
शनिवार , कार्तिक १, २०८२
लुम्बिनी, १ कार्तिक । ६७ भन्दा बढी देशका २ सय सम्पदा विज्ञहरूको उपस्थितिमा लुम्बिनीमा सञ्चालित अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनले द्वन्द्व, प्राकृतिक प्रकोपको सामना तथा शान्तिका लागि सम्पदाको उपयोग गर्ने संकल्प गरेको छ ।
बुधबार लुम्बिनीमा सुरू गरिएको सम्मेलन अन्तर्गत शनिबार प्राचीन तिलौराकोट दरबार क्षेत्रको स्थलगत निरीक्षण पश्चात् विभिन्न देशमा देखिएको द्वन्द्व तथा प्राकृतिक प्रकोपहरूको सामानाका लागि साँस्कृतिक सम्पदा उपयोगि हुने संकल्प गरिएको हो ।
सम्पदा संरक्षण समाज (इकोमस) ले शान्ति वक्तव्यमार्फत बुद्व जन्मस्थल लुम्बिनीमा गरिएको सम्मेलनले द्वन्द्व र प्राकृतिक विपत्तिपछि शान्तिको पुनःस्थापनामा सम्पदाको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिएको छ ।
सम्पदा केवल बलियो साँस्कृतिक पहिचानका लागि मात्र नभइ स्थानीय समुदायको आर्थिक दिगोपनाको आधार पनि भएको उल्लेख गर्दै साँस्कृतिक सम्पदाले मात्र सहअस्तित्व कायम गर्न सकिने बताएको छ ।
हाल विश्वका कम्तीमा ३८ देशमा युद्ध तथा तनावको अवस्थामा रहेकाले लुम्बिनीमा गरिएको छलफलले त्यसको सामना गर्न शक्ति प्रदान गर्ने विश्वास गरिएको वक्तव्यमा भनिएको छ । साथै वैज्ञानिक सम्मेलनमा भविष्यमा जलावयु परिवर्तनले पार्ने असरबारे पनि छलफल गरिएको थियो ।
ईकोमस नेपालको आयोजनामा लुम्बिनीमा भएको वैज्ञानिक सम्मेलनमा साँस्कृतिक सम्पदाको संरक्षण एवम् सुधारमा पक्षमा महत्वपूर्ण प्रतिवद्वा गरिएको अध्यक्ष ज्ञानिन राईले बताउनुभयो ।
सम्मेलनअघि अक्टोबर ११ तारिखदेखि ईकोमसको ६०औं वार्षिकोत्सव समेत लुम्बिनीमा मनाईएको थियो ।
युनेस्कोको सल्लाहकार निकायको रुपमा रहेको इकोमसले विश्व सम्पदा सूचीमा अभिलेखको लागि प्रस्तावित साँस्कृतिक र मिश्रित सम्पदाहरूको मूल्यांकन गरी विश्व सम्पदा समितिलाई प्रदान गर्ने गर्दछ । सम्मेलनमा इकोमस इन्टरनेश्नलका सदस्यहरूसहित विश्वभरका साँस्कृतिक सम्पदा संरक्षणसँग सम्बन्धित विज्ञहरू, अनुसन्धानकर्ताहरू तथा नीति निर्माताहरू, सरकारी अधिकारीहरु, अन्तर्राष्ट्रिय पाहुुनाहरुसहित ६७ राष्ट्रका करिव ३ सय स्वदेशी तथा विदेशी सहभागीहरू थिए । सम्मेलनमा विभिन्न विषयहरुमा प्राप्त २६० कार्यपत्रमध्ये छनौटमा परेका १९० वटा कार्यपत्रहरुको प्रस्तुतीकरण गरिएको ईकोमस नेपालका कोषाध्यक्ष सृष्टिना श्रेष्ठले बताउनुभयो ।
सम्मेलनमा ईकोमस अन्तर्राष्ट्रिय अध्यक्ष प्राध्यापक टेरेशा प्याटिसियो, नेपालका तर्फबाट साँस्कृति सम्पदा व्यवस्थापनमा सक्रिय ज्ञानिन राई, डा. काई वाईजे, एनी जोशी, डा. ईनुु प्रधान सालिके, सृष्टिना श्रेष्ठ, देवेन्द्र भट्टराईसहित ईकोमस ईन्टरनेश्नलका सचिवालय सदस्यहरुको प्रस्तुती रहेको थियो ।
लुम्बिनी बौद्ध विश्वबिद्यालय, लुम्बिनी विकास कोष, पुरातत्व विभाग, लुुम्बिनी साँस्कृतिक नगरपालिका, ओरियन्टीयल हेरिटेज साईट प्रोटेक्सन एलायन्स फ्रान्स, ब्रिटिश काउन्सिल, अष्ट्रेलिया इकोमस, इकोमस चाईन लगायतको साझेदारीमा भएको सम्मेलन आइतबार काठमाडौंमा समापन गरिने आयोजकले जनाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij