२०८२, फाल्गुण १६ गते

Feb 28 2026 | २०८२, फाल्गुण १६ गते

रुपन्देही कारागारमा निःशुल्क आँखा शिविर

आइतवार , कार्तिक ३०, २०८२

  • 952
    Shares
  • 952
    Shares
  • भैरहवा, ३० कार्तिक । कारागार कार्यालय रुपन्देही, सिद्धार्थनगरमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजना तथा श्रीकृष्ण नेत्रालय प्रा.लि.भैरहवाको सह–आयोजनामा शनिबार शिविर सञ्चालन गरिएको हो ।

    सामाजिक उत्तरदायित्व अन्तर्गत कारागारमा रहनुभएका सम्पूर्ण कैदीबन्दीहरुका लागि निःशुल्क आँखा शिविर (कार्यक्रम) गरिएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले बताउनुभयो ।
    ‘संघको कार्यालय र कारागार कार्यालयसँगै सटेको र आमनसामने भएको हिसाबले पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु धेरै गर्यौं, ’अध्यक्ष आचार्यले भन्नुभयो–‘यसअघि मानवसेवा आश्रम, भीम अस्पताललगायत धेरै ठाउँमा सामाजिक कार्यहरु गरेका छौं ।’

    ‘आँखा शरीरको संवेदनशील अंग भएकोले कारागार (जेलमा) रहनुभएका कैदीबन्दीहरु लागि आँखा परीक्षण शिविर गरौं भन्ने संघका सल्लाहकार गोपाल भण्डारीको सुझाव दिनुभयो । उक्त सुझावलाई मनन् गर्दै शिविर सञ्चालन गरेका छौं, ’उहाँले भन्नुभयो । अध्यक्ष आचार्यले चश्मा आवश्यक भएकालाई चश्मा पनि वितरण गरिएको जानकारी दिनुभयो ।

    शिविरमा ३ सय ११ जना कैदीबन्दीको निःशुल्क आँखा परीक्षण गरिएको आँखा जाँचमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन् । त्यस्तै १८ जनालाई चश्मा वितरण गरिएको छ । त्यसै गरी मोतियाबिन्दु र आँखाको पर्दामा समस्या देखिएका १० जनालाई थप उपचारका लागि परामर्श दिइएको छ ।

    sivirrrr.jpg

    कार्यक्रम संयोजक तथा संघकी कार्यसमिति सदस्य मीना पन्थीले सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम गर्नुपर्छ भन्ने उद्देश्यले कारागारमा आँखा शिविर गरिएको बताउनुभयो ।

    संघका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दिलिप कुमार कान्दु, महासचिव कृष्ण प्रसाद घिमिरे, सल्लाहकार गोपाल भण्डारी, लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझी, श्रीकृष्ण नेत्रालयका सौरभ सरकारलगायतले आगामी दिनमा पनि शिविर सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

    वि.सं. १९९० सालमा स्थापना भएको रुपन्देही कारागारमा हाल ६४३ जना कैदीबन्दी रहेको कारागार प्रशासक सुरेश भण्डारीले जानकारी दिनुभयो ।