२०८२, कार्तिक १२ गते

Oct 29 2025 | २०८२, कार्तिक १२ गते

लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमातर्फ फार्मेसी काउण्टर विस्तार

मंगलवार , कार्तिक ११, २०८२

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • रुपन्देही, ११ कार्तिक । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत सेवा लिनेहरुको संख्या बढ्दै गएपछि फार्मेसी काउण्टरको संख्या थप गरिएको छ । सरकारले यो अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रमका लागि पहिलो प्रस्थान बिन्दुको मान्यता दिएपछि सेवा लिन आउनेको संख्या थप बढेको हो । 

    सेवाग्राहीको चाप अत्यधिक बढेपछि यसलाई व्यवस्थापन गर्न फार्मेसी काउण्टरको संख्या विस्तार गरिएको अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट (मेसु) डा. इन्द्र ढकालले जानकारी दिनुभयो । ‘सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्नका लागि फार्मेसी काउण्टरमा हुने भिडलाई कम गर्न काउण्टर थप गरेर सेवा दिन लागिएको हो’मेसु डा. ढकालले भन्नुभयो, ‘फार्मेसी काउण्टर विस्तारसँगै सेवाग्राहीलाई अब केही सहज हुनेछ ।’

    अस्पतालका स्वास्थ्य बीमा शाखा प्रमुख दिपेन्द्र पौडेलका अनुसार स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत ओपिडी सेवातर्फ दैनिक १ हजार २ सय बढी सेवाग्राही आउने गर्छन् । त्यसै गरी आकस्मिकतर्फ १ सय जना बढी सेवाग्राही आउने गर्छन् । 

    अस्पतालमा भर्ना भएर उपचाररत बिरामीको संख्या दैनिक ७० देखि ८० जनासम्म हुने गरेको प्रमुख पौडेलले बताउनुभयो । अस्पतालमा दैनिक १ हजार ५ सयको हाराहारीले स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत फार्मेसीबाट सेवा लिने गरेका छन् । उहाँका अनुसार गएको आर्थिक वर्षमा स्वास्थ्य बीमा सेवा कार्यक्रम अन्तरगत अस्पतालबाट सेवा लिनेको संख्या करिब १ लाख ६० हजार रहेको छ । अस्पतालले सो अवधिमा ३५ करोड बराबरको उपचार सेवा उपलब्ध गराएको थियो । 

    अस्पतालका फार्मेसी इञ्चार्ज पदम खनालका अनुसार यसअघि दुईवटा काउण्टरबाट सेवा दिइँदै आएकोमा अब ७ वटा काउण्टरबाट सेवा सञ्चालन हुनेछ । मंगलबारदेखि नै थप गरिएको काउन्ण्रबाट सेवा दिन थालिएको बताउँदै उहाँले यसलाई थप व्यवस्थित गर्ने काम भइरहेको उल्लेख गर्नुभयो । 

    स्वास्थ्य बीमा कार्यक्रमका लागि फार्मेसीमा हाल ८ जना कर्मचारीबाट सेवा प्रदान हुँदै आएको छ । काउण्टर विस्तारसँगै ६ जना कर्मचारी थप गरिने उहाँले बताउनुभयो । काउण्टर विस्तारले सेवाग्राही लामो समयसम्म लाइनमा बस्नुपर्ने समस्या अन्त्य हुने अपेक्षा गरिएको फार्मेसी इञ्चार्ज खनालले बताउनुभयो ।

    अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सेवालाई प्रभावकारी र चुस्तदुरुस्त बनाउनका लागि प्रयासरत रहेको उल्लेख गर्नुभयो । सोही अनुसार अस्पतालमा फार्मेसी काउण्टर विस्तार गरिएको उल्लेख गर्दै उहाँले धेरै हदसम्म जनगुनासोलाई यसले सम्बोधन गर्न सक्ने अपेक्षा गर्नुभयो ।

    अस्पतालमा सेवाग्राहीको चाप अत्यधिक बढ्दो रहेको बताउँदै अध्यक्ष श्रेष्ठले नयाँ भवन नबन्दासम्म अस्थायी संरचरनाहरु विस्तार गरेर भए पनि सेवालाई सहज बनाउने प्रयासमा रहेको उल्लेख गर्नुभयो ।

    अस्पतालका बन्दै गरेको नयाँ भवनमा समेत व्यवस्थित संरचना र उपकरणहरुका साथै जनशक्ति व्यवस्थापन गर्नुपर्ने विषयमा लुम्बिनी प्रदेश सरकारलाई निरन्तर सुझावहरु प्रस्तुत गरिराखेको उहाँले बताउनुभयो । लुम्बिनी प्रदेश सरकारको गौरव आयोजनाका रुपमा अस्पतालको अत्याधुनिक भवन निर्माणाधिन अवस्थामा छ । अस्पतालको १२ तल्ले भवन निर्माण भइरहेको छ ।