२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

९ महिनामा साढे ४ करोड बढीको अवैध सामान बरामद

आइतवार , बैशाख १२, २०७८

भैरहवा, १२ वैशाख ।
सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे. क्वा, रुपन्देहीले आर्थिक वर्ष २०७७/०७८ को चैत मसान्तसम्म ९ महिनामा ४ करोड ६२ लाख २४ हजार २ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।

जिल्लाको विभिन्न सीमा नाकामा खटिएका सशस्त्र प्रहरी बलका जवान तथा अधिकृतले उक्त मुल्य बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे. क्वा, रुपन्देहीको सुचना शाखाले जानकारी गराएको छ ।

भारतीय बजारबाट अवैध बाटो हुँदै नेपालतर्फ तस्करले ल्याउने हार्डवेयर, किराना समान, खाद्यान्न, कपडा, ब्रोइलर कुखुरा, खसीबोका, इलेक्ट्रिक सामान, औषधी, पेन्ट्स, कस्मेटिक सामान, सालको काठ लगायतका सामान नियन्त्रण बरामद हुँदै आएको सशस्त्र प्रहरीले जनाएको छ ।

नेपालमा पसलहरुमा भारतीय समान अवैध मार्ग हुँदै आउने गरेकोले त्यसको नियन्त्रणका लागि सशस्त्र प्रहरी उच्च सर्तकताका साथ तैनाथ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २७ हे. क्वा, रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राजेश उप्रेतीले बताए ।

गत आर्थिक बर्ष  २०७६/०७७ चैत मसान्तसम्मको ९ महिनामा भने चालु आर्थिक वर्ष भन्दा ६० लाख ७५ हजार २ सय २३ रुपैयाँ अर्थात ४ करोड १ लाख  ४८ हजार ७ सय ७० राजस्व मात्र संकलन भएको भैरहवा भन्सार कार्यालय रुपन्देहीको तथ्यांकले देखाएको छ ।

खुल्ला सीमाका कारण तस्करहरुले दैनिकजसो तस्करीलाई आफ्नो व्यवसाय बनाउने गरेको रुपन्देहीमा सशस्त्र प्रहरीले नियन्त्रणलाई कडाई गरेको सशस्त्र प्रहरी बल नेपाल नं. २७ हे. क्वा, रुपन्देहीका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) निरंकरनाथ शुल्लाले जानकारी दिए ।

नेपाल–भारत सीमा क्षेत्रबाट हुने अवैध चोरी पैठारी तथा तस्करी नियन्त्रणमा अहिले सशस्त्र प्रहरी बलले महत्वपूणै भुमिका निर्वाह गरेको भैरहवा भन्सार कार्यालय रुपन्देहीले जनाएको छ । सीमा क्षेत्रबाट हुने तस्करी तथा भन्सार राजस्व छली नियन्त्रणमा भन्सार कार्यालयसंग समन्वय गरेर सशस्त्र प्रहरीले काम गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नं. २७ हे. क्वा, रुपन्देहीले जनाएको छ ।

भारतबाट अवैध रुपमा चोरी पैठारी गरेर भन्सार छली गर्दै तस्करी गर्ने गरिएका सामान र मानिससहित पक्राउ गरी सशस्त्र प्रहरीले कारवाहीका लागि भन्सार कार्यालयमा पठाउने गरेको छ ।  नेपालबाट पनि सुपारी, मरिच, चिनिया स्याउ, बालुवा लगायतका सामानहरु भारत र्फ तस्करी हुने गरेको छ  । नेपाली तस्करहरुले भारतीय बजार सुनौली, नौतनवा, कोलही, भगवानपुर, बर्गदहवा, गोरखपुरबाट विभिन्न किसिमका सामानहरु अवैध रुपमा बिना भन्सार नेपाल भित्राउने गर्छन् जसलाई सुरक्षाकर्मीले नियन्त्रण लिने गरेका छन्  ।

खुल्ला सीमाको फाइदा उठाउँदै रातिको समयमा र दिउँसोमा पनि परिस्थिति हेरेर नेपाली बजारमा तस्करहरुले भारतीय सामानहरु पुर्याउने प्रयास गर्छन् ।

बेलहिया तथा गोरखपुरबाट भैरहवा र यसको आसपाससम्म बिना भन्सार अवैध रुपमा ल्याएका कपडा स्टोर गरी नक्कली भ्याट बिल प्रयोग गरेर तस्करीलाई बैधता दिने काम पनि विगतमा तस्करले गरेका छन् जसलाई नियन्त्रणलाई सुरक्षाकर्मीले चनाखो भएर काम गर्नु अति आवश्यक देखिन्छ ।