२०८२, पौष १२ गते

Dec 27 2025 | २०८२, पौष १२ गते

लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक सेवा इकाई बन्यो ‘विपन्नको सहारा’

शनिवार , पौष १२, २०८२

  • 280
    Shares
  • 280
    Shares
  • बुटवल, १२ पुस । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित ‘सामाजिक सेवा इकाई’ गरीब तथा विपन्न परिवारको सहारा बनेको छ । आर्थिक रुपले विपन्न, वृद्धवृद्धा, सामाजिक रुपमा पिछडिएका तथा लक्षित वर्गले उपचार सेवामा सहुलियत प्राप्त गर्ने भएपछि सेवाग्राहीको चासो र चाप बढ्दै गएको छ । 

    आंशिक तथा पूर्ण निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्ने भएपछि सेवाग्राहीको आकर्षण र विश्वास बढ्दै गएको हो । सामाजिक सेवा ईकाईमार्फत अस्पताल विकास समितिले आफ्नो आन्तरिक श्रोतबाट पछिल्लो आर्थिक वर्ष २०८१/०८२ मा २ करोड रुपैयाँ बढीको सेवा उपलब्ध गराएको छ । उक्त कार्यक्रमबाट २ करोड २१ लाख ९४ हजार ३ सय ६९ रुपैयाँ बराबरको सेवा उपलब्ध गराइएको तथ्यांकमा उल्लेख छ । 

    अस्पतालमा सामाजिक सेवा ईकाईमार्फत समीक्षा अवधिमा ८ हजार ९ सय १६ जनालाई सेवा उपलब्ध गराइएको छ । लुम्बिनी प्रदेशका सबै जिल्ला तथा छिमेकी प्रदेशका जिल्लाहरुबाट समेत स्वास्थ्य उपचारका लागि आउने यस अस्पतालमा स्थानीय सरकारको सिफारिसका आधारमा सेवा उपलब्ध गराउने गरिएको छ । यद्यपी स्थानीय सरकारले भने उपचार सेवाका लागि आर्थिक दायित्व लिने गरेका छैनन् । 

    स्वास्थ्य सेवा सेवा ईकाइका प्रमुख नेत्र आचार्यका अनुसार यस इकाईबाट सेवा लिनेमा सबैभन्दा बढी रुपन्देही जिल्लाका छन् । २०८१/०८२ को तथ्यांक अनुसार रुपन्देहीका ४ हजार २ सय ५२ जनालाई १ करोड ८८ हजार रकम बराबरको उपचार सेवामा छुट उपलब्ध गराइएको छ । जसको खर्च अस्पताल विकास समितिले आफ्नो आन्तरिक स्रोतबाट व्यहोर्दै आएको उहाँले बताउनुभयो । 

    त्यसै गरी कपिलवस्तुबाट आएका ९०३, नवलपरासीका ५९९, अर्घाखाँचीका ७६४, गुल्मीका ८३६, पाल्पाका ३५४, प्यूठानका २७४, दाङका १४२, रोल्पाका १३४, रुकुम पूर्वका १८ तथा बर्दियाका ३ जनालाई स्थानीय जनप्रतिनिधिको सिफारिसका आधारमा उपचारमा छुट सेवा उपलब्ध गराइएको छ । त्यस्तै लुम्बिनी प्रदेश बाहिरका जिल्ला तथा अन्य सेवाग्राही ३३७ जनालाई उपचारमा छुट सेवा उपलब्ध गराइएको छ । 

    उपचार सेवालाई सहज बनाउनका लागि गरीब तथा विपन्न परिवारलाई उपचार मात्र नभइ बिरामी कुरुवालाई खाना नास्ता समेत उपलब्ध गराउने गरिएको सामाजिक सेवा ईकाइका प्रमुख आचार्यले जानकारी दिनुभयो । विपन्न परिवारका बिरामीले उपचार गराउँदाको अवधिसम्म उनीहरुलाई कुरेर बस्ने आफन्तहरुलाई दैनिक ५० रुपैयाँ बराबरको खाजा खर्च तथा खाना उपलब्ध गराउने गरिएको आचार्यले बताउनुभयो । 

    अस्पतालमा ६० देखि ८० वर्षसम्मका जेष्ठ नागरिकलाई ५० प्रतिशतसम्म सहुलियत रहेको छ भने ८० वर्षमाथिका जेष्ठ नागरिकलाई पूर्ण निःशुल्क उपचार सेवा उपलब्ध छ । ईकाईमार्फत सेवा प्राप्त गर्नका लागि सम्बन्धित पालिकाको सिफारिस, लक्षित समुहको परिचयपत्र, नागरिकता लगायतको आवश्यक कागजपत्रहरु पेश गर्नुपर्ने नियम छ । 

    अस्पतालले लक्षित समुहलाई तीन प्रकारको सेवा प्रवाह गर्दै आएको छ । जसमा ओपिडी सेवामा २ हजार ५ सयसम्मको जाँच उपचार सेवा निःशुल्क, आकस्मिक (इमरजेन्सी) सेवातर्फ ५ हजार सम्मको सेवा उपचार निःशुल्क गर्दै आएको छ भने अपरेशन तथा भर्ना भएका बिरामीहरुलाई १० हजारसम्म निःशुल्क सेवा प्रदान गर्ने गरेको छ । सेवा ईकाईले २४ घण्टा नै सेवा दिदै आएको छ । सरकारले लक्षित समूहलाई छिटोछरितो र निःशुल्क सेवा दिने उद्देश्यका साथ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलसहित देशभरका ८८ वटा अस्पतालमा ईकाई सञ्चालन गरेको छ । 

    आर्थिक अभावले कसैले पनि ज्यान गुमाउन नपरोस् तथा जोखिममा नपरुन् भन्ने उद्देश्यका साथ सबै जनतालाई स्वास्थ्यको समान पहुँचमा ल्याउने गरी सञ्चालन गरिएको सामाजिक ईकाईप्रति सेवाग्राही विगतभन्दा थप सचेत र आकर्षित बन्दै गएको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले उल्लेख गर्नुभयो ।

    सिफारिस गर्ने स्थानीय सकारले लिदैनन् आर्थिक दायित्व 

    स्थानीय सकारले अस्पतालमा उपचारका लागि आउने बिरामीहरुका लागि विपन्न, गरीब तथा लक्षित समुदायको भनेर सिफारिस गर्नेबाहेक आर्थिक दायित्व पूरा नगर्दा समस्या थप जटिल बनेको छ । अस्पतालमा लुम्बिनी प्रदेश तथा अन्य प्रदेशका समेत बिरामीहरु उपचारमा आउँदा त्यहाँका स्थानीय सकारले विपन्न, गरीब तथा लक्षित समुदाय उल्लेख गरी सिफारिस गरी पठाउने प्रचलन छ । यसरी आउने बिरामीहरुलाई अस्पतालले सामाजिक सेवा ईकाइमार्फत निःशुल्क, आंशिक तथा सहुलियत दरमा सेवा उपलब्ध गराए पनि त्यसको आर्थिक भार भने अस्पताल विकास समितिलाई मात्रै पर्ने गरेको छ । सरकारले केही लक्षित रोगको उपचारका लागि अनुदान उपलब्ध गराए पनि उक्त रकम प्रयाप्त नभएको अस्पताल विकास समितिका अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । 

    कतिपय स्थानीय सकारले हचुवाका भरमा बिरामीलाई गरीब, विपन्न परिवार तथा लक्षित समुदाय भनेर सिफारिस गरिदिने समस्या समेत रहेको अस्पतालमा कार्यरत एक कर्मचारीले गुनासो गरे । स्थानीय सरकारले नै यसरी गरिदिँदा लक्षित समुदायले नभइ अन्य समुदायले सेवाको दुरुपयोग गर्ने सम्भावना बढ्दै गएको ती कर्मचारीले गुनासो गरे । 

    आर्थिक वर्ष २०८१/०८२ को तथ्याङ्क अनुसार सामाजिक स्वास्थ्य सेवा इकाईबाट सबैभन्दा बढी सेवा लिएको जिल्ला रुपन्देहीमा बुटवल उपमहानगरपालिकाले उपचारमा छुटका लागि सबैभन्दा बढी सिफारिस लेखी पठाएको छ । बुटवल उपमहानगरले २ हजार ६१ जनालाई उपचारमा छुटका लागि सिफारिस लेखि पठाएकोमा अस्पताल बिकास समितिले ३७ लाख ५३ हजार ३ सय १९ रुपैयाँ बराबर स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराएको छ । जसअन्तरगत २६ लाख ७५ हजार ८ सय ४ रुपैयाँ बराबरको प्रयोगशाला जाँच छुट तथा १० लाख ७७ हजार ५ सय १५ रुपैयाँ बराबरको औषधि खर्च छुट रहेको छ । 

    त्यसै गरी समीक्षा अवधिमा तिलोत्तमा नगरपालिकाले ८२३ जनालाई उपचारमा छुटका लागि सिफारिस गरेकोमा १६ लाख ७७ हजार ५ सय ९० रुपैयाँ बराबरको उपचारमा छुट उपलब्ध गराइएको तथ्यांक छ । यो अवधिमा रुपन्देहीका सैनामैना नगरपालिकाले ५४६ जना, गैडहवा गाउँपालिकाले ११० जना, कञ्चन गाउँपालिकाले २२७ जना, देवदह नगरपालिकाले २७५ जना तथा शुद्धोदन गाउँपालिकाले ५७ जनालाई उपचारमा छुटका लागि सिफारिस गरेका छन् । 

    त्यस्तै सियारी गाउँपालिकाले १०७ जनालाई, कोटहीमाईले १० जना, रोहिणीले २५, मायादेवीले ३३, ओमसतियाले २४ तथा सम्मरीमाई गाउँपालिकाले ७ जना र लुम्बिनी साँस्कृतिक नगरपालिकाले ३० जनालाई उपचारमा छुट दिन सिफारिस गरेको छ । यसरी स्थानीय सकारका जनप्रतिनिधिहरुले उपचारमा छुट उपलब्ध गराउनका लागि सिफारिस गरे अनुसार अस्पताल विकास समितिको आन्तरिक स्रोतबाट खर्च हुने गरे विभिन्न क्याटोगोरीमा छुट उपलब्ध गराउने गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । यद्यपी स्थानीय सकारले लक्षित वर्ग, गरीब तथा विपन्न परिवारका लागि उपचारमा निश्चित रकम विनियोजन गरेरमा अस्पताललाई आर्थिक भार कम पर्ने उहाँले बताउनुभयो ।

    अस्पताल विकास समितिको सीमित स्रोतसाधनले कार्यक्रमलाई थप प्रभावकारी बनाउन नसकिएको अस्पताल प्रमुख (मेडिकल सुपरीटेण्डेण्ट) डा. इन्द्र ढकालले बताउनुभयो । अस्पतालमा यो कार्यक्रम अन्तरगत सामान्य उपचार खर्चमा मात्रै नभइ विभिन्न जटिल प्रकारका शल्यक्रिया तथा औषधी खर्च उपलब्ध गराउने गरेको उहाँको भनाइ छ । स्थानीय सरकारले समेत सामाजिक ईकाईलाई थप प्रभावकारी र पहुँचमा ल्याउन निश्चित रकम छुट्याएर आफ्ना जनताहरुको उपचारमा खर्च गर्न सके राम्रो हुने बताउँदै त्यसका लागि लुम्बिनी प्रादेशिक अस्पताल सहकार्य गर्न तयार रहेको उहाँले उल्लेख गर्नुभयो ।