मंगलवार , मंसिर १६, २०८२
भैरहवा, १६ मंसिर । स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएका दुई खेलमा जेसीज सेकेण्डरी स्कूल र भैरहवा नमूना माध्यमिक विद्यालय विजयी भएका छन् । जेसीजले प्यारामाउण्ट बोर्डिङ हाई स्कूललाई ७ विकेटले पराजित गर्दा नमूनाले मोर्डन स्कूलमाथि ४ विकेटको जित निकालेको छ ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको प्यारामाउण्टले १८ ओभर २ बलमा अलआउट हुँदै ८४ रन बनायो । उसका लागि आर्यन भण्डारीले ३८ र अर्पण कोइरालाले ११ रन बनाए । बलिङमा जेसीजका अमितकुमार यादवले ४ र प्रथम जीएमले २ विकेट लिए ।
जवाफमा जेसीजले १२ ओभरमा ३ विकेटको नोक्सानीमा ८५ रन बनाउँदै जीत निकाल्यो । उसको जीतमा अमोज बस्यालले २६, शाही आलम अन्सारीले नटआउट १६ र सम्राट राईले १३ रन बनाए । बलिङमा प्यारामाउण्टका सुशान्त सिलवाल र दर्शन क्षेत्रीले १–१ विकेट लिए । जेसीजका अमित कुमार यादव प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।
त्यस्तै दोस्रो खेलमा टस हारेर ब्याटिङ गरेको मोर्डनले ९ विकेट गुमाएर १ सय ६५ रन बनायो । उसका लागि समिर खानले नटआउट ७१, आर्यन चौरसियाले २४ र इरशाद खानले १८ रन बनाए । बलिङमा भैरहवा नमूनाका मेहताब आलमले ४ र सोमनाथ चौधरीले ३ विकेट हात पारे ।
जवाफी ब्याटिङ गरेको भैरहवा नमूनाले १९ ओभर ४ बलमा ६ विकेटको नोक्सानीमा १ सय ६६ रन बनाउँदै जीत निकाल्यो । उसको जीतमा सोमनाथ चौधरीले नटआउट ३२, सत्यम हरिजनले २८, मेहताब आलमले १८ र तबराज इद्रिसले १५ रन बनाए । खेलमा नमूनाले ४८ रन अतिरिक्त पाएको थियो ।
बलिङमा मोर्डन स्कूलका दिलजन मोहमद र सदब खानले २–२ विकेट लिए । मेहताब आलम प्लेयर अफ द म्याच भइ पाँचसय रुपैयाँ प्राप्त गरे ।
रुपन्देहीका ३० वटा विद्यालयकोे सहभागीता रहेको प्रतियोगिताको विजेता टीमले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक उदय कुमार मल्लिकले जानकारी दिए । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय रुपैयाँ र अनुशासित टीमलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगिता पुस १ गतेसम्म चल्नेछ । प्रतियोगितालाई पर्वत ज्वेलर्स बैंकरोड, भैरहवाले प्रायोजन गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij