२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

जग्गा नापजाँचको लागि तिलोत्तमामा कन्ट्रोल प्वाइन्ट 

शुक्रवार , बैशाख १७, २०७८

भैरहवा, १७ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने कार्य अन्तर्गत् जग्गाको नापजाँचको लागि कन्ट्रोल प्वाइन्ट स्थापना गर्ने कार्य प्रारम्भ भएको छ । वडा नम्बर ११ को भूपू सैनिकबाट यो कार्य प्रारम्भ भएको हो । नापी कार्यालय रुपन्देहीको समन्वयमा कन्ट्रोल प्वाइन्ट राख्ने कार्य अघि बढेको अमिन प्रविण बञ्जाडेले जानकारी दिए । 
आवश्यक स्थानमा कन्ट्रोल  प्वाइन्ट निर्माण गरेपछि आयोगको आवश्यक प्रक्रिया पूरा भएको स्थानमा जग्गा नापजाँच गरिनेछ । जग्गा नापजाँचको लागि सुकुम्बासी समस्या समाधान आयोगले सर्वेक्षक तथा अमिन खटाइ सकेको छ भने नगरपालिकाले अमिन नियुक्त गरिसकेको छ ।  तिलोत्तमामा झण्डै ८ हजार जनाले भूमि सम्बन्धी समस्या समाधान आयोगको लगत संकलन फारम भरेका छन् । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको रुपमा सात हजार ९ सय १८ जनाले लगत संकलन फारम भरेको नगरपालिकाका शाखा अधिकृत माधवप्रसाद पोखरेलले जानकारी दिए । 

तिलोत्तमाका ६१९ जनाले भूमिहीन दलित, १ हजार ७४० जनाले भूमिहीन सुकुम्बासी र ५ हजार ५५९ जनाले अव्यवस्थित बसोबासीको लगत संकलन फारम भरेका हुन् । नगरपालिकाले दिएको विवरणअनुसार सबैभन्दा बढी वडा नम्बर ११ बाट आयोगको लगत संकलन फारम भरिएको छ । यहाँ १८० जना भूमिहीन दलित, ५३५ जना भूमिहीन सुकुम्बासी र दुई हजार ७६ जना अव्यवस्थित बसोबासी गरी दुई हजार ७९१ जनाले फारम भरेका छन् । यस्तै वडा नम्बर १२ बाट भूमिहीन दलित ८२, भूमिहीन सुकुम्बासी २१८ र अव्यवस्थित बसोबासी ७९६ गरी १ हजार ९६ जनाले फारम भरेका छन् । 
वडा नम्बर ७ बाट ५६२, वडा नम्बर १० बाट ५५३, वडा नम्बर ४ बाट ५३३, वडा नम्बर ३ बाट ४५९, वडा नम्बर १४ बाट ४२३ जनाले आयोगको लगत संकलन फारम भरेको नगरपालिकाले जनाएको छ । वडा नम्बर १७ मा सबैभन्दा कम भूमिहीन दलित सात, भूमिहीन सुकुम्बासी १० र अव्यवस्थित बसोबासी ३२ गरी जम्मा ४९ जनाले फारम भरेका छन् । वडा नम्बर २ मा ७४, वडा नम्बर ५ मा ७२, वडा नम्बर ९ मा ८१ जनाले आयोगको फारम भरेका छन् । 

त्यसै गरी वडा नम्बर १ बाट १४१, वडा नम्बर ६ बाट ३१६, वडा नम्बर ८ बाट ३६६, वडा नम्बर १३ बाट १५९, वडा नम्बर १४ बाट ४२३, वडा नम्बर १५ बाट १०७ र वडा नम्बर १६ बाट १३६ जनाले आयोगको लगत संकलन फारम भरेका छन् । 

तिलोत्तमा नगरपालिकाले भूमि सम्बन्धी समस्या समाधान आयोगको इकाई कार्यालय स्थापना गरेर आयोगको सूचना अनुसार माघ ९ गतेबाट लगत संकलन कार्य सुरु गरेको थियो । कतिपय वडाले टोल–टोलमै पुगेर लगत संकलनको काम गरेका थिए । त्यसको लागि सम्बन्धित वडा सचिवलाई जिम्मेवारी दिइएकोमा जनप्रतिनिधिहरुको साथैं वडास्तरीय सहजीकरण समितिको सहयोगमा लगत संकलन गरिएको थियो । वडाहरुबाट प्राप्त लगतलाई कम्प्युटरमा ईन्ट्री गर्ने, फाईल स्क्यानिङ गर्ने लगायतका काम अघि बढेको शाखा अधिकृत पोखरेलले जानकारी दिए । 
तिलोत्तमा नगरपालिकामा जनप्रतिनिधि आएसँगै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अव्यवस्थित बसोबासी तथा सार्वजनिक जग्गाको लगत संकलन गर्ने लगायतका कामलाई प्राथमिकता दिइएको थियो ।