२०८२, माघ २४ गते

Feb 07 2026 | २०८२, माघ २४ गते

मर्चवारका रामचन्द्र र श्याम : जसले अभावलाई अवसर बनाए

बिहिवार , माघ १५, २०८२

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • भैरहवा, १५ माघ । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको माटोले आफैमा संघर्षको कथा बोकेको छ । तर, त्यही संघर्षमा कहिलेकाही यस्ता कथाहरू जन्मिन्छन्, जसले आशाको झिल्को देखाउँछ । अभावकाबीच पनि मर्चवार संघर्षमा बलियो र आत्मबलमा अगाडि छ । यही माटोमा जन्मेका सन्तानहरूले पटकपटक प्रमाणित गर्दै आएका छन् कि परिश्रमको फल मीठो हुन्छ ।

    गरीबी र बेरोजगारीको समस्याबाट जुधिरहेको अतिविपन्न परिवारमा जन्मिएर ठूलो लक्ष्य लिएर अघि बढ्ने कुरा कतिपयलाई अनौठो लाग्न सक्छ । तर, संघर्षले असम्भवलाई सम्भव बनाउँछ भन्ने कुरा मर्चवार क्षेत्रका दुईजनाले फेरि एकपटक प्रमाणित गरेका छन् । सानैदेखि चिकित्सक बन्ने सपना बोक्नुभएका रामचन्द्र मल्लाह माझी र श्याम गुप्ता चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस) मा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएपछि मिहिनेत गरे के असम्भव छ भन्ने कुरा प्रमाणित गर्न खोजेको छ । गाउँ–टोलमा खुसीयाली छाएको छ । तर, यही खुसीभित्र केही चिन्ता पनि थपिएको छ । आगामी दिनका खर्च, बसोबास र दैनिक गुजारा कसरी गर्ने जस्ता चिन्ता थपिएको हो ।

    सम्मरीमाई गाउँपालिका–५ स्थित देवानडिह गाउँका २२ वर्षिय रामचन्द्र मल्लाह माझी र मर्चवारी गाउँपालिका–६ स्थित बगौलीका १९ वर्षिय श्याम गुप्ताको जीवन कथा धैर्य, त्याग र मेहनतको उदाहरण हो । रुपन्देही जिल्ला सुगम मानिए पनि मर्चवार क्षेत्रलाई अझै दुर्गम क्षेत्रको रुपमा मानिदै आएको छ । मर्चवारमा विगतको तुलनामा विकास भए पनि अझै यसलाई ‘पिछडिएको क्षेत्र’ भनिदै आइएको छ । यस्तै परिवेशमा हुर्किएका उहाँ दुई युवाले अभावलाई बहाना होइन, अवसर बनाए । रामचन्द्रको परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर छ । रोइनिहवाबाट थुम्हवा जाने बाटो छेउ दुईवटा फुसका झुपडी छन् । एउटामा परिवार बस्छ, अर्को गोठको रूपमा प्रयोग हुन्छ । बाटो पारी सानो कटेरो छ, जहाँ रामचन्द्र आफ्ना हजुरबुवा, बुवाआमा, दाजुभाइ र बहिनीसँग हुर्किए ।

    रामचन्द्रका बुवा इन्द्रजित मल्लाह माझी र आमा प्रेमलता मल्लाह माझीको जीविकोपार्जन माछा मारेर र सिँगडा खेती गरेर चल्दै आएको छ । स्थायी आम्दानीको स्रोत छैन । दैनिक छाक टार्न संघर्ष गर्नुपर्ने अवस्थाबीच पनि उहाँहरुले आफ्नो छोराको पढाइलाई कहिल्यै बोझ ठान्नुभएन । आफ्नै दुःख बिर्सेर खेतमा पसिना बगाउँदै, खोलामा माछा मार्दै, सिँगडा बेचेर कमाएको थोरै आम्दानी रामचन्द्रको शिक्षामा लगानी गर्नुभयो ।

    सानैदेखि पढाइमा अब्बल रामचन्द्रले अभावलाई कमजोरी होइन, अवसर बनाउनुभयो । किताब किन्न ग्राहो, ट्युसन असम्भव र सुविधाको कल्पना गर्न नसकिने अवस्थाकाबीच पनि उहाँले चिकित्सक बन्ने सपना कहिल्यै छोड्नुभएन । उहाँको प्रारम्भिक शिक्षा सिलौटिया बागेश्वरी बोर्डिङ स्कूलबाट सुरु भयो । कक्षा ११ र १२ भने भैरहवास्थित साई ग्लोबल एकेडेमीमा शिक्षकहरूको सहयोगमा निःशुल्क रूपमा पूरा गर्नुभयो । त्यसपछि एमबीबीएसको तयारीका लागि बुटवलमा साथीहरू बस्ने डेरामा बसेर उहाँको संघर्षपूर्ण तयारी सुरु भयो ।

    मर्चवारस्थित उहाँको काकाको घरमा जडान गरिएको इन्टरनेट र कहिले मोबाइल डाटा किनेर उहाँले पढाइलाई निरन्तरता दिनुभयो । तीन पटकसम्म अपेक्षित नतिजा नआउँदा पनि उहाँ हतोत्साहित भने हुनुभएन । ‘बी–फार्मा र बीपीएचमा राम्रो अंक आएकोले धेरैले त्यही पढ्न सल्लाह दिनुभयो । तर, मैले एकपटक फेरी एमबीबीएसका लागि प्रयास गर्ने निर्णय गरे, रामचन्द्रले भन्नुभयो–‘चौथो प्रयासमा नाम निस्कँदा वर्षौंको संघर्ष सफल भएको महसुस भयो ।’

    दाजु दीपक मल्लाह माझीले घरको जिम्मेवारी सम्हाल्दै रामचन्द्रलाई पढाइमा केन्द्रित हुन सहयोग गर्नुभयो । परिवारको पूर्ण सहयोग, हौसला र विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको रामचन्द्र बताउनुहुन्छ । हाल उहाँ जुम्लास्थित कर्णाली एकेडेमी अफ हेल्थ साइन्सेजमा अध्ययनको तयारीमा हुनुहुन्छ । तर, नाम निस्केको खुसीभन्दा पनि बसोबास, खानपान, कापी–किताब र दैनिक खर्च कसरी धान्ने भन्ने कुरामा उहाँ चिन्तित हुनुहुन्छ । आमा प्रेमलता माटोको चुल्होमा खाना पकाउँदै छोरीहरूको बिहे र छोरालाई साढे पाँच वर्ष कसरी पढाउने भन्ने चिन्तामा हुनुहुन्छ । बुवा इन्द्रजितले भन्नभयो–‘छोराले हाम्रो मात्र होइन, सिंगो क्षेत्रको नाम उज्यालो बनाएको छ । भगवानले अगाडि पनि केही न केही बाटो खोलिदिनुहुनेछ ।’
    यो एउटा परिवारको कथा मात्र होइन । मर्चवारकै अर्को कथा हो श्याम गुप्ताको । फेरीमा कपडा बेच्ने बुवा रमेश गुप्ताको अनुहारमा मुस्कान देखिए पनि मनभित्र भविष्यको खर्चको चिन्ता उस्तै छ ।

    मर्चवारस्थित सिलौटिया बागेश्वरीबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गर्नुभएका श्यामले बुटवलस्थित कालिका माध्यमिक विद्यालयबाट कक्षा ११ र १२ उत्तीर्ण गर्नुभयो ।
    ‘सामान्य गरीब परिवारमा जन्मिएको मेरा लागि निजी विद्यालय हुँदै बुटवलको उत्कृष्ट विद्यालयमा पढ्नु सामान्य थिएन, ’श्यामले भन्नुभयो–‘बुवाले घाम, वर्षा र शीतलहर नभनी कपडा बेचेर हामीलाई यहाँसम्म पुर्याउनुभयो । पहिलो प्रयासमा पर्याप्त अंक नआए पनि परिवारको प्रेरणाले मनोबल घटेन । दोस्रो प्रयासमा अनलाइन कक्षा, युट्युब र साथीहरूको सहयोगले निरन्तर मेहनत गरे ।’ उहाँले थप्नुभयो–‘२०८२ कार्तिकमा दोस्रोपटक परीक्षामा सहभागी भइ छनोट हुँदा परिवारमा खुसी छायो । काठमाडौंका प्रतिष्ठित मेडिकल कलेजमा अवसर हुँदाहुँदै पनि बसाइ र खर्चको भारका कारण उनी भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा भर्ना हुन बाध्य भए ।’ छात्रवृत्तिमा नाम निस्कँदा खुसी त्यत्तिकै चिन्ता पनि रहेको उहाँले बताउनुभयो । एमबीबीएस पढ्ने क्रममा पनि केही दुःख पाइन्छ कि भन्नेमा उहाँ केही चिन्तित देखिनुहुन्छ ।

    श्यामको बुवा रमेश भावुक हुँदै भन्नुभयो–‘छोरालाई डाक्टर बनाउने सपना पूरा गर्न जीवनको सबै कमाइ पढाइमै खर्च भयो । आज पनि फेरीमै कपडा बेचेर घर चलाइरहेका छौं । कतैबाट सहयोग मिले छोराको पढाइ पूरा हुन्छ ।’ आमा इसरावतीसँग पनि आशा छ तर, उहाँ चिन्तित पनि देखिनुहुन्छ । ‘छोरो डाक्टर बन्छ भन्ने खुसी छ । तर पढाइमा लाग्ने खर्चले रातभर निद्रा लाग्दैन,” उहाँले भन्नुभयो ।

    मर्चवारका यी कथाहरू केवल व्यक्तिगत सफलता मात्र होइनन्, राज्यका लागि प्रश्न पनि हुन् । प्रतिभा र क्षमता हुँदाहुँदै पनि आर्थिक अभावले सपना अधुरो हुने जोखिम अझै उस्तै छ । यी कथाहरूले मर्चवारमा शिक्षामा लगानी र सहायताको आवश्यकता रहेको कुरा गहिरो रूपमा उजागर गरेका छन् ।...