शुक्रवार , पौष ४, २०८२
भैरहवा, ४ पुस । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका र नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाबीच नगरबासीलाई निःशुल्क रगत तथा रक्ततत्व उपलब्ध गराउने सम्झौता भएको छ । भैरहवामा आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौता भएको हो ।
सम्झौता–पत्रमा नगरपालिकाकातर्फबाट नगरप्रमुख झबिलाल थापा र रेडक्रस सोसाइटी रुपन्देहीका सभापति रामचन्द्र उपाध्यायले हस्ताक्षर गर्नुभएको छ ।
यो सम्झौतासँगै अब भूमिकास्थानका बासिन्दाले परिचय खुल्ने सरकारी कागजात पेश गरी रेडक्रसको रुपन्देहीस्थित रक्त सञ्चार सेवा केन्द्रबाट निःशुल्क रगत प्राप्त गर्न सक्नेछन् । नगरपालिकाले आफ्ना नागरिकको सहजताका लागि प्रतियुनिट ९५० रुपैयाँ सेवा शुल्क रेडक्रसलाई भुक्तानी गर्नेछ भने अग्रिम रूपमा एकलाख रुपैयाँ जम्मा गर्ने व्यवस्था मिलाएको छ । आकस्मिक अवस्थामा कागजात नहुँदा शुल्क तिरे पनि २४ घण्टाभित्र कागजात पेश गरेमा सो रकम फिर्ता हुने प्रावधान राखिएको छ ।
नगरप्रमुख थापाले रगत अभावमा कोही पनि उपचारबाट वञ्चित नहुन् भन्ने उद्देश्यले यो सम्झौता गरिएको बताउनुभयो । २०८३ साल मसान्तसम्म लागू हुने यो सम्झौता अनुसार नगरपालिकाले वर्षमा दुईपटक रक्तदान कार्यक्रम समेत आयोजना गर्ने प्रतिबद्धता जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij