शुक्रवार , कार्तिक २८, २०८२
बुटवल, २८ कार्तिक । रुपन्देहीको बुटवलस्थित क्यानन माध्यमिक विद्यालयस्थित रोवटिक क्लबको आयोजनामा भएको जिल्लास्तरीय दोस्रो आाईटी क्वीज प्रतियोगिता २०८२ मा मणिमुकुन्द सेकेन्डरी स्कूल प्रथम भएको छ । रुपन्देहीका विभिन्न १९ वटा विद्यालयमध्येबाट उत्कृष्ट ६ मा छनौट भइ आईटी क्वीजमा प्रथम हुन सफल भएको हो ।
यस्तै अक्सफोर्ड इङलिस बोर्डिङ स्कूल द्वितीय र ग्रिन प्लान्ट आवासीय मावि देवदह तृतीय भए । प्रथम, द्वितीय र तृतीय हुनेलाई विद्यालयका प्रधानाध्यापक शंकर भण्डारीले पुरस्कार वितरण गर्नुभयो ।
प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमश नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे । कार्यक्रममा लुम्बिनी इञ्जिनियरिङ कलेजका निर्देशक तुलसी प्रसाद सापकोटाले विश्व नै सूचना र प्रविधिमा अगाडि बढेकाले क्याननले आईटी क्वीज कार्यक्रम गरेर विद्यार्थीहरुलाई उर्जा थपेको बताउनुभयो । उहाँले सूचना प्रविधिका बारेमा सोधिएका प्रश्नहरुले विद्यार्थीलाई आईटीतर्फ आर्कषित गर्ने बताउनुभयो ।
त्यस्तै विद्यालयका प्रधानाध्यापक शंकर भण्डारीले आफूहरुले विद्यार्थीहरुलाई आईटीप्रति रुची जगाउन र प्रोत्साहन गर्नकै लागि गत वर्षदेखि आईटी क्वीज कार्यक्रम सुरु गरिएको बताउनुभयो । उहाँले सहभागी विद्यालय र विद्यार्थीप्रति आभार व्यक्त गर्दै यसले प्रतिभावान विद्यार्थीहरुको क्षमता पहिचान गराएको समेत बताउनुभयो ।
क्यानन माविले आईटी प्रवद्र्धन गर्ने उद्देश्यले गत वर्षदेखि कक्षा ३ देखि १२ सम्म एनसिसि युके सर्टिफाइड डिजि कम्युटर कोर्स पढाउँदै आएको छ । जसअन्तर्गत कक्षा ११÷१२ मा साईबर सेक्युरिटी र जुनियर कक्षाहरुमा कोडिङ र एनिमेशनको पढाइ गराइरहेको जनाएको छ । यसका साथै कक्षा ३ देखि नै विद्यार्थीहरूले आईटी सम्बन्धित प्रोजेक्ट वर्क गराउने गराउँदै आएको छ ।
कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक दीपक पौडेल, सह–प्रधानाध्यापक विष्णु प्रसाद न्यौपाने, अतिरिक्त क्रियाकलाप प्रमुख मिनराज गिरीसहित शिक्षक एवं विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागीता थियो ।
रोवटिक क्लबका अध्यक्ष विश्वास भट्टराईको अध्यक्षता, विद्यार्थी स्मृति सापकोटा तथा सम्राट ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थी सफल शर्माले प्रतियोगिताको नियमहरुबारे बताएका थिए । प्रतियोगितामा पूर्ण रुपमा प्रविधिलाई प्रयोग गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij