सोमवार , पौष ७, २०८२
भैरहवा, ७ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ स्थित काशी नोबल एकेडेमीमा विश्व ध्यान दिवस–२०२५ मनाइएको छ । दिवसको अवसरमा आइतबार करिब ६ सय जना विद्यार्थीहरुले सामूहिक ध्यान गरेका छन् । जीवन योग प्रयोगशालाका प्रशिक्षक प्रकाश पोखरेलले विद्यार्थीहरुलार्ई स्वजागरण ध्यान विधिबाट गराउनुभएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि जीवन विज्ञान जिल्ला परिषद् रुपन्देहीका अध्यक्ष खगनाथ गैरेले योग/ध्यानको महत्वबारे प्रकाश पार्नुभयो । उहाँले काशी नोबल एकेडेमीको नाम लिनबित्तिकै गर्वको अनुभुति हुने गरेको बताउनुभयो । ‘यो विद्यालयले शैक्षिक क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ, आगामी दिनमा विद्यालयले अझै प्रगति गर्दै जाओस्, ’उहाँले भन्नुभयो ।
विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेको अध्यक्षता तथा कोर्डिनेटर हरि प्रसाद आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रमको सहजीकरण मीरा सारुले गर्नुभएको थियो । कार्यक्रममा कक्षा ७ को छात्राले नृत्यबाट स्वागत गरेकी थिइन् ।
आइतबार वार्षिक खेलकुद महोत्सव–२०८२ अन्तर्गत कक्षा ६ का विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ । एथलेटिक्ससहित विभिन्न खेलमा सहभागी भइ विजयी भएका ८० जना विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो । कक्षा ६ मा १४४ जना विद्यार्थीहरु अध्ययनरत छन् ।
त्यसै गरी आइतबार नै विद्यालयमा रक्तअल्पता सम्बन्धी अभिभावकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद ज्ञवाली, नर्सिङ अधिकृत गीता देवी न्यौपाने र सिनियर अहेव दुर्गा थापाले सहजीकरण गर्नुभएको विद्यालयले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij