२०८२, मंसिर २५ गते

Dec 11 2025 | २०८२, मंसिर २५ गते

लुम्बिनी बौद्ध विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युटको स्थापना

बिहिवार , मंसिर २५, २०८२

  • 451
    Shares
  • 451
    Shares
  • लुम्बिनी, २५ मंसिर । लुम्बिनी बौद्ध विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युटको स्थापना भएको छ । चीनको बेईजिङमा भएको एक कार्यक्रमकाबीच कन्फ्युसियस इन्स्टिच्युटको ब्राण्ड लुम्बिनी बौद्ध विश्वविद्यालयलाई हस्तान्तरण गरिएको हो ।

    बुद्ध जन्मस्थल र अन्तर्राष्ट्रिय चिनियाँ भाषा शिक्षाको सहकार्यबाट नयाँ सभ्यता संवाद मञ्च स्थापना हुने उद्धेश्यसहति कन्फ्युसियस इन्स्टिच्युटको स्थापना गरिएको लुम्बिनी बौद्ध विश्वविद्यालयले जनाएको छ । 

    सन् २०२५ नोभेम्बरमा बेइजिङ राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित २०२५ विश्व चिनियाँ भाषा सम्मेलनको क्रममा नेपाल लुम्बिनी बौद्ध विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटको हस्तान्तरण समारोह विशेष कार्यक्रमभित्र भव्य रूपमा सम्पन्न भएको थियो । 

    चिनियाँ अन्तर्राष्ट्रिय चिनियाँ भाषा शिक्षा कोषका अध्यक्ष याङ वेइले र बेइजिङ भाषा विश्वविद्यालयका अध्यक्ष प्रा. डा. त्वान फङले लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुबर्णलाल बज्राचार्यलाई संयुक्त रूपमा कन्फ्युसियस इन्स्टिच्युटको ब्राण्ड प्रदान गर्नुभएको थियो । लुम्बिनी बौद्ध विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युट बेइजिङ भाषा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयको संयुक्त सहस्थापनामा सञ्चालन हुनेछ । जसको समर्थन र सहकार्य अन्तर्राष्ट्रिय चिनियाँ भाषा शिक्षा कोषले गर्नेछ।

    कन्फ्युसियस इन्स्टिच्युटको उच्च गुणस्तरीय व्यवस्थापन र सञ्चालन सुनिश्चित गर्न, दुवै पक्षको सहमतिअनुसार चिनियाँ र नेपाली पक्षका निर्देशक रही चिनियाँ भाषा विकासमा काम गर्ने जनाइएको छ । चीनबाट कन्फ्युसियस इन्स्टिच्युटको निर्देशकको रूपमा बेइजिङ भाषा विश्वविद्यालयको डा. काओ रुई सन् २०२५ सेप्टेम्बर ५ देखि औपचारिक रूपमा पदस्थापित हुनुभएको छ ।

    नेपाली पक्षका निर्देशक डा. कुमार खड्काले कन्फ्युसियस इन्स्टिच्युट स्थापनाले प्राज्ञिक विकासमा महत्वपूर्ण योगदान हुने बताए। 
    कन्फ्युसियस इन्स्टिच्युटका दुवै निर्देशकहरूले संयुक्त रूपमा शिक्षण, अनुसन्धान र सांस्कृतिक आदानप्रदान कार्यक्रमहरू अगाडि बढाउने, द्विपक्षीय स्थायी सहकार्य संयन्त्र स्थापित गर्ने र कन्फ्युसियस इन्स्टिच्युटलाई क्षेत्रीयस्तरको प्रभावशाली शिक्षा–संवाद मञ्चका रूपमा विकास गर्ने लक्ष्य लिएका छन् ।