहरुका लागि विशेष प्याकेज उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

    क्लबका सल्लाहकार कुलमणि ज्ञवालीले राज्यले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई सहयोग गर्न नसकेको बताउनुभयो । उहाँले सबै हिसाबले नेपाल प्रशस्त सम्भावना बोकेको मुलुक भएको बताउनुभयो ।

    fff.jpg

    पर्यटनका लागि गोल्डेन ट्रयांगलका सह–संयोजक शालिकराम नेपालले पर्यटन सबैभन्दा बढी संवेदनशील क्षेत्र भएको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको विकासका लागि सुरक्षा महत्वपूर्ण पाटो भएको बताउनुभयो।

    चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रकृतिले अपार सम्पदा दिएकोले यसलाई सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले कहाँबाट सबैभन्दा धेरै संख्यामा पर्यटक ल्याउने र कसरी धेरै खर्च गर्ने वातावरण बनाउने कुरा महत्वपूर्ण रहेको बताउनुभयो । ‘दुबईको उदाहरण दिदै प्रजिअ अर्यालले भन्नुभयो–‘दुबईले मरुभूमिलाई सदुपयोग गरेर डेजर्ट सफारीको रुपमा विकास गरेर कराडौं डलर आम्दानी गरिरहेको छ, हामीले पनि आफ्नो ब्राण्ड बचाउनुपर्छ ।’

    पर्यटकलाई धेरै ठाउँमा चेकजाँच गर्नुभन्दा एकजाँच चेकजाँच प्रणालीमार्फत गर्नु उपयुक्त रहेको र त्यो अभ्यासले रुपन्देहीमा सार्थक परिणाम दिएको उहाँले स्मरण गर्नुभयो ।