२०८२, कार्तिक २९ गते

Nov 15 2025 | २०८२, कार्तिक २९ गते

गणेश सामुदायिक वन उपभोक्ता समूहको २१ औं साधारणसभा सम्पन्न

शुक्रवार , कार्तिक २८, २०८२

  • 241
    Shares
  • 241
    Shares
  • पाल्पा, २८ कार्तिक । पाल्पाको तिनाउ गाउँपालिका–२, गणेशटोलस्थित गणेश सामुदायिक वन उपभोक्ता समूहको २१ औं वार्षिक साधारणसभा शुक्रबार दोभानमा सम्पन्न भएको छ । सभामा समूहका अध्यक्ष लालकुमार श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन र चालू आर्थिक वर्षको कार्ययोजना पेश गर्नुभएको थियो । त्यस्तै समूहका कोषाध्यक्ष विष्णु थापाले गत आ.व. २०८१/०८२ को हरहिसाब र चालू आर्थिक वर्षको आर्थिक योजना पेश गर्नुभयो ।

    साधारणसभाका प्रमुख अतिथि तिनाउ गाउँपालिका प्रवक्ता यादव प्रसाद अर्यालले गणेश सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताहरुले आर्थिक, सामाजिक फाइदा लिएको बताउनुभयो । उहाँले वनको विकासका लागि वनकै उपभोक्ता सचेत र सक्रिय हुनुपर्नेमा बताउनुभयो ।

    सभाका विशिष्ट अतिथि सामुदायिक वन समन्वय समिति, तिनाउका अध्यक्ष दलबहादुर गुरुङले गणेश सामुदायिक वनको संरक्षण,प्रवर्द्धन र वनको सही सदुपयोगका लागि समूहको गतिशिलता अनिवार्य रहेको बताउँदै उपभोक्ताको आर्थिक विकास, समूहको क्रियाशीलता र  सशक्तिकरणका लागि समूहको भूमिका उल्लेखनीय रहने बताउनुभयो ।

    सो सभामा समूहका संस्थापक अध्यक्ष पदमलाल शाक्य, छिमेकी सिस्नेरी सामूदायिक उपभोक्ता समूहका उपाध्यक्ष यज्ञ खराल, मिलीजुली बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष रेनुका लम्साललगायतले समूहले गरेका प्रगतिशील कार्यहरुलाई प्रशंसा गर्नुभएको थियो । सभामा समूहका सदस्यकी छोरी अंकिता पाण्डेयले १२ कक्षामा ३.६ जिपिए ल्याई उत्कृष्टता हासिल गरेकोमा नगद रुपैयाँले सम्मान गरिएको थियो । 

    सभाको सञ्चालन सचिव लक्ष्मी श्रेष्ठ र स्वागत समूहकी उपाध्यक्ष पूजा रजालीले गर्नुभएको थियो ।