आइतवार , कार्तिक १६, २०८२
भैरहवा, १६ कार्तिक । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ६ मा लालपूर्जा वितरण गरिएको छ । आइतबार एक समारोहकाबीच वडा नम्बर ६ अन्तर्गत रहेका गाउँब्लक जग्गाको जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको हो ।
आइतबार ५५० वटा लालपूर्जा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनुभयो । ‘गाउँब्लक जग्गाको प्रमाणपूर्जा जनतासँग नहुँदा निकै नै समस्या थियो,’उहाँले भन्नुभयो–‘हामी नागरिकलाई लालपूर्जा वितरण गर्न लागिपर्यौं र आज यो कार्यमा सफल भएका महसुस गरेका छौं छौं ।’ उहाँले बाटो बनाउनु मात्र नभइ आफ्नो जग्गाको मालिक जनता आफै बन्नु पनि विकास भएको उल्लेख गर्नुभयो ।
अध्यक्ष यादवले जनताको हातमा लालपूर्जा देख्दा निकै नै खुसी लागेको बताउनुभयो । गत वर्ष रोहिणी–३ मा आयोजित समारोहमा ४५० वटा लालपूर्जा वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत मणि प्रसाद रेग्मीले जग्गाधनी प्रमाणपूर्जा वितरण गर्ने दिनलाई आफूले आफ्नो भाग्यको दिनको रुपमा समेत लिएको बताउनुभयो । उहाँले बाँकी वडामा पनि पूर्जा वितरण गरिने बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष शिवकान्ती हरिजनले लालपूर्जा वितरण आफैमा महत्वपूर्ण कार्य भएको बताउनुभयो ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले नागरिकले लालपूर्जा पाएपछि आफ्नो अधिकार आफ्नो हातमा पाएको महसुस गरेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतले भन्नुभयो तपाईहरु आज आफ्नो सम्पत्तिको मालिक बन्नुभयो ।
रोहिणी–६ का वडाअध्यक्ष इन्द्रमान चौधरीले नागरिकलाई अब लालपूर्जाबिहीन छु भन्ने अवस्था नरहने बताउनुभयो । गाउँपालिकाका पूर्व प्रवक्ता सरोज कुमार पाण्डेयले जनताले लालपूर्जा पाउँदा खुसी भएको बताउनुभयो ।
समाजसेवी देवेन्द्र पाण्डे ‘सागर’ ले कानूनी रुपमा नागरिक अब जग्गाको मालिक बनेपछि खुसी लागेको बताउनुभयो ।
रोहिणी–६ का वडाअध्यक्ष इन्द्रमान चौधरीको स्वागत तथा श्री पशुपति माध्यमिक विद्यालयका प्रधानाध्यापक शिव कुमार राजभरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । रोहिणी गाउँपालिका धकधई, रुपन्देही र नापी कार्यालय रुपन्देहीको संयुक्त आयोजनामा समारोहको आयोजना गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij