२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

एडीबी सहयोग प्राप्त ‘शहरी उत्थानशिलता तथा जीविकोयापन सुधार आयोजनाको समीक्षा बैठक

सोमवार , मंसिर ८, २०८२

  • 652
    Shares
  • 652
    Shares
  • भैरहवा, ८ मंसिर । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा सोमबार भैरहवामा एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सञ्चालित ‘शहरी उत्थानशिलता तथा जीविकोयापन सुधार आयोजना’ को प्रगति समीक्षा बैठक सम्पन्न भएको छ ।

    बैठकमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, उपप्रमुख उमा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत जनक थापा, एडीबीका टीम लिडर नरेश गिरी, परियोजना समन्वय इकाई (पीसीओ) का योजना प्रमुख प्रकाश अर्याल, सह–व्यवस्थापक चन्द्रशेखर महतो, परियोजनाका परामर्शदाता र निर्माण कम्पनीका प्रतिनिधिहरूको उपस्थिति थियो ।

    त्यसै गरी तिलोत्तमा, देवदह, लुम्बिनी साँस्कृतिक र सैनामैना नगरपालिकाका योजना शाखा प्रमुखहरूको पनि सहभागीता थियो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै नगरप्रमुख खाँले गुणस्तरीय रुपमा समयमै काम सम्पन्न गर्ने गरी काम अगाडि बढाउन र सबै सरोकारवाला, स्थानीयसँग समन्वय गरेर काम अगाडि बढाउन निर्देशन दिनुभयो । उहाँले कुनै पनि बहानामा काममा विलम्ब हुन नहुने बताउनुभयो ।

    बैठकले परियोजनाको हालसम्मको भौतिक तथा आर्थिक प्रगति, आगामी कार्ययोजना, समन्वय तथा सहकार्यका विषयमा विस्तृत छलफल गरेको थियो । एडीबी टोली, पीसीओ, पीआईयू र सम्बन्धित नगरपालिकाहरूबीच परियोजनालाई थप प्रभावकारी बनाई समयमै सम्पन्न गर्न आवश्यक रणनीति र जिम्मेवारीबारे स्पष्ट सहमति कायम भएको सिद्धार्थनगर नगरपालिका प्रशासन महाशाखा प्रमुख एवं सूचना अधिकारी देव प्रसाद ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार सबै पक्षबाट परियोजनाप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरिएको छ ।  आगामी दिनमा अझ सशक्त समन्वय र सहकार्यका साथ अघि बढ्ने समझदारी बनेको छ ।

    जिल्लाका  पाँच नगरपालिकामा सुरु यो आयोजनाले शहरी पूर्वाधार, जलवायु अनुकूलन र बसोबासयोग्य शहर निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।