२०८२, पौष ६ गते

Dec 21 2025 | २०८२, पौष ६ गते

उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमाल

आइतवार , पौष ६, २०८२

  • 325
    Shares
  • 325
    Shares
  • काठमाडौं, ६ पुस । सुदूरपश्चिममा रहेको दुर्गम अपी हिमाल गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेको छ ।

    ‘नाम सुनेको तर पुग्न नसकेको’ परिचय बदल्दै यो क्षेत्र अहिले शाहसिक पदयात्री र प्रकृति प्रेमीहरूको प्रमुख रोजाइमा पर्न थालेको छ । 
    स्थानीय तहमा निर्वाचित नेतृत्वले योजनावद्ध विकासमा जोड दिएपछि आर्थिक समृद्धिको अन्य कुनै आधार नभएको यस गाउँपालिकाले अपी हिमाललाई सुदूरपश्चिमको उत्कृष्ट पर्यटकीय उद्यम र नेपालकै उत्कृष्ट गन्तव्य बनाउने लक्ष्य लिएको थियो ।

    योजनावद्ध पूर्वाधार विकास, ट्रेकिङ रुट विस्तार र आक्रामक प्रवद्र्धनका कारण अपी हिमाल बेसक्याम्प क्षेत्र नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको हो । अपी गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले अपी हिमाललाई सुदूरपश्चिमकै उत्कृष्ट पर्यटकीय उद्यम र राष्ट्रिय स्तरको गन्तव्य बनाउने लक्ष्यसहित काम भइरहेको बताउनु भयो ।

    अध्यक्ष बोहराकाअनुसार नेपाल पर्यटन बोर्ड र संयुक्तराष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको सहयोगमा गाउँपालिकाले अहिले  पर्यटन व्यवसायीलाई विभिन्न किसिमका तालिम सञ्चालन गरेको छ । त्यसैगरी पुर्वाधार विस्तारमा पनि काम भइरहेको उहाँले जानकारी दिनुभयो । 
    उहाँले भन्नुभयो ‘अपी हिमाल गाउँपालिका नेपालकै सुदूरपश्चिममा रहेको दुर्गम गाउँपालिका हो । यो गाउँपालिकामा पर्यटन बाहेक आर्थिक समृद्धिको कुनै आधार छैन ।

    त्यसैले हामीले गाउँपालिकामा निर्वाचित भइसकेपछि अपी हिमाललाई सुन्दर, समृद्ध र विकसित अपी हिमाल बनाउन केही योजनावद्ध विकास गर्नुपर्छ भन्ने उद्देश्यले काम अगाडि बढायौँ र त्यो आवधिक योजनामामा समावेश ग¥यौं ।

    अपी हिमालको बेसक्याम्पसम्म पुग्न पर्यटकीय पूर्वाधारहरुमा लगानी ग¥यौं । टुरिजम बोर्ड, प्रदेश सरकार र स्थानीय सरकार मिलेर बेसक्याम्पसम्मको ट्रेकिङ ट्रेलहरु बनाएका छौँ । ती ट्रेलमा टि–हाउस, गेस्ट हाउस र होमस्टे बनाएका छौँ । ट्रेकिङ गाइड तालिम पनि दिएका छौँ । पछिल्लो समय अपी हिमाल गाउँपालिकाको नाम सुनिने भएको छ । अहिले देश विदेशका सबै पर्यटकहरु,जो ट्रयाकिङमा रुचि राख्नुहुन्छ र उहाँहरुको रुचीको विषय अपि बनेको छ ।’

    गत आर्थिक वर्षमा मात्रै करिव ५ हजार आन्तरिक तथा वाह्य पर्यटकले अपी हिमाल र बेसक्याम्पको भ्रमण गरेका छन् । पर्यटकको चहलपहल बढेपछि स्थानीय स्तरमा झन्डै ४ देखि ५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ । यसबाट होमस्टे सञ्चालक, ट्रेकिङ गाइड, होटल व्यवसायी र स्थानीय किसानहरू प्रत्यक्ष लाभान्वित भएका छन् । विशेषगरी स्थानीय रैथाने उत्पादनको माग बढेसँगै गाउँमै रोजगारी र आम्दानीका स्रोतहरू सिर्जना भएका छन् ।

    विभिन्न स्थानमा टी–हाउस, गेस्ट हाउस र ९ वटा होमस्टेको व्यवस्था गरिएको छ । स्थानीयलाई ट्रेकिङ गाइड, बेकरी र कफी बनाउने तालिम प्रदान गरिएको छ । यही सक्रियताका कारण नेपाल सरकारले छोटो समयमा पर्यटन विकासमा योगदान पु¥याएको भन्दै अपी हिमाल गाउँपालिकालाई सम्मान समेत गरिसकेको छ । पर्यटकको संख्या बढेसँगै स्थानीयको आम्दानीमा वृद्धि भएको छ । 

    अपी गाउँपालिका अध्यक्ष बोहरा भन्नुहुन्छ ‘यो एक वर्षभित्र अपी हिमाल गाउँपालिका र अपि बेस क्याम्प लगायतको गन्तव्यहरु घुम्नको लागि आन्तरिक तथा वाह्य पर्यटकहरु झन्डै ५ हजारको हाराहारीमा पुगेका छन् । यो दुर्गमको गन्तव्यको लागि खुशीको कुरा पनि हो किनकि ५ हजार पुग्नु भनेको हाम्रो लागि धेरै ठूलो कुरा हो । मलाई लाग्छ पर्यटकको संख्या बिस्तारै बढ्नेछ र त्यहाँको आर्थिक गतिविधिहरु पनि बढ्नेछ ।

    अपी हिमाल गाउँपालिकाको जहाँ भूगोल धेरै ठूलो भए पनि जनसंख्या थोरै छ । हामीसँग ६१३.९५ वर्ग किलोमिटर भूगोल छ । जनसंख्या जम्मा ७ हजार पनि पुगेको छैन । पचास प्रतिशत मान्छेहरु बजारतिरै बस्नुहुन्छ ।  त्यही २५ सय मान्छे मात्रै त्यहाँ स्थायी रुपमा बस्छन् होला । तिनीहरुले जति धेरै आर्थिक गतिविधिहरु बढाए पनि आर्थिक विकास त हुँदैन । त्यसैले हामीसँग प्रकृतिले दिएका सुन्दर उपहारहरु छन् ।

    अपी हिमाल लगायतका झन्डै १६ वटा त ६ हजार मिटर भन्दा माथिका हिमालहरु छन् । धार्मिक पर्यटक गन्तव्यहरु छन् । प्राकृतिक रिसोर्सहरु छन् । यिनीहरुलाई मात्रै हामीले देखाउन सक्यौँ भने पनि धेरै भन्दा धेरै पर्यटकहरु भित्रिन सक्छन् र ति पर्यटकहरुले थोरै खर्च गर्दा पनि आर्थिक गतिविधिहरु बढ्नसक्छ भन्ने अपेक्षा हाम्रो छ । अहिले ५ हजार पर्यटक हाम्रो गाउँपालिकामा भित्रदा झन्डै ५ करोडको कारोबार चाहिँ हुदो रहेछ ।’