२०८२, कार्तिक ३ गते

Oct 20 2025 | २०८२, कार्तिक ३ गते

लुम्बिनी प्रादेशिक अस्पतालमा न्यूरो इन्टरभेन्सन सुविधा सुरु

सोमवार , कार्तिक ३, २०८२

  • 385
    Shares
  • 385
    Shares
  • बुटवल, ३ कार्तिक । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलोपटक न्यूरो इन्टरभेन्सन सुविधा सञ्चालनमा आएको छ । अस्पतालमा यो सेवा सञ्चालनमा आएसँगै अब ब्रेन स्टोक, ब्रेन ट्यूमर तथा विभिन्न स्नायू रोगहरुको उपचार र निदानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

    न्यूरो इन्टरभेन्सन भन्नाले मस्तिष्क, मेरुदण्ड र तिनीहरुसँग सम्बन्धित रक्तनलीहरुमा हुने समस्याको औषधि र सर्जरी बीचको आधुनिक उपचार प्रविधि हो । उक्त प्रविधि अनुसार प्रादेशिक अस्पतालमा न्यूरो सर्जन डा. राजिव भण्डारीको नेतृत्वामा शनिबार दुईजना बिरामीको एन्युरिज्मको डीएसए उपचार सफल भएको छ । यो सफलताले उपचार सेवामा थप उत्साह पैदा भएको डा. भण्डारीले बताउनुभयो । उपचारका लागि सहभागी तथा सहयोग गर्ने डा. करुणा ताम्राकार, डा. स्मृति आचार्य,  डा. सन्तोष भट्टराई र डा. मनिष पराजुलीलाई समेत डा. भण्डारीले धन्यवाद ज्ञापन गर्नुभयो । त्यसै गरी नर्सहरु, क्याथल्याब स्टाफ, आइसीयू टीम, एनेस्थेसिया टीम र अस्पताल प्रशासानको समेत ठूलो भूमिका रहेको उहाँले उल्लेख गर्नुभयो । 

    यो प्रविधि अन्तरगत रगतको नलीमार्फत रोगग्रस्त भागसम्म पुगेर समस्याको समाधान गरिन्छ । विशेष गरी मस्तिष्कको रक्तनली फुट्ने, स्ट्रोक अर्थात मस्तिष्कको नली अवरुद्ध हुने, क्यारोटिड आर्टरीमा ब्लकेज, इंट्राक्रानियल हेमोरेज, रगत आपूर्तिबाट निर्भर ट्यूमर लगायतका समस्या समाधानका लागि यो उपचार पद्दतिको प्रयोग गरिने डा. भण्डारीले जानकारी दिनुभयो । 

    यसरी यो प्रविधिको प्रयोगबाट फुट्न लागेको वा फुटेको रक्तनलीमा सानो धातुको तार राख्ने, अवरुद्ध धमनी खुलाउने, स्ट्रोकमा जमेको रगत निकाल्ने तथा असामान्य रक्तनली बन्द गरिने उनले बताए । यो प्रविधि शल्यक्रियाको तुलनामा कम जोखिमपूर्ण हुुनुका साथै बिरामी छिटो निको हुने तथा रक्तस्राव र संक्रमणको कम जोखिम रहने चिकित्सकहरु बताउँछन् ।  

    अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. इन्द्र ढकालले सेवालाई विशिष्टीकृत गर्दै लैजाने क्रममा प्राप्त एकपछि अर्को सफलताले अस्पताल परिवार तथा सेवाग्राहीलाई समेत खुसी तुल्याएको बताउनुभयो । अस्पतालको सेवार विस्तार तथा विशिष्टीकृत गर्ने क्रममा विभिन्न प्रविधिहरुको जडान, उपयोग र सोही अनुसार जनशक्ति परिचालनलाई आफूले जोड दिएको डा. ढकालले बताउनुभयो ।