आइतवार , कार्तिक ३०, २०८२
सरल स्वभाव भएका मृदुभाषी व्यक्तित्व देवीप्रसाद न्यौपाने ‘धीर’ को जन्म साविकको बौघा गुम्हा गाउँ पञ्चायत वडा नम्बर २, छेर्लुङ, पाल्पामा पिता प्रेमनारायण न्यौपाने र माता हरिकला न्यौपानेको कोखबाट २०२७ साल मङ्सिर ३ गते भएको हो । शिक्षण पेशाको सिलसिलामा रूपन्देहीको भैरहवालाई लामो समयदेखि कर्मथलो बनाएका ‘धीर’ ले नेपाली विषयमा स्नाकोत्तर गरेका छन् । विगत तीन दशकदेखि नेपाली वाङ्मयको विकासमा योगदान पुर्याउँदै आएका ‘धीर’ का लुम्बिनी दूत पत्रिकामा प्रथम रचना २०४६ साल चैत १५ गते र प्रथम कीर्ति मुक्तक शतक २०६१ मा प्रकाशित भएको हो । कविता, गीत, मुक्तक, हाइकु, गजल, समीक्षा, समालोचना र लघुकथा लेखनमा कलम चलाउँदै आएका धीरका मोतीका दाना हाइकुसेन्र्यु सङ्ग्रह दोस्रो कीर्तिको रूपमा २०८२ मा प्रकाशित भएको हो । आदिभाग, मूलभाग र अन्तभाग गरी यो सङ्ग्रहको अध्ययन गरिएको छ ।
आदिभाग
कभर पृष्ठ २ र अन्य गरी आदिभागमा जम्मा १८ पृष्ठ रहेको छ । कभर पृष्ठमा मोतीका दाना शीर्षकसँग मेलखाने गुगल स्रोतबाट झिकिएको सुहाउँदो मोतीका दानाहरू जीवसहितको चित्र रहेको छ । कालो पृष्ठभूमिमा नीलो रङ्गको सुर्यको किरणमा देखिएको मोतीका दानाहरूले कभर पृष्ठलाई एकदमै आकर्षित बनाएको छ । कभर पृष्ठभन्दा भित्रका १६ ओटा पृष्ठमा पुस्तकको परिचय, समर्पण, प्रकाशन सम्बन्धी जानकारी, हाइजिनको अभिव्यक्ति र उपप्राध्यापक डा. त्रिभुवन बरईद्वारा लिखित भूमिका रहेको छ । सागर न्यौपाने प्रकाशक रहेको यो कीर्ति हाइजिनको पिताप्रति समर्पण गरिएको छ । हाइकुसेन्र्युमा शीर्षक नहुने हुनाले विषयसूची दिइएको छैन ।
मूलभाग
एक हजार वटा हाइकुसेन्र्यु समेटिएको यो कीर्तिको मूलभागमा ८४ पृष्ठ रहेको छ । पहिलो र तेस्रो पङ्क्तिमा पाँच–पाँच वटा अक्षर र दोस्रो पङ्क्तिमा सातवटा अक्षर भएको प्राकृतिक बिम्ब साहितको कविताको अति नै लघुतम संरचनालाई हाईकु र प्राकृतिक बिम्ब प्रयोग नभएको अन्य विषयवस्तुसहित उल्लिखित संरचनालाई सेन्र्यु भनिन्छ । जापानी साहित्यबाट नेपाली साहित्यमा आएको हाइकुसेन्र्यु एक प्रसिद्ध प्रविधा हो ।
प्राकृतिक , सामाजिक , आर्थिक, साँस्कृतिक, ऐतिहासिक, भौगोलिक, धार्मिक, राजनीतिक, प्रशासनिक, साहित्यिक, शैक्षिक आदि विषयवस्तुहरू समेटिएको यी हाइकुसेन्र्युहरूमा मानवजीवनका हरेक पक्षहरुलाई लोककल्याणकारी भावले पस्किने काम भएको छ । प्राकृतिक सुन्दरता, कविहरूको योगदान, लोकपरम्परा, वैज्ञानिक आविष्कार आदिको विभिन्न रचनाहरूमा प्रशंसा गरिएको छ । प्राकृतिक स्रोतहरूको अति दोहन, पर्यावरणको ह्रास, पशुबली जस्ता धार्मिक दुष्कर्म, राजनीति र प्रशासनमा व्याप्त भ्रष्टाचार, विदेश पलायन, अस्वस्थ चुनावी प्रतिष्पर्धा, जनविरोधी क्रियाकलाप, महंगी, विदेशी अनुदानको दुरुपयोग, लागूऔषध, लैङ्गिक विभेद, साहित्यमा व्याप्त विसंगति, पर्यावरण ह्रास आदिप्रति विभिन्न हाइकुसेन्र्युहरूमा चिन्ता व्यक्त गरिएको छ । आमाबाबुप्रतिको कर्तव्य, मातृभाषाप्रतिको प्रेम, सहजीवन र सहअस्तित्व, सीमान्त समुदायको अस्तित्व, शहीदप्रति सम्मान आदिको लागि आह्वान गरिएको विषयवस्तुको अङ्कन यी हाइकुसेन्र्युहरूमा गरिएको छ । मानवीय संवेदनशीलता र लोककल्याणकारी आचरणको अवलम्बन हुनुपर्ने ध्येय यी रचनाहरूमा गरिएको छ ।
अन्तभाग
अन्तभागमा हाइजिनको परिचय र पछाडिपट्टीको कभरपृष्ठसाहित जम्मा दशवटा पृष्ठमा हाइजिनको परिचय पाँच पृष्ठमा, तीन पृष्ठ खाली र दुई पृष्ठ कभरपृष्ठ रहेको छ । परिचयमा हाइजिनको नाम, जन्ममिति, जन्मस्थान, पारिवारिक विवरण, शैक्षिक योग्यता, पेशा, रुची, प्रथम प्रकाशित रचना र कीर्ति, सम्पादन कार्य, पुरस्कार तथा सम्मान र संस्थागत आबद्धता रहेको छ । हाइजिनले पाँचवटा साहित्यिक पत्रिकाको सम्पादन गरेको, सोह्रवटा पुरस्कार र सम्मान प्राप्त गरेको र एकत्तिसओटा सङ्घसंस्थामा आबद्ध रहेको विवरण परिचयमा उल्लेख छ । कीर्तिको अन्तिम कभर पृष्ठमा युनिभर्सिटी अफ टोकियोका एकजना लेखक फुकुरो युमेरेइद्वारा यो सङ्ग्रहको गरिएको सङ्क्षिप्त समीक्षा जापानी भाषामा नेपाली अनुवादसाहित उल्लेख गरिएको छ ।
भाषा र संरचना
भाषिक रूपमा हेर्दा यो कीर्तिका रचनाहरूमा छरितो भाषाशैलीको प्रयोग गरिएको छ । तत्सम शब्दहरुको बहुलता, नेपाली भाषाको मानक रूपको प्रयोग, सरल र ग्रह्य भाषाको प्रयोग आदिले यो कीर्तिलाई संरचनात्मकता, कलात्मकता र सारवस्तुको दृष्टिले सबल बनाएको छ । प्राविधिक कारणले कुनैकुनै ठाउँमा वर्णविन्यास र पेज सेटिङमा हल्का गडबडी देखिएको छ जुन कि नगण्य बराबर रहेको छ ।
निष्कर्ष
प्राकृतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक, राजनीतिक, प्रशासनिक, साहित्यिक, शैक्षिक आदि मानवीय जीवनका हरेक पक्षहरूमा लोककल्याणकारी एवम् सकारात्मक परिवर्तनको लागि आह्वान गरिएको यी कीर्तिका हाइकुसेन्र्युहरू पाठकहरूका लागि पठनीय रहेको छ । नेपाली वाङ्मयको विकासमा यो कीर्तिले निश्चितरूपले योगदान पुर्याउँछ ।
हाइकुसेन्र्यु सङ्ग्रह: मोतीका दाना
हाइजिन: देवीप्रसाद न्यौपाने ‘धीर’
प्रकाशक: सागर न्यौपाने
संस्करण: प्रथम, २०८२
मूल्य: २५०÷–
पृष्ठ: १६+४+
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij