शनिवार , पौष १२, २०८२
भैरहवा, १२ पुस । लुम्बिनीको विकासले नेपालको विकासमा महत्वपूर्ण टेवा पुग्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । उनीहरुले लुम्बिनी विकासमा जोड दिन आग्रह गरेका हुन् ।
शुक्रबार भैरहवामा आयोजित सद्धार्थ सञ्जाल, रुपन्देहीको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनमा बोल्दै सहभागीहरुले पर्यटन क्षेत्रको विकास नै आर्थिक समृद्धिको आधार भएकाले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान र लुम्बिनीको विकासमा जोड दिनुपर्ने उल्लेख गरेका हुन् ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले लुम्बिनीको विकासले नेपालको विकास हुने बताउनुभयो ।
उहाँले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन भए लुम्बिनीमा आउने पर्यटकको संख्या बढ्ने र त्यसले अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने बताउनुभयो ।‘ लुम्बिनीको विकास भनेकै यो देशको विकास हो । गौतमबुद्धको सन्देश हामी सबैले बुझ्नुपर्छ । लुम्बिनीमा धेरै भन्दा धेरै पर्यटक आउने वातावरण बन्नुपर्छ, ’उहाँले भन्नुभयो । नगरप्रमुख खाँले यस क्षेत्रको विकासका लागि सिद्धार्थनगर नगरपालिका, मायादेवी, सियारी, ओमसतिया र रोहिणी गाउँपालिका मिलेर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।
त्यस्तै नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले मुलुकको विकासका लागि सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले पदमा रहँदा भूमिका निर्वाह गर्न नसके पछि पश्चाताप हुने बताउनुभयो । ‘पर्यटकलाई राम्रो व्यवहार गर्नुपर्छ, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित रुपमा सञ्चालिन गर्नुपर्छ । यी एजेण्डा स्थापित गर्न सकिए, आर्थिक गतिविधि चलायमान हुन्छ, ’उहाँले भन्नुभयो। विमानस्थल नियमित सञ्चालनका लागि काठमाडौं केन्द्रीत खबरदारी पनि आवश्यक रहेको उहाँको भनाइ छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक श्याम किशोर साहले विमानस्थल आफैमा बिजनेशको उद्गमस्थल भएको बताउनुभयो । उहाँले विदेशी नगरपालिकाहरुसँग भगिनी सम्बन्ध स्थापित गर्न सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँलाई आग्रह गर्नुभयो ।
सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले पर्यटन प्रवद्र्धनका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित र पूर्ण रुपमा सञ्चालन अपरिहार्य रहेको बताउनुभयो । उहाँले रात्रीकालीन बजार सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका कार्यबाहक निर्देशक जीवन प्रकाश पाण्डेले नेपालमा भारु २ सय र ५ सय दरका नोट २५ हजारसम्म ल्याउन पाइने व्यवस्था गरिएको बताउनुभयो । उहाँले राष्ट्र बैंकले निजी क्षेत्रसँग सहकार्य, समन्वय र छलफल गर्दै आएको बताउनुभयो ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका महासचिव कृष्ण प्रसाद घिमिरेले सिद्धार्थ सञ्जाल, रुपन्देहीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि दबाबमूलक कार्यक्रम गर्दै आएको र संघले पनि सहकार्य गरेको बताउनुभयो ।
सिद्धार्थ सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले उद्घाटन भएको साढे ३ वर्ष भइसक्दा पनि गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको बताउनुभयो । उहाँले यो विमानस्थल यस क्षेत्रका नागरिकको भविष्यसँग पनि जोडिएको बताउनुभयो । स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रिने बेलहिया नाकाको अध्यागमन कार्यालयमा पर्यटकलाई अझै पनि दुई घण्टासम्म लाग्ने गरेकोले यसको सुधारमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । आजको आईटी युगमा पनि पर्यटकलाई धेरै समय रोक्दा त्यसले नकारात्मक सन्देश जाने श्रेष्ठले बताउनुभयो ।
सञ्जालका उपाध्यक्ष संजय बजिमयले आर्थिक समृद्धिको आधार पर्यटन भएको बताउनुभयो । उहाँले विमानस्थल निर्माणमा गरिएको लगानी भन्दा निजी क्षेत्रले दोब्बर लगानी गरेको तर लगानीको प्रतिफल पाउन नसकेको बताउनुभयो ।
वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापाले यस क्षेत्रको भविष्य उज्जवल रहेको बताउनुभयो । कार्यक्रममा लुम्बिनी निर्माण व्यवसायी संघका अध्यक्ष मञ्जु भुसाल, सिद्धार्थ सञ्जालका महासचिव मधु प्रसाद पन्थी लगायतले बोल्नुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij