२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

भलवारीमा भारतीय पर्यटक लक्षित ‘पाँचतारे’ होटल शिलान्यास

शनिवार , बैशाख ११, २०७८

बुटवल, ११ वैशाख । 
भारतीय पर्यटकलाई लक्षित गरेर रुपन्देहीको भलवारीमा ‘फाईभ स्टार’ लेवल मापदण्डको होटल शिलान्यास गरिएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ७ भलवारी जहदामा होटल ‘फाउन्टेन फन’को पूर्वमन्त्री तथा प्रतिनिधिसभा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांणले शनिबार शिलान्यास गरेका हुन् ।

त्यस अवसरमा बोल्दै खांणले लगानीका प्रयाप्त सम्भावना र अवसर भए पनि सरकारले लगानीमैत्री वातावरण नबनाएका कारण लगानीकर्ता खुम्चिएको बताए । उनले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जमिनका कारणले पनि लगानीको अझै बढी सम्भावना भएको हुँदा उद्योग तथा व्यापार व्यबसायलाई सहज वातावरण बनाउन स्थानीय सरकारलाई आग्रह गरे ।

शिलान्यास गरेको उक्त होटलको समयमै पूर्वाधार निर्माण गरी समयमै सञ्चालनको व्यवस्था मिलाउन समेत उनले आग्रह गरे । यस क्षेत्रका युवा व्यवसायी नारायण बञ्जाडेको एकल लगानीमा निर्माण गर्न लागिएको पाँच तारे लेवलको होटल ‘फाउन्टेन फन’ अबको २ वर्षमा निर्माण पुरा गर्ने लक्ष्य लिइएको छ ।

आफ्नै स्वामित्वमा रहेको ५ विगाहा जग्गामा निर्माण गर्न लागिएको उक्त होटलको पूर्वाधार निर्माणमा २ अर्ब भन्दा बढी लगानी हुने अनुमान गरिएको सञ्चालक बञ्जाडेले जानकारी दिए । फूल क्यासिनोसहित निर्माण गर्न लागिएको उक्त होटलमा  १०१ वटा स्तरीय कोठा हुनेछन् भने स्तरीय व्याङ्क्वीट हल, स्वीमिङ् पुल, हेली प्याड लगायत फाईभ स्टार लेवलको नम्स अनुसारका पूर्वाधार निर्माण गरिने उनले जानकारी दिए ।
‘हाम्रो बजार भनेको ईण्डिया नै हो, नेपालमा पर्यटकीय क्षेत्रको बिकास र त्यसको प्रवद्र्धन गर्न सक्ने हो भने बहुसंख्यक भारतीय नागरिकलाई नेपालमा ल्याउन सकिन्छ ।’ उनले भने–‘नेपालका अर्थतन्त्र सुधारको लागि पनि पर्यटन उद्योग बलियो आधार बन्न सक्छ ।’

भैरहवामा निर्माण पुरा हुन लागेको अन्तर्राष्ट्रिय बिमानस्थल, नेपालकै अग्रस्थानमा रहेको बेलहिया नाका, बुटवलमा बन्दै गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी स्थल तथा पूर्वपश्चिम र उत्तर दक्षिणको संगम लगायतका हरेक दृष्टिले लगानीको सम्भावना देखेर लगानी गर्न लागेको उनको भनाइ छ ।