
सोमवार , बैशाख १३, २०७८
भैरहवा, १३ वैशाख ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण असर परिरहेको बेला आगामी जेठ १२ गते परेको २५६५ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवसको कार्यक्रम पनि विगतको भन्दा फरक प्रकृतिको हुने भएको छ ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मेत्तय) का अनुसार कोभिड–१९ को कारण ज्यान गुमाएका विश्वभरीका मृतकहरुको स्मृतिमा लुम्बिनीमा दीप प्रज्वलन गरिने तयारी भइरहेको छ । उपाध्यक्ष त्रिपाठीले भने ‘भगवानको शिक्षा नै दुःख आर्यसत्यबाट सुरु भएको छ । यति बेला कोरोनाको कारण संसार दुःखमा छ । हामी दुःखमा रहेको संसारलाई कसरी पीडामुक्त गर्न सकिन्छ भन्ने विषयमा सोचिरहेका छौं ।’ मृतकको नाममा दीप प्रज्वलन गर्ने, परित्राण पाठ गर्ने, संघदान गर्ने जस्ता आध्यात्मिक कार्यक्रम कोषले गर्ने गरी यस पटकको बुद्ध जयन्तीको कार्यक्रम बनाइरहेको उनले बताए ।
उनले भने, ‘सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई अपनाउँदै भौतिक उपस्थिति अत्यन्तै कम गरेर लुम्बिनीमा कार्यक्रम गर्नेछौं । हााी डिजिटल प्रविधिको प्रयोगमार्फत विश्वभरीका श्रद्धालुहरुलाई कोरोनाको पीडाबाट नआत्तिन, मनोबल उच्च बनाउन सकारात्मक सन्देश दिने तयारीमा छौं ।’
सुझाव संकलन सुरु
यसैबीच लुम्बिनी विकास कोषले बुद्धजयन्तीको सन्दर्भमा सरोकारवालासंग सुझाव संकलन सुरु गरेको छ । कोरोना संक्रमणको कारण भौतिक रुपमा ठूलो संख्यामा उपस्थित भएर कार्यक्रम गर्न कठिन हुने भएपछि वैकल्पिक उपायमार्फत बुद्धजयन्ती मनाउन सकिने गरी सरोकारवालाले सुझाव दिइरहेको विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । शाक्यका अनुसार कोषले आइतबारदेखि सरोकारवालासंग सुझाव लिन थालेको हो । यसैबीच आइतबार बिहान कोषले लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीका प्रतिनिधिसंग छलफल गरेको थियो । उक्त छलफलमा पर्यटन व्यवसायीहरु गोविन्द ज्ञवाली, लिलामणी शर्मा, हेम विष्ट, शेखर कार्की लगायतले बुद्ध जयन्तीलाई साप्ताहिक रुपमा मनाउने र हरेक दिन थोरै थोरै संख्यामा मानिसहरु उपस्थित हुने गरी पुजाआजा गर्नु उपयुक्त हुने सुझाव दिएका छन् ।
त्यसै गरी आइतबार नै कोषले नेपाल पत्रकार महासंघ रुपन्देहीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुसंग छलफल गरेको छ । छलफलमा महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले आसन्न बुद्धजयन्तीमा मिडियाको उपयोग अधिकत्तम गरेर बुद्ध, धर्म र संघको प्रचारप्रसारमा बढी लाग्नुपर्नेमा जोड दिएका छन् ।
त्यस्तै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य बिन्दु कुमार चौहानले बुद्ध जयन्तीको दिन घरघरमा दीप प्रज्जवलन गर्नुपर्ने बताए । उनले लुम्बिनी विकास र स्थानीयबीचको सम्बन्ध प्रगाढ बनााउनुपर्नेमा जोड दिए ।
महासंघका जिल्ला उपाध्यक्ष विश्वास ढकाल, सचिव विनोद परियार, कोषाध्यक्ष सञ्जय सौगात (विश्वकर्मा), कार्यसमिति सदस्य थानेश्वर घिमिरे (नविन), राधेश्याम विश्वकर्मा, शंकर प्रसाद पाण्डे, टंक सुनार, लुम्बिनी प्रेस क्लब रुपन्देहीका कार्यसमिति सदस्य रबिन्द्र प्रताप गुप्ता लगायतले कोभिडको कारण चौतर्फी रुपमा त्रास फैलिएको हुँदा मानिसको मनोबल उचो हुने गरी विभिन्न धार्मिक कार्यक्रम गर्न सके फलदायी हुने सुझाव दिएका हुन् ।
सो अवसरमा महासंघका नवनिर्वाचित अध्यक्ष, पदाधिकारी र सदस्यलाई लुम्बिनी विकास कोषले सम्मान समेत गरेको थियो ।
सुझाव संकलन कार्यक्रममा कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्य, सदस्य सचिव सानुराजा शाक्य, कोषका कार्यकारी सदस्य श्रीराम यादव, योजना प्रमुख सरोज भट्टराई, कोषका परिषद सदस्य इन्साफ अलि, प्रशासन महाशाखा प्रमुख ज्ञानिन राई, सूचना शाखा प्रमुख डा. हरिध्वज राई, मिडिया कन्सलटेन्ट नरेश के.सी. लगायतले सरोकारवालासंग छलफल गरिरहेको कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij