२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

विद्युत आपूर्ति नियमित गर्न उद्योग व्यापार संगठनको माग

सोमवार , बैशाख १३, २०७८

भैरहवा, १३ वैशाख ।
उद्योग व्यापार संगठन रुपन्देहीले विद्युत आपूर्ति नियमित गर्न माग गरेको छ ।  गर्मी मौसम सुरु भए यता भैरहवा क्षेत्रमा विद्युत अनियमित भएको र छिनछिनमा बिना तालिका घण्टौ विद्युत कटौती हुँदा जनजीवन प्रभावित भएकोले विद्युत आपूर्तिलाई नियमित बनाउन संगठनले माग गरेको हो ।

अनियमित विद्युत कटौतीले व्यापार व्यवसाय अस्तव्यस्त भइ विद्युतीय उपकरणहरु बिग्रने तथा गर्मीको समयमा जनजीवन प्रभावित गरेको संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए । विगत तीन वर्ष यता विद्युतको यस्तो अनियमित आपूर्ति भएको अनुभव नरहेको हुँदा अहिलेको अवस्था सुधार हुनुपर्ने भण्डारीको भनाइ छ ।

संगठनले नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख जितेन्द्र कुमार झालाई आइतबार ज्ञापनपत्र बुझाउँदै विद्युत आपूर्ति अनियमित र तालिका बिनाको लोडसेडिङको सुधार गरी उद्योगी, व्यवसायी तथा उपभोक्ताहरुलाई राहत दिन आग्रह गरेको छ ।

सुधार नभएको स्थितिमा विद्युत कार्यालय र वितरण प्रणालीप्रति आम जनसमूदायको विश्वास नरहने संगठनका महासचिव अनिल कुमार ज्ञवालीले बताए ।

ज्ञापनपत्र बुझ्दै विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख झाले छिट्टै समस्या समाधान हुने बताए ।