२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

पाँच वर्षमा १५७० जनाको उद्दार

आइतवार , बैशाख १२, २०७८

भैरहवा, १२ वैशाख ।
माइती नेपालले पाँच वर्षको अवधिमा १ हजार ५ सय ७० जनाको उद्दार गरेको छ । सीमा क्षेत्रबाट १ हजार ४ सय ४४ र भारतबाट १२६ जना महिला तथा बालबालिकाको माइती नेपालले उद्दार गरेको हो ।

संस्थाले आर्थिक वर्ष २०७२/७३ मा २८९, आ.व. २०७३/७४ मा २५०, २०७४/७५ मा २७२, २०७५/७६ मा २५३, २०७६/७७ मा २४२ र २०७७/७८ मा १३८ जनालाई सीमा क्षेत्रबाट उद्दार गरेको जनाएको छ । त्यस्तै आ.व. २०७२/७३ मा ३५, २०७३/७४ मा ९, २०७४/७५ मा १०, २०७५/७६ मा ५०, २०७६/७७ मा १४ र २०७७/७८ मा ८ जनालाई संस्थाले भारतबाट उद्दार गरेको छ । सोही अवधिमा मानव बेचबिखनसम्बन्धि २० वटा मुद्दा दर्ता भएका छन् । आ.व. २०७३/७४ मा १, २०७४/७५ मा १५, २०७५/७६ मा २ र २०७६/७७ मा २ वटा मुद्दा दर्ता भएका छन् ।

त्यस्तै माइती नेपालले रुपन्देही जिल्लामा २०२०/२०२१ को अवधिमा मानव बेचबिखन तथा ओसारपसार रोकथाम सम्बन्धी विभिन्न कार्य समेत गरेको छ । जसअन्तर्गत १८७ जनाको सीमा नाका र १० जनाको भारतका विभिन्न ठाउँबाट उद्दार, मानव बेचबिखनसम्बन्धि एउटा मुद्दा दर्ता, ४ हजार ९ सय ४ जनालाई सीमाबाट परामर्श, ५३९ जनालाई जिल्ला प्रशासनबाट परामर्श, पर्चा पम्पलेट वितरण गरेको माइती नेपाल भैरहवाकी कार्यक्रम संयोजक माया क्षेत्रीले बताइन् ।

खुल्ला सीमामा निर्वाध प्रवेशको छुट, बेचबिखनका लागि दलालहरुले नयाँनयाँ स्वरुप तथा शैलीहरु परिवर्तन गरिरहनु, महिला तथा बालबालिकाहरुमाथि हुने घरेलु हिंसा जस्ता समस्यामा कमी नहुनु, सीमावर्ती शहर नजिकै नेटवर्किङ कम्पनी र अर्केष्टा जस्ता बैण्डहरु खोलिनु, मुख्य नाकाहरुमा सरकारी संयन्त्रबाट अनुगमन नहुनु, नेपालका विभिन्न भागहरुबाट धेरै महिलाहरु भारतीय नाका हुँदै खाडी मुलुकतर्फ जाने प्रवृत्तिले मानव बेचबिखनका प्रमुख कारणहरु रहेको माइती नेपाल भैरहवाकी कार्यक्रम संयोजक माया क्षेत्रीले बताइन् ।

चेलिबेटी बेचबिखनबिरुद्ध जनचेतना फैलाउने र सामाजिक जागरणको अभियान संचालन गर्ने, विभिन्न तहमा विभिन्न प्रकारका छलफल, अन्तरकृया र गोष्ठीहरु आयोजना गरेर चेलीबेटी बेचबिखनविरुद्ध जनवकालत गर्ने, जनमत जुटाउने र सामाजिक दबाब सिर्जना गर्ने माइती नेपालको उद्देश्य रहेको संस्थाका फिल्ड कोडिनेटर सनोज कुमार चौधरीले बताए । 

त्यस्तै बेचिने जोखिममा रहेका महिलाहरुलाई विभिन्न प्रकारका जागरणमूलक तथा सीपमूलक तालिम एवं प्रशिक्षण दिने, बेचिएका महिलाहरुलाई उद्दार गरेर स्वदेश फर्काउने र उनहरुको पुनस्र्थापना गर्ने, बेचिन लागेका वा दलालहरुले बेच्न लिएर हिंडेका महिलाहरुलाई नाका–नाकामा रोक्र्ने, नाकाहरुको अनुगमन गर्ने, बाबुआमाबिहिन अनाथ तथा असहाय बालबालिकाहरुलाई आवासीय संरक्षण प्रदान गरेर उनीहरुको विकास गर्ने, एड्स पीडितहरुलाई  संरक्षण र स्नेह प्रदान गरेर सम्मानजनक ढंगले पुनस्र्थापित गर्ने, बेवारिसे अवस्थामा भेटिएका वा बिचल्लीमा परेका बेसहारा महिला एवं घरपरिवारबाट लखेटिएका पीडित महिलाहरुलाई कानूनी तथा स्वास्थ्य परामर्श एवं सहयोग उपलब्ध गराउने समेत संस्थाको उद्देश्य रहेको चौधरीले जानकारी दिए ।

मानव बेचबिखन रोकथामको लागि राज्यसंग एकीकृत योजना नभएको संविधानसभा सदस्य विनोद पहाडी बताउँछन् । उनी भन्छन, ‘राज्यलाई ध्यानाकर्षण गराउन गैरसरकारी संघ–संस्था तथा सञ्चार माध्यमले विशेष पहल गर्नुपर्छ ।’ गैरसरकारी संस्थाले चलाएका बालगृह प्रभावकारी भए पनि राज्यका निकायले चलाएका बालगृह प्रभावकारी नभएको बताए । वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन भइरहेको उनको भनाइ छ ।

चेलिबेटी बेचबिखनलाई अन्त्य गर्ने लक्ष्यका साथ माइती नेपाल वि.सं २०४९ सालमा स्थापना भएको हो । १८ जिल्लामा दैनिक ७ सय भन्दा बढी महिला तथा बालबालिकालाई सेवा प्रदान गर्दै आएको माइती नेपालमा ४ वटा आवधिक गृह, ३ रोकथाम गृह, २ स्नेह गृह र एउटा पुनस्र्थापना गृह छन् ।