२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

जनता माविले जित्यो न्यू होराइजन प्रदेशस्तरीय क्वीजको उपाधि

सोमवार , मंसिर १५, २०८२

  • 919
    Shares
  • 919
    Shares
  • बुटवल, १५ मंसिर । न्यू होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालय बुटवलले आयोजना गरेको ३२ औं संस्करणको प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगिताको  उपाधि जनता माध्यमिक विद्यालय तानसेन, पाल्पाले जितेको छ ।

    बुटवल, पाल्पा र दाङ केन्द्रमा भएको पहिलो चरणको छनोटमा १ सय ५० बढी विद्यालय सहभागी भएको प्रतियोगिताको फाइनलमा ६ विद्यालयले प्रतिष्पर्धा गरेका थिए । जसमा सैनामैना नगरपालिकाको सुनगाभा बोर्डिङ स्कूल दोस्रो र नवज्योति नवज्योति जनता  मावि बबई दाङ तेस्रो भएका छन् ।  त्यस्तै बुटवलको अक्सफोर्ड मावि चौथो, मेचीकाली आवासीय मावि घोराही पाँचौं र रेन्बो बार्डिङ गुल्मी छैठौं भएका छन् । 
    फाइनलमा प्रथम हुनेले ४० हजार, दोस्रोले २५ हजार र तेस्रोले २० हजार रुपैयाँसहित शिल्ड, ट्रफी र प्रमाणपत्र पाएका छन् । 

    विद्यार्थीहरुमा अन्तरनीहित बौद्धिक प्रतिभा प्रस्फुटन र विद्यालयहरुबीच आपसी सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले न्यू होराइजन माविले २०५० सालदेखि क्वीज प्रतियोगिता गर्दै आएको जनाएको छ ।

    उपाधि विजेता विद्यालयलाई विद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजू,  प्राचार्य  लोकनाथ उपाध्याय, उपप्राचार्यहरु बालकृष्ण भण्डारी, बासुदेव अर्याल, राजीव श्रेष्ठ, क्वीज संयोजक मनोज सिलवाल ,व्यवस्थापन संकाय संयोजक प्रकाश खनाल लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको छ ।

    फाइनल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै शिक्षा विकास समन्वय इकाई रुपन्देहीका प्रमुख विष्णु पन्थीले काठमाडौंपछिको दोस्रो शैक्षिक हबका रुपमा बुटवल रहेको र यसमा न्यू होराइजन उत्कृष्ट विद्यालय रहेको चर्चा गर्नुभयो ।

    विद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजूले जिल्लास्तरबाट सुरु भएको हाजिरीजवाफ प्रतियोगिताले प्रदेशस्तरमा सुरुवात भएको बताउँदै आगामी दिनमा राष्ट्रियस्तरमा लैजाने बताउनुभयो । उहाँले बुटवललाई शैक्षिक हब बनाउन न्यू होराइजनले महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।

    विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले न्यू होराइजनमा अध्ययन गर्ने विद्यार्थीले एसएलसी बोर्डफस्टदेखि लिएर एसईईमा जीपीए फोरसहित उत्कृष्ट नतिजा ल्याउँदै यस क्षेत्रको गरिमा बढाएको बताउनुभयो ।  उहाँले क्वीजसँगै लोक संस्कृतिको संरक्षण तथा प्रबद्र्धन गर्न विद्यालयले लोकदोहोरी गीत प्रतियोगिता पनि आयोजना गर्दै आएको बताउनुभयो ।

    कार्यक्रममा न्यू होराइजन जीबीएसका प्राचार्य गोपाल प्रसाद आचार्य, जनता माध्यमिक विद्यालय पाल्पाका प्राचार्य निर्मल सोमै, शिक्षक कल्पना कसुम लगायतले आफ्ना भनाइ राख्नुभएको थियो ।

    विद्यालयले पहिलो चरणको हिट राउण्डमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने विद्यालयलाई समेत नगदसहित पुरस्कृत गरेको अतिरिक्त क्रियाकलाप प्रमुख बालकृष्ण बस्यालले जानकारी दिनुभयो ।