मंगलवार , कार्तिक २५, २०८२
बुटवल, २५ कार्तिक । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लामो समयदेखि प्रतिक्षित एमआरआई मेशिन जडानको काम सुरु भएको छ । अस्पतालमा एमआरआई मेशिन आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयरले मेशिन जडानको काम अघि बढाएको छ । मेशिन जडान गरी आगामी दुई महिनाभित्रै सेवा सूचारु गर्ने लक्ष्यसहित तीव्रताका साथ जडानको काम भइरहेको अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट (मेसु) डा. इन्द्र ढकालले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा जडान गर्न लागिएको एमआरआई मेशिन सञ्चालन भएसँगै यस क्षेत्रका सेवाग्राहीलाई निजी अस्पतालहरुमा गएर मङ्गोमा सेवा लिनुपर्ने बाध्यताको अन्त्य हुने मेसु ढकालले बताउनुभयो । ‘करिब १२ करोड लागतमा जडान गर्न लागिएको एमआरआई मेशिन सञ्चालन भएसँगै जनताले अति न्यून शुल्कमा सेवा लिन पाउनेछन्, उहाँले भन्नुभयो–विगत ५ वर्षदेखि प्रदेश सरकारले गर्दै आएको प्रयासले बल्ल अहिले साकार रुप प्राप्त गर्न लागेको छ ।’
ओपीडी सेवातर्फ वार्षिक करिब ४ लाख जनताले सेवा लिने यस अस्पतालमा लुम्बिनी प्रदेशका अधिकांश जिल्ला तथा छिमेकी प्रदेशहरुबाट समेत गरी ३० लाख जनसङ्ख्या यसको सेवा क्षेत्रभित्र रहेका छन् ।
अस्पतालमा यही कार्तिक १७ गतेदेखि मेशिन जडानको काम सुरु भएको हो । आगामी मंसिरको अन्तिमसम्म जडानको सम्पूर्ण काम सक्ने लक्ष्यसहित तीव्रताका साथ काम भइरहेको निर्यातकर्ता कम्पनी लुम्बिनी हेल्थ केयरका इञ्जिनियर राजु चौधरीले जानकारी दिनुभयो ।
‘यही कार्तिक १० गते मेशिन झारिए पनि चीनबाट प्राविधिक टोली आउन ढिला गरेका कारण एक सातापछि जडानको काम सुरु गरेका छौं । चौधरीले भन्नुभयो, ‘अहिले दुई जना चिनियाँ प्राविधिक टोलीको निगरानीमा जडानको काम धमाधम भइरहेको छ ।’
हालसम्म आरएफ क्याविनेटतर्फ करिब ८० प्रतिशत तथा टेक्निकल रुममा पनि सोही अनुपातका काम सम्पन्न भएको इञ्जिनियर चौधरीले बताउनुभयो । त्यसैगरी अब्जरभेसन रुम (कन्सल रुम) को काम पनि अघि बढेको उहाँँले जानकारी दिनुभयो । मेशिन जडानका लागि प्राविधिकहरु दैनिक १२ घण्टा खटिने गरेको इञ्जिनियर चौधरीले बताउनुभयो ।
लुम्बिनी प्रदेशकै ठूलो यस अस्पतालमा थप उपकरणहरु जडान तथा सेवालाई गुणस्तर बनाउनका लागि अस्पताल विकास समितिले पहल गर्दै आएको अध्यक्ष अजयमान श्रेष्ठले बताउनुभयो । सेवाग्राहीको बढ्दो चाप र जनअपेक्षालाई पूरा गर्नका लागि सीमित स्रोतसाधनलाई अधिकतम प्रयोग गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाउँदै लगिने उहाँले बताउनुभयो ।
सेवालाई विशिष्टीकृत गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पतालले उपकरणहरु थप गर्नुका सेवा सरलीकरणलाई समेत जोड दिएको छ । अस्पतालमा एमआरआई मेशिन जडानसँगै नयाँ सिटीस्क्यान मेशिन गरिदका लागि प्रक्रिया अगाडि बढाउन लागिएको मेसु ढकालले जानकारी दिनुभयो । हाल अस्पतालमा रहेको मेशिन पुरानो र बारम्बार बिग्रिने समस्या भएकाले संघीय सकारको आर्थिक लगानीमा नयाँ मेशिन खरिद प्रक्रिया अघि बढाउन लागिएको उहाँले बताउनुभयो ।
अस्पतालमा हाल रहेको ७ वर्ष पुरानो १६ स्लाइसको मेशिनको ठाउँमा १२८ स्लाइसको कार्डियाक्ससिटी जडान गर्न लागिएको उहाँले जानकारी दिनुभयो । यो मेशिन जडान भएको अवस्थामा मुटुको स्क्यान पनि गर्न सकिने भएकाले उपचारमा थप गुणस्तर र सहज हुने उहाँले अपेक्षा गर्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij