२०८२, मंसिर २९ गते

Dec 15 2025 | २०८२, मंसिर २९ गते

अन्तरविद्यालय क्रिकेट : जेसिज र स्पांगललाई सफलता

शुक्रवार , मंसिर २६, २०८२

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • भैरहवा, २६ मंसिर । जेसिज बोर्डिङ सेकेन्डरी स्कूल र स्पांगल स्कूल रुपन्देहीको भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारका खेलमा विजयी भएका छन् । जेसिजले मणिमुकुन्द माविलाई ६ विकेट र स्पांगलले भैरहवा नमूना माविलाई ३४ रनले पराजित गर्दै जित निकालेका हुन् ।

    सिद्धार्थ क्रिकेट रंगशालामा भएको पहिलो खेलमा टस सजतेर ब्याटिङ गरेको मणिमुकुन्दले ६ विकेट गुमाएर ९४ रन बनायो । उसका लागि अर्पण तिमिल्सिनाले ३१ र प्रिन्स भट्टराईले १३ रन बनाए । बलिङमा जेसिजका अंकित पाण्डेले २ तथा सर्ताज आलम र आमोद बस्यालले १–१ विकेट लिए ।

    जवाफमा जेसिजले १३ ओभर २ बलमा ४ विकेटको क्षतिमा ९७ रन बनाउँदै जीत हात पार्यो । उसको जीतमा अमृत कुमार यादवले २५, सम्राट राई र साही आलमले समान २०–२० रनको योगदान गरे । बलिङमा मणिमुकुन्दका सुगम केसी, सुजन भण्डारी र विराट नेपालीले १–१ विकेट लिए । अमृत कुमार यादव प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।

    त्यस्तै दोस्रो खेलमा टस हारेर ब्याटिङमा आएको स्पांगलले १८ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ३० रन बनायो । उसका लागि मैनउद्दिन खानले ३१, कृष्ण कोइरीले २३ र अविजित मल्लाहले २२ रन बनाए । बलिङमा भैरहवा नमूनाका सोमनाथ चौधरीले ४ र अर्षाद अली धुनियाले ३ विकेट हात पारे ।

    प्रतिउत्तरमा भैरहवा नमूना १५ ओभर ४ बलमा सबै विकेट गुमाउँदै जम्मा ४६ रनमा समेटियो । उसका लागि मेहताब आलम र सत्यम हरिजनले १०–१० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा स्पांगलका निरज कुँवर र अर्मन खानले समान ३–३ विकेट लिए । अर्मन खान प्लेयर अफ द म्याच भइ पाँच सय रुपैयाँ प्राप्त गरे ।

    रुपन्देहीका ३० वटा विद्यालयकोे सहभागीता रहेको प्रतियोगिताको विजेता टीमले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक उदय कुमार मल्लिकले जानकारी दिए । त्यस्तै म्यान अफ द सिरिजले १० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय रुपैयाँ र अनुसाशित टीमलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगिता पुस १ गतेसम्म चल्नेछ । प्रतियोगितालाई पर्वत ज्वेलर्स बैंकरोड, भैरहवाले प्रायोजन गरेको छ ।