२०८३, कार्तिक १५ गते

Nov 01 2026 | २०८३, कार्तिक १५ गते

काँग्रेस सिद्धार्थनगरद्वारा रक्तदान कार्यक्रम, ३२ यूनिट रगत संकलन

आइतवार , कार्तिक १५, २०८३

  • 268
    Shares
  • 268
    Shares
  • भैरहवा, १५ कार्तिक । नेपाली काँग्रेस नगर समिति सिद्धार्थनगर, रुपन्देहीले शनिबार खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

    भैरहवास्थित काँग्रेस जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि पार्टीको रुपन्देही जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य भएको बताउनुभयो । उहाँले काँग्रेस सिद्धार्थनगरले आयोजना गरेको रक्तदान कार्यक्रम समाज र अन्य राजनीतिक दलका लागि समेत उदाहरणीय बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

    ‘राजनीतिक दलले राजनीति गर्ने, संगठन बनाउने र चुनाव लड्ने मात्र होइन, समाजका दीनदुःखीका लागि पनि काम गर्नुपर्छ,’ उहाँले भन्नुभयो । एक थोपा रगतको अभावमा मानिसको ज्यान जान सक्ने उल्लेख गर्दै उहाँले देशभर रगतको अभाव भइरहेका बेला त्यसको परिपूर्तिमा कार्यक्रमले केही भए पनि सहयोग पुग्ने बताउनुभयो ।

    त्यस्तै काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले रक्तदान महत्वपूर्ण मानवीय कार्य भएकाले यसलाई सानो रूपमा लिन नहुने बताउनुभयो । उहाँले स्वस्थ व्यक्तिहरूलाई प्रत्येक तीन–तीन महिनामा रक्तदान गर्न आग्रह गर्नुभयो ।

    पार्टीको सिद्धार्थनगर समितिका सभापति देवराज न्यौपानेले राजनीति मात्र नगरी विभिन्न सामाजिक गतिविधिमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

    काँग्रेस नगर उपसभापति गौरव श्रेष्ठको संयोजकत्वमा सम्पन्न कार्यक्रममा ३२ यूनिट रगत संकलन भएको नगर समितिका सचिव धर्मवीर शर्माले जानकारी दिनुभयो ।

    eeee.jpg

    कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, रुपन्देही रक्त सञ्चार सेवा इकाई भैरहवा (युसीयमयस) को प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।