२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

ऋणमुक्त भयो करहिया–मक्रहर खानेपानी 

पानीको महसुल चार्ज पनि घट्यो

शुक्रवार , बैशाख १०, २०७८

भैरहवा, १० वैशाख ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ मा रहेको करहिया–मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको चौथो साधारण शुक्रबार सम्पन्न भएको छ । साधारणसभामा बोल्दै तिलोत्तमा नगरप्रमुख बासुदेव घिमिरेले संस्था ऋणमुक्त भएकोमा खुशी व्यक्त गर्दै खानेपानीको सेवा विस्तारमा नगरपालिकाको तर्फबाट सधैं सहयोग रहने बताए । उनले खानेपानी संस्थाहरुले सरसफाईको कामलाई समेत प्राथमिकता दिनुपर्ने बताउँदै पूर्ण सरसफाई उन्मुख नगरपालिका घोषणालाई दिगो बनाउन सबैको उत्तिकै भूमिका रहनुपर्नेमा जोड दिए । 

खानेपानी उपभोक्ता तथा सरसफाई संस्था महासंघका रुपन्देही अध्यक्ष ध्रुव धितालले खानेपानी मुहानदेखि मुखसम्म स्वच्छ हुनुपर्ने बताउँदै यस क्षेत्रका खानेपानी संस्थाहरुले वितरण गर्ने पानी गुणस्तरीय रहेको बताए । उनले पानीका स्रोतको उचित संरक्षण हुनुपर्ने बताउँदै पानी रिचार्जको वातावरण मिलाइनुपर्नेमा जोड दिए । 

कार्यक्रममा संस्थाका अध्यक्ष यज्ञ गैरेले नेतृत्व सम्हालेको अढाई वर्षमा देखिने गरी प्रगतिका धेरै काम अघि बढाइएको बताउँदै नगर विकास कोषलाई एक करोड ९८ लाख ३३ हजार ३५४ रुपैंयाँ तिरेर संस्था ऋणमुक्त भएको जानकारी दिए । सेवा क्षेत्र विस्तारको क्रममा वडा नं. १० र १२ मा १०५ किलोमिटर पाइपलाइन विस्तार गर्ने र ओभरहेड ट्याङ्की निर्माण गर्ने कार्य अघि बढेको बताउँदै अध्यक्ष गैरेले यसबीचमा तिलोत्तमा नगरपालिकाको सहयोगमा संस्थाको सुविधासम्पन्न हल निर्माण, कार्यालय व्यवस्थापन लगायतका पूर्वाधार निर्माणका काम सम्पन्न भएको बताए । 

संस्थाले नगर विकास कोषबाट ऋण लिएर खानेपानी योजना निर्माण गरेकोमा कोषबाट उत्कृष्ट सेवाग्राहीका रुपमा सम्मानित भएको जानकारी दिँदै उनले हाल झण्डै दुई हजार खानेपानी उपभोक्ता रहेको जानकारी दिए । 

संस्थाका वरिष्ठ उपाध्यक्ष लक्ष्मण खनालको स्वागत, सचिव निलकण्ठ ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष कृष्णप्रसाद पौडेल, वडा नम्बर १० का वडाध्यक्ष व्यसमुन थारु, संस्थाका सल्लाहकार मोहनराज शर्मा लगायतले बोलेका थिए ।

साधारणसभाको बन्दसत्रले संस्था ऋणमुक्त भएको सन्दर्भमा पानी महसुल चार्ज घटाउने कार्यसमितिको प्रस्ताव पारित गरेको छ । जसअनुसार हाल न्यूनतम रकम १५० रहेकोमा अब १३० हुने भएको छ । साथै थप ११–१५ युनिट सम्मको महसुल हाल रु. १८ रहेकोमा रु. १५, १६–२० युनिट सम्मको महसुल हाल रु. २०  रहेकोमा रु. १८ र २१ युनिटदेखि माथि हाल रु. २५  रहेकोमा रु. २० कायम भएको छ । साथैं बन्दसत्रले आगामी कार्यक्रमहरुको साथैं संस्थाको विधान संसोधन गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।