२०८२, पौष १२ गते

Dec 27 2025 | २०८२, पौष १२ गते

सूर्यदेव माविले पहिलोपटक आयोजना गर्‍यो वार्षिक उत्सव कार्यक्रम

शनिवार , पौष १२, २०८२

  • 535
    Shares
  • 535
    Shares
  • भैरहवा, १२ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० दोगहरीस्थित श्री सूर्यदेव माध्यमिक विद्यालयले पहिलोपटक वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम आयोजना गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको यो विद्यालय वि.सं. २०३५ साल पुस १० गते स्थापना भएको थियो । स्थापनाको लामो समयपछि पहिलोपटक विद्यालयले वार्षिक उत्सव कार्यक्रम गरेको छ ।

    इतिहासमै पहिलोपटक विद्यालयले वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम गरेको श्री सूर्यदेव माविका प्रधानाध्यापक भरत गिरी गोसाईले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिको २०८२ कार्तिक २८ गतेको निर्णय अनुसार ऐतिहासिक तथ्यको आधारमा पुस १० गते वार्षिक उत्सव (स्थापना दिवस) तथा अभिभावक दिवस मनाउन सुरु गरिएको उहाँले जानकारी दिनुभयो । प्रधानाध्यापक गिरी गोसाईका अनुसार विद्यालयमा हाल ३८६ जना विद्यार्थी अध्ययनरत र १५ जना शिक्षक÷कर्मचारी कार्यरत छन् । विद्यालयले विगतदेखि असल अभ्यासहरुलाई निरन्तरता दिदै यस शैक्षिक सत्रमा थप असल अभ्यासहरु गरिएको उहाँले जानकारी दिनुभयो ।

    बिहीबार विद्यालय प्रांगणमा आयोजित ४७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस–२०८२ मा बोल्नुहुँदै सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले सूर्यदेव माविले राम्रो उदाहरण प्रस्तुत गरेको बताउनुभयो । उहाँले यो विद्यालयमा वार्षिक उत्सव कार्यक्रम पहिलोपटक आयोजना हुँदा विद्यार्थीहरुले नयाँ अनुभुति गरेको बताउनुभयो । ‘विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी भरत गिरी गोसाइ सरले सम्हाल्नुभएपछि राम्रो उदाहरण प्रस्तुत गर्नुभएको छ, उपप्रमुख अधिकारीले भन्नुभयो–‘प्रयास गर्नुभएको छ, राम्रो काम भइरहेको छ, सम्पूर्ण टीमले पनि साथ दिएको छ ।’

    विकास भनेको बाटो र नाला मात्र नभइ विद्यालय भवन, शिक्षा, समाजको विकास भएको छ कि छैन भन्ने कुरा जनप्रतिनिधिले विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । जनप्रतिनिधिले आफ्नो दायित्व पूरा नगरे विकास हुन नसक्ने उहाँको भनाइ छ । सिद्धार्थनगर नगरपालिका–१० का जनप्रतिनिधिको टीमले गरेको भन्दै उहाँले प्रशंसा गर्नुभयो । यहाँका जनप्रतिनिधिले प्रत्येक ठाउँलाई सम्बोधन गर्नुभएको बताउनुभयो । ‘यो विद्यालयमा भवनको अभाव थियो, मन्दिर थिएन, हल पनि बन्दैछ, यो राम्रो प्रयास हो, ’उपप्रमुख अधिकारीले भन्नुभयो ।
    उहाँले आफ्ना सन्तानको शिक्षामा लगानी गर्न अभिभावकहरुलाई आग्रह गर्नुभयो । शिक्षा र सीप भए जीवनमा आइपर्ने कुनै पनि समस्याबाट जुध्न सकिने उपप्रमुख अधिकारीको भनाइ छ । 

    रुपन्देही लीलाराम न्यौपाने माविका प्रधानाध्यापक रुप कुमार रायमाझी, नव दुर्गा माविका प्रधानाध्यापक दीपेन्द्र कुमार गौड, सूर्यदेव माविका पूर्व शिक्षक हनुमान सागर तिवारी, विद्यालयका पूर्व प्रधानाध्यापक हरि प्रसाद हरिजन लगायतले बोल्नुभएको थियो । 

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिद्वार प्रसाद जैसवालको अध्यक्षता, नगर उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यता, विद्यालयको शिक्षक मञ्जु कुमारी कुँवरको स्वागत तथा शिक्षक गंगालाल जैसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रथम प्रधानाध्यापक गिरिश चन्द्रमणि त्रिपाठी, पूर्व प्रधानाध्यापक विना पहारी, संस्थापक शिक्षक रामसागर तिवारी लगायतको उपस्थिति थियो । कार्यक्रममा विद्यार्थीहरुलाई पुरस्कार वितरण पनि गरिएको विद्यालयले जनाएको छ ।