२०८२, मंसिर ५ गते

Nov 21 2025 | २०८२, मंसिर ५ गते

भौतिकसँगै सामाजिक विकासमार्फत समाज रुपान्तरण सम्भव : नगरप्रमुख पाण्डेय

शुक्रवार , मंसिर ५, २०८२

  • 649
    Shares
  • 649
    Shares
  • बुटवल, ५ मंसिर । रुपन्देहीको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले भौतिक विकासका साथै आर्थिक र सामाजिकमार्फत नै समाज रुपान्तरण सम्भव भएको बताउनु भएको छ । उहाँले भौतिक पूर्वाधार विकासबाट मात्रै समाजको सार्थक विकास नहुने धारणा राख्दै आर्थिक, सामाजिक र नैतिक शिक्षाको विकासबाट मात्रै समृद्धि हासिल हुनेमा जोड दिनुभएको हो । 

    बुटवल उपमहानगरपालिका–१२ स्थित तामनगरमा बुद्ध टोल विकास संस्थाको ११ औं साधारण सभा तथा ५ औं अधिवेशनको उद्घाटन गर्दै नगरप्रमुख पाण्डेयले शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, मानवीय विकास लगायतका विषयहरु उपमहानगरको प्रमुख लक्ष्उ र उद्देश्य रहेको बताउनुभयो । 

    उहाँले टोल विकास संस्थाहरु स्थानीय सरकारका विकास, समन्वय र सहकार्यका लागि प्रमुख आधारशिलाको रुपमा रहेको उल्लेख गर्नुभयो । उहाँले टोल विकास संस्थाहरुलाई थप मजबुत र जिम्मेवार बनाउन आवश्यक रहेको पनि जिकिर गर्नुभयो । 

    त्यस्तै बुटवल–१२ का वडाअध्यक्ष डिल्ली प्रसाद आचार्यले टोल विकास मार्फत नै योजनाहरुको माग र कार्यान्वयन गर्ने गरिएको चर्चा गर्नुभयो । उहाँले टोल विकास संस्थामार्फत योजनाहरु कार्यान्यवन गर्दा विवादरहित हुने गरेको बताउनुभयो । उहाँले सबै टोलमा आवश्यक परेको स्थानमा बजेटको अभाव हुन नदिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । 

    भुपु सैनिक कल्याणकारी संघका अध्यक्ष पुर्ण बहादुर शाहीले टोल समाजमा एकता, विश्वास र समझदारी कायम गरी अघि बढेमा समुन्नत समाजको निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । साधारणसभामा बुद्ध टोल विकास संस्थाका अध्यक्ष शारदा सुवेदीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै टोलको विकासमा समुदायको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । 

    कार्यक्रममा पूर्व वडाअध्यक्ष दुर्गा प्रसाद सुवेदी, टोल बिकास संस्थाका उपाध्यक्ष विष्णु खड्का, सचिव सुनिता गिरी, कोषाध्यक्ष दीपा थापालगायतले टोल विकास संस्थाको भूमिका, काम कर्तव्य र अधिकारबारे चर्चा गरेका थिए । 

    सो अवसरमा टोलको विकासमा उल्लेख्य योगदान पुर्याएको भन्दै संस्थाका सचिव सुनिता गिरी र कोषाध्यक्ष दीपा थापालाई सम्मान गरिएको थियो । साथै टोलका एक दर्जन एकल महिलाहरुलाई सम्मान गर्दै पौष्टिक आहारहरु प्रदान गरिएको थियो ।