शनिवार , जेठ २, २०८३
काठमाण्डाै। कुनै समय फोहोर र दुर्गन्धको पर्याय बनेका काठमाडौंका नदी किनारहरू अहिले शहरको सुन्दर पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहेका छन् ।
विशेषगरी शंखमूल क्षेत्रको वागमती किनारमा निर्माण गरिएको ‘शंखमूल योग पार्क’ र वरिपरिका हरियाली क्षेत्रले उपत्यकावासीलाई नयाँ जीवन दिएको महशुस गराउँछ ।
हरियाली चौर, बगेको वागमती, र व्यवस्थित पैदलमार्गहरूले गर्दा यी क्षेत्रहरू अहिले बिहानी र साँझको हिँडडुल (मर्निङ वाक), योग अभ्यास र पारिवारिक पिकनिकका लागि पहिलो रोजाइ बन्न थालेका छन् ।
पार्कहरूमा बालबालिकाका लागि आधुनिक खेलौनाहरू, चिप्लेटी (स्लाइड) राखिएको छ । जहाँ उनीहरूलाई मोबाइल र ग्याजेटबाट टाढा राखेर खुला वातावरणमा रमाउन सहयोग पुग्छ ।
त्यस्तै, युवा पुस्ता र स्वास्थ्य सचेत नागरिकहरूका लागि खुला व्यायामशालाको व्यवस्था गरिएको छ । जसले स्वस्थ जीवनशैलीलाई प्रोत्साहन दिएको छ । शंखमूल क्षेत्र धार्मिक हिसाबले पनि महत्वपूर्ण छ । आर्ट अफ लिभिङ र स्थानीय समुदायको सक्रियतामा बनेका योग कक्ष र सत्तलहरूले यहाँ आउनेहरूलाई मानसिक शान्ति प्रदान गर्दछन्।
हरियो दुबोमा बसेर गरिने योग र ध्यानले शहरको कोलाहलबाट केही समय भएपनि मुक्ति दिने स्थानीय बताउँछन् । काठमाडौंका यी रिभरसाइड पार्कहरूले शहरी सौन्दर्य मात्र बढाएका छैनन्, यसले वातावरण संरक्षण र मानिसको मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पारेको छ ।
नदी किनारलाई व्यवस्थित बनाउने यो अभियानलाई अन्य क्षेत्रमा पनि विस्तार गर्नुपर्ने स्थानीयको माग छ ।





तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
