आइतवार , माघ ४, २०८२
बुटवल, ४ माघ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–८ सुख्खानगर स्थित क्यानन माध्यमिक विद्यालयमा आइतबार ‘फूड कर्निभल’ अर्थात खाना महोत्सव गरिएको छ ।
विद्यालयमा अध्ययनरत कक्षा १२ व्यवस्थापन संकाय अन्तर्गत होटल म्यानेजमेन्टका विद्यार्थीहरुको आयोजनामा ‘फूड कर्निभल’ तथा म्यूजिक उत्सव गरिएको हो । फेस्टिभलको वेस्टर्न मेगा कलेजका प्राचार्य खिशु शर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेलले उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै वेस्टर्न मेगा कलेजका प्राचार्य शर्माले होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरु सजिलै उद्यमी बन्न सक्ने बताउनुभयो । उहाँले फूड फेस्टिभलमा समेत विद्यार्थीहरुले आफ्नो सिर्जनशीलता प्रस्तुत गरेको बताउँदै होटल म्यानेजमेन्ट शिक्षाले उद्यमशीलता, सिर्जनशीलता र नेतृत्व विकास गराउने बताउनुभयो ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेलले क्याननले होटल म्यानेजमेन्टमार्फत होटल क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी देशको अर्थतन्त्रमा टेवा पुर्याएको विश्वास व्यक्त गर्नुभयो । उहाँले शिक्षा भनेको आत्मनिर्भर र सीपमुलुक हुनुपर्ने आवाज उठिरहेको बेला कक्षा ११ र १२ का विद्यार्थीहरुले उत्कृष्ट प्रदर्शन गरेको बताउनुभयो ।
विद्यालयका प्राचार्य शंकर भण्डारीले पछिल्लो समय क्याननले विद्यार्थीहरुलाई पाठ्यक्रममा मात्रै केन्द्रीत नगराइ यस्ता व्यवहारिक र रचनात्मक कार्यक्रमहरु मार्फत खँदिलो र दरिलो संस्थाका रुपमा उभ्याउन पाएको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई सीप र क्षमताले युक्त बनाउन विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । ‘आजका विद्यार्थीलाई कक्षाकोठामा राखेर दिइने सैद्वातिक ज्ञानले मात्रै पुग्दैन’ उहाँले भन्नुभयो–‘लर्निङ बाई अर्निङ’ को सोच अनुसार कार्यक्रम गरिएको छ ।’ उहाँले आफूहरुलाई यस्ता कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरुबाट सहयोग पाएको बताउनुभयो ।
फूड कर्निभलमा विद्यार्थीहरुले ८ वटा स्टल राखेका थिए । विद्यार्थी आफैले परिकार बनाउनेदेखि टिकट विक्री समेत गरेर परिकारहरु विक्रीको काममा खटिएका हुन् । स्टलमा जातीय संस्कृतिका परिकारदेखि विभिन्न खालका परिकारहरु राखिएको कक्षा ११ र १२ व्यवस्थापन संकायका संयोजक पवन बस्यालले बताउनुभयो ।
फूड कर्निभलसँगै विद्यार्थीहरुले विभिन्न गीत संगित तथा नृत्यहरु प्रस्तुत गरेका थिए । साथै आइतबार नै प्रि–नर्सरीदेखि कक्षा १० सम्मको तेस्रो त्रैमासिक तथा कक्षा ११ र १२ को दोस्रो त्रैमासिक परीक्षाको नतिजा समेत प्रकाशन गरिएको सह–प्राचार्य विष्णु प्रसाद न्यौपानेले बताउनुभयो ।
क्यानन माविले यसअघि क्यानन आईटी क्वीज, दोस्रो सेभेन ए साईड फुटबल प्रतियोगिता, डिजाईन च्यालेञ्ज वर्कसप जस्ता कार्यक्रमहरु गरिसकेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij