मंगलवार , माघ २०, २०८२
भैरहवा, २० माघ । पत्रकार रबिन्द्र प्रताप गुप्तालाई लुम्बिनी विश्व शान्ति मञ्चले सम्मान गरेको छ । विश्व सिमसार दिवसको अवसरमा मञ्चले लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा उहाँ सम्मानित हुनुभएको हो । पत्रकारिताको माध्यमबाट वातावरणीय सचेतनाको क्षेत्रमा योगदान पुर्याएको भन्दै उक्त योगदानको कदर गर्दै गुप्तालाई नगद १० हजार ५ रुपैयाँसहित सम्मान–पत्रद्वारा सम्मान गरिएको मञ्चले जनाएको छ । विगत १ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील गुप्ता खबरपात्रो डटकमको समाचार सम्पादक हुनुहुन्छ । उहाँ बुद्ध सामुदायिक टेलिभिजन, प्राइम टेलिभिजन र राष्ट्रिय समाचार समिति (रासस) मा पनि आबद्ध हुनुहुन्छ । गुप्ता नेपाल पत्रकार महासंघ रुपन्देहीको कार्यसमिति सदस्य, लुम्बिनी प्रेस क्लब, रुपन्देहीको सह–कोषाध्यक्ष, मधेशी पत्रकार समाज नेपाल, रुपन्देहीको कोषाध्यक्ष र प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको कार्यसमिति सदस्य समेत हुनुहुन्छ ।
मञ्चले सोमबार रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१० स्थित लुम्बिनी आधारभूत विद्यालयमा आयोजना गरेको छात्रवृत्ति वितरण, वृक्षरोपण तथा सचेतना कार्यक्रममा गुप्तासहित संगीतकार महेश ज्ञवाली, चित्रकला कलाकर्मी नर बहादुर विश्वकर्मा र होटल व्यवसायी लिलामणि शर्मालाई पनि सम्मान गरिएको थियो ।
मञ्चले उक्त कार्यक्रममा १० जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । विद्यार्थीहरुलाई जनही पाँच हजार रुपैयाँ छात्रवृत्ति र विद्यालयलाई १० हजार गरी ६० हजार रुपैयाँ प्रदान गरिएको मञ्चका संस्थापक तथा अध्यक्ष बासु गौतमले बताउनुभयो । त्यस्तै विद्यालय परिसरमा २५ वटा बढी र अन्य स्थानमा गरी २५० वटा विरुवा रोपिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशका विभिन्न विद्यालयमा अक्षयकोष स्थापना गरिएको उहाँले बताउनुभयो । प्रत्येक वर्ष सिमसार दिवस र अन्य दिवसमा लुम्बिनी क्षेत्रका विद्यालयमा यस्तै किसिमको सहयोग गर्ने गौतमले बताउनुभयो ।
कार्यक्रममा राजकीय बौद्ध विहार, लुम्बिनीका प्रमुख सागर धम्मले जीवन निर्वाह गर्न पानी आवश्यक रहेकोले पानीका स्रोतको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पानी खेर नफाल्न आग्रह गर्दै सिमसार क्षेत्रको धेरै नै महत्व रहेको बताउनुभयो । सिमसार दिवसको अवसरमा विद्यालयमा कार्यक्रम आयोजना गरिनु प्रशंसनीय रहेको उहाँको भनाइ छ ।
त्यस्तै भैरहवा नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमित कुमार गुप्ताले मञ्चले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
लुम्बिनी होटल संघ, नेपालका अध्यक्ष लिलामणि शर्माले तालतलैया, पोखरी तथा पानीका स्रोतहरुको संरक्षण आवश्यक रहेकोमा जोड दिनुभयो ।
सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले पर्यावरणलाई बचाउनुपर्छ र सिमसार क्षेत्रलाई संरक्षण गर्नुपर्छ भन्ने सन्देश यो कार्यक्रमले दिएको बताउनुभयो । उहाँले पर्यावरणलाई बचाउन वृक्षरोपण आवश्यक रहेकोमा जोड दिनुभयो । लुम्बिनी विश्व शान्ति मञ्चसँग आगामी दिनमा पनि सहकार्य गर्दै जाने उहाँको भनाइ छ ।
कार्यक्रममा लुम्बिनी विश्व शान्ति मञ्चका साझेदार संस्थाहरु सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, ओम मेगाश्री फार्मास्यूटिकल्स लिमिटेड र लुम्बिनी होटल संघ, नेपालका प्रतिनिधिहरुको सहभागीता थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
