मंगलवार , पौष १५, २०८२
रुपन्देही, १५ पुस । पुस १४ गते सोमबार राती अबेर भइसकेको थियो । बढ्दै गरेको शीतलहरले बुटवलबासी (दर्शक) कक्रक्क परिरहेका थिए । तर, बुटवल मण्डपमा जारी औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सवमा सहभागी भएका दर्शकहरु कलाकार ज्योति मगर र बद्री पंगेनीलाई कुरिरहेका थिए ।
सोमबार बिहानैबाट परिरहेको शीतलहर रातीको समयमा बढ्दै गइरहेको थियो । सहभागी अवलोकनकर्ता फुसफुसे पानीले धेरैजसो भिजेका थिए । तर, कार्यक्रमको स्टेज अगाडि र वरीपरी पूरै दर्शक खचाखच थियो । उद्घोषक विन्दु थापा निहारिकाले ज्योति र पंगेनीले अहिले चिसिएका सहभागीलाई तताउने उद्घोष गर्दै अन्य नियमित कार्यक्रम सक्दै गइरहेकी थिइन् । साँझ करिब ७ बजिसक्दा कलाकार पंगेनी र मगर स्टेज छेउमा पुगे । प्रायः दौरा सुरवाल कोट टोपीमा सजिने पंगेनी मंगलबार पनि सोही ड्रेसमै थिए भने ज्योति अरु बेलाजस्तो भन्दा फरक कपडामा थिइन् ।
ठूलो उनीको कोट लगाएर नचिनिने जस्तै देखिएकी ज्योतिले अरु पहिरन भने अन्य समयकै जस्तो लगाएकी थिइन् । तर, सुरुमा स्टेज चढेका बद्रीले गाउने बेलासम्म उनी बढ्दो चिसोले आत्तिएकी जस्तो देखिन्थिन् र सलले शरीर ढाकेर आयोजकको छेऊमा बसेकी थिइन् ।
करिब १ घन्टा बद्रीले स्टेज सम्हाले तर, बीचबीचमा उनले ज्योतिसँगै रहेको र उनीसँग गाएका गीतका टुक्काहरु पनि गाइरहेका थिए । उनले लोक भाकामा धेरै माया प्रेमकै गीत गाए भने पञ्चेबाजाका गीतबाट पाकापुस्ता र नयाँ पुस्तालाई छमछमी नचाएका थिए । अन्तिममा उनले ज्योतिसँग गाएको गीतका टुक्का दर्शकहरुसँग गाउने र यसलाई सामाजिक सञ्जालमा राख्ने भन्दै आफ्नै मोबाइलबाट भिडियो खिच्दै गाउँदै गरेको थिए । बद्रीले गाउँदा पनि परिरहेको शीतलहर बढ्दै थियो यो बीचमा उनले आफ्नो प्रस्तुती करिब सकाउन थालेका थिए । प्रदर्शनीका सांगीतिक कार्यक्रम संयोजक लालप्रसाद बस्यालले अन्तिममा पंगेनी र मगरको दोहोरी हुनुपर्ने प्रस्ताव राखेसँगै उनले त्यसलाई स्वीकार गरे र अन्तिममा नेपालमा मात्रै उत्पादन भएका वस्तुको प्रदर्शनीमा आउँदा आफू निकै खुसी भएको र नेपाली कपडा लगाउन पाएकोमा आफूलाई गर्व लागेको सुनाए ।
बद्रीपछि उद्घोषकले गायिका ज्योतिलाई स्टेजमा आमन्त्रण गरिन् । उद्घोषकले ज्योतिलाई प्रष्ट वक्ता, हिट गायकलगायतका फुर्का गाँसे पनि ज्योतिले सुरुमै आफू धेरै बोल्न नजान्ने तर गीतसंगीतको मर्म बुझेको मात्रै भन्दै त्यसको कटाक्ष गर्दै गीतसंगीतमा रमाउने मान्छे भएको दावी गरिन् ।
अन्य समयमा उनी स्टेजमा चढ्दाको अवस्था र सोमबार साँझको अवस्था भिन्न थियो । अधिकांश स्टेजमा छोटा कपडा लगाएर गाउनेनाच्ने पहिचान बनाएकी उनी केही शब्दहरु उछृंखल बोलेरै दर्शक हँसाउन पारंगत छन् । यहाँ पनि उनले त्यसै गरिन् । सुरुमा उनले ठूलो कोट लगाएर गाइन् तर केही सहभागीले तलबाटै हुटिङ गरे त्यो कोट खोल्नुपर्छ गाउनलाई । यसमा उनले केही मजाक गरिन् यो कोट खोल्नलाई मलाई बिहे गर्नुपर्छ । यो भन्दै उनले दोस्रो गीत गाउन मात्रै थालेकी थिइन् कोट खोलेर गाउँदै उफ्रन थालिन् । धेरैजसो सहभागी डबल त्रिपल ज्याकेटसहितका बाक्लो कपडा लगाएर पनि लुगलुग काँपिरहेको अवस्थामा सामान्य शरिर छोप्ने कपडा लगाएर स्टेजमा उफ्रन थालेपछि सहभागीले पनि उसैगरी हुटिङ गर्न थालेका थिए ।
सबै सहभागी बढ्दो चिसो र सिपसिपे शीतलहरीले भिजिरहेका बेला ज्योतिले भने लगातार आफ्ना प्रस्तुती राखिरहिन् करिब १ घण्टासम्म । चिसोले बीचबीचमा तातो पानी माग्दै पिइरहेकी उनले अन्तिममा भने बद्री पंगेनीसँग दोहोरी गाएकी थिइन् ।
मगर स्टेजमा दर्शक नचाउने किसिमका गीत र नृत्य प्रस्तुत गर्ने गायिकाका रुपमा चर्चामा छन् । कतिपय ठाउँमा उनको गीत र शैलीलाई लिएर आलोचनासमेत भएपनि उनी आउने भनेपछि दर्शक ओइरिने गर्दछन् । स्टेज चढेकै सुरुमा उनले बुटवलबाट नै आफ्नो कला क्षेत्रको सुरुवात भएको र बद्री पंगेनीहरु नै त्यसको गुरु भएको जनाइन् ।
ज्योतीले आफू रोल्पाली भएको र बुटवलसँग बलियो साइनो भएको बताइन् । मगरको जन्म रोल्पा जिल्लाको नुवागाउँ गाविसमा भएपनि उनी सानै हुँदा परिवार दाङमा बसाई सर्यो । एकदमै रमाइलो स्वभाव र मनमा आएको सबै कुरा नलजाई भन्ने गायिकाको रुपमा उनी परिचित छन् । उनले मायासँग र उही मुलाको सिन्की उही मुलाको चाना, गीत धेरैजसो स्टेजमा गाउँछिन् बुटवलमा पनि तिनै गाइन् । मंगलबार गायक प्रकाश सपूत र जमुनाम सनम आउनेछन् ।
पुस ३ गतेदेखि १७ गतेसम्म चलेको प्रदर्शनीमा स्वदेशी उद्योगहरुको प्रदर्शनीसँगै कृषि, पर्यटन र प्रविधिलाई केन्द्रमा राखेर विविध कार्यक्रम गरिएको संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले बताए ।
संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले सोमबार टिकट काटेर आउने अधिकांश ज्योतिकै कारण आएको तर, धेरै शीतलहरका कारण मान्छे आउन नसकेको जनाए । ‘स्टेज त खचाखच भरिएको थियो तर आज मौसमले साथ दिएको भए ज्योति र बद्री आउँदा हामीलाई व्यवस्थापन गर्न समस्या पर्ने थियो । तर, सबैभन्दा सकारात्मक पक्ष घरबाट बाहिर निस्कन नसक्ने अवस्थाको मौसममा रातीसम्म टिकट काउण्टरमा लागेको भीड, १० बजेसम्म प्रदर्शनीस्थलमा सहभागीको घुँइचोले उनीहरुको चाहनालाई देखाउँछ’ उनले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij