शनिवार , कार्तिक २९, २०८२
बुटवल, २९ कार्तिक । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१०, कालिकानगरस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको प्रथम त्रैमासिक नतिजा प्रकाशन तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरिएको छ ।
सेक्टर १ कालिकानगरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी कक्षागत रुपमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार प्रदान गर्नुको साथै ९८ जना विद्यार्थीलाई ६ लाख ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, विद्यालयका प्रधानाध्यापक दिनेश थापा, सहायक प्रधानाध्यापक पिताम्बर बन्जाडेसहित बिहानी तथा दीवा क्षेत्रका विभिन्न संकायका इञ्चार्जहरुको सहभागीतामा पुरस्कार वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञवालीले विद्यार्थीहरुले ल्याएको नतिजाले निरन्तरता पाउनुपर्ने र शतप्रतिशत विद्यार्थीले राम्रो नतिजा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै प्रधानाध्यापक दिनेश थापाले विद्यार्थीहरुले मिहिनतलाई निरन्तता दिनुपर्नेमा जोड दिनुभयो ।
विद्यालयका परीक्षा शाखा संयोजक युवराज कंडेलका अनुसार जीपीए ३.५ ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । साथै विभिन्न सेक्सन, संकायमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई समेत पुरस्कार वितरण गरिएको हो । त्यसै गरी सेक्टर २ रामनगरमा पनि अभिभावकहरुको सहभागीता विद्यार्थीहरुको नतिजा समीक्षा कार्यक्रम गरिएको छ ।
कक्षा ११ र १२ का व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकरुको सहभागीता शैक्षिक नतिजा र आगामी दिनमा विद्यालयले गर्नुपर्ने कार्यको समेत विषयमा अभिभावकहरुसँगबाट विशेष शुझाव समेत संकलन गरिएको सेक्टर २ रामनगरका इञ्चार्ज कृष्ण गौतमले जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij