
मंगलवार , बैशाख १४, २०७८
भैरहवा, १४ वैशाख ।
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले लुम्बिनी प्रदेशबाट संघीयता कार्यान्यवनको सुरुवात भएको दावी गरेका छन् । उनले कठिन परिस्थितिमा आफूहरुले समस्याको समाधान खोजेको बताए ।
उद्योग व्यापार संगठन रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको स्वागत, बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले निर्वाचन गर्नु र सरकार फेर्नु मात्र समस्याको समाधान नभएको बताए ।
‘कुनै दलप्रति आग्रह पूवाग्रह राख्नुहुँदैन, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)संग मिलेर जाँदा पनि मन्त्री नै बन्ने हो, सुपरमिनिष्टर बन्ने होइन, सांचो हाम्रो हातमा छ, त्यही सांचोको प्रयोग गरेका हौं, ’उनले भने । अहिले प्रदेश सरकारमा असज परिस्थिति नरहेको र जसपाले सम्हालेको मन्त्रालयमा कुनै बाधा अवरोध नभएको मन्त्री पाण्डेयको भनाइ छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालिसकेपछि अब नागरिकलाई महसुस हुने गरी काम गर्ने उनले बताए । जनताको करबाट उठेको पैसा जनताकै विकासको लागि खर्च हुने मन्त्री पाण्डेयले बताए । स्वास्थ्य, पर्यटन क्षेत्रलाई प्राथमिकता दिदै अगाडी बढ्ने उनको भनाइ छ । उनले बैंक व्याजदर कम गर्ने र व्याज तिर्ने अवधि बढाउन प्रदेश सरकारबाट पहल गरिने बताए ।
कोभिड–१९ लाई नकारात्मक रुपमा प्रचार नगर्न र कोरोना संक्रमितलाई अमानवीय व्यवहार गर्न नहुने मन्त्री पाण्डेयले बताए । स्वास्थ्य मापदण्ड अपनाएर काम गर्नुपर्नेमा उनले जोड दिए । महामारीको बेला मर्यादा नखोजी सकारात्मक सोचका साथ अगाडी बढ्नुपर्ने मन्त्री पाण्डेयको भनाइ छ ।
आफूले मन्त्रीको जिम्मेवारी सम्हालिसकेपछि बजेट कुनै पनि हालमा फ्रिज हुन नदिन मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिइसकेको बताए । मन्त्रालयमा सेवा लिन आएका नागरिकहरुको काम छिटो भन्दा छिटो गर्न र कुनै पनि बहानामा ढिलाइ नगर्न स्पष्ट निर्देशन दिइसकेको छु, उनले भने ।
लुम्बिनी प्रदेश पर्यटनको क्षेत्रमा अगाडी रहेको र यसको व्यवस्थापन गरे पर्यटनको प्रदेश भनेर अगाडी बढाउन सकिने उनले बताए । उनले सांसद र मन्त्री बनिसकेपछि गाडी किन्नुपर्ने र घर बनाउनुपर्ने भन्ने मानसिकताबाट अब माथि उठ्नुपर्ने बताए । ‘जुन देशमा नेता र कर्मचारी धनी हुन्छन, त्यो देश आर्थिक रुपमा सम्पन्न हुन सक्दैन,’ मन्त्री पाण्डेयले भने ।
त्यस्तै उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले अर्थतन्त्र धरासायी हुन नदिन उद्योग व्यवसाय बन्द गर्न नहुने बताए । उनले बिहे भोजको नाममा गरिने भिड र शैक्षिक संस्था केही समयको लागि बन्द गरे पनि स्वास्थ्य मापदण्ड अपनाएर उद्योग व्यवसाय सञ्चालन गर्न दिनुपर्ने बताए । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित उदयपुरमा संगठनको भवन निर्माण भइरहेको र भवन निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सहयोग गरिदिन मन्त्री पाण्डेयसमक्ष भण्डारीले अपिल गरे ।
‘कोभिड–१९ को विषम परिस्थितिमा उद्योगी व्यवसायीले आंट गरेर जग्गा खरीद गरेर भवन निर्माणमा जुटेका छौं, यसलाई पूर्णता दिन सहयोग आवश्यक छ, ’उनले भने । संगठनको भवनलाई सिद्धार्थनगरका जनप्रतिनिधिले नगरको गहनाको रुपमा नबुझेको उनले दुःखेसो पोखे ।
संगठनका निवर्तमान अध्यक्ष खिम बहादुर खत्रीले कोरोना संक्रमित विरामीहरुले उपचार पाउने वातावरणको सिर्जना हुनुपर्ने बताए । उनले उपचार नपाएर मृत्युको अवस्थामा पुग्न नदिन सरकार जिम्मेवार बन्नुपर्ने बताए । संगठनका सल्लाहकार चोपलाल आचार्यले सबैभन्दा पहिला आफ्नो निर्वाचन क्षेत्रलाई प्राथमिकता दिन मन्त्री पाण्डेय समक्ष आग्रह गरे । उनले यस क्षेत्रको अभिभावकत्वको भूमिका खेल्न समेत आग्रह गरे । संगठनका लुम्बिनी शाखा अध्यक्ष कृष्ण बहादुर गुरुङले मन्त्री सन्तोष पाण्डेय सबैको मनमा बस्न सफल हुनुभएको बताए ।
मदिरा व्यवसायी संघ सिद्धार्थनगरका अध्यक्ष केशवराज ज्ञवालीले यस क्षेत्रको विकासले तीव्रता पाउने विश्वास व्यक्त गरे ।
सिद्धार्थ होटल एशोसियनका उपाध्यक्ष किशोर जोशीले पर्यटन क्षेत्रमा प्रदेश सरकारले जोड दिनुपर्ने बताए ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष गणेश प्रसाद बेल्बासेले होटल व्यवसाय उठ्न नसक्ने अवस्थामा रहेको बताए ।
उद्योग व्यापार संगठन रुपन्देहीका महासचिव अनिल कुमार ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij