२०८२, माघ २१ गते

Feb 04 2026 | २०८२, माघ २१ गते

चीन तथा मलेसियाका उद्योगी रुपन्देहीमा लगानीका लागि इच्छुक

बुधवार , माघ २१, २०८२

  • 277
    Shares
  • 277
    Shares
  • बुटवल, २१ माघ । चीन र मलेसियाका लगानीकर्ताले रुपन्देही केन्द्रीत रहेर सञ्चालन हुने उद्योग क्षेत्रमा आफ्नो प्रविधि र आर्थिक लगानीका लागि तयार रहेको जनाएका छन् । उनीहरुले दक्षिणी छिमेकी देश भारत र अन्य युरोपियन देशहरुमा समेत लगानीका लागि प्रशस्त सम्भावना भएको जनाउँदै यसको वातावरण रुपन्देही भएकाले आफूहरु त्यसका लागि तयार रहेको जनाएका छन् ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, कच्चा सामग्री ल्याउन सहज, तापक्रमका हिसाबले पहाडको नजिक र जनशक्ति पाउन समेत सहज, ढुवानीको सहज वातावरण भएकाले यो क्षेत्रबाट उत्पादन गरेर निर्यातको प्रशस्त संभावना देखेको आफ्नो अध्ययनले देखाएको उनीहरुको धारणा छ ।

    लुम्बिनी प्रदेश सरकारसँग यसबारे अघि बढेका उनीहरुले यहाँका उद्योगीहरुसमक्ष यसको वातावरणका विषयमा छलफल थालेका छन् । मलेसियाका स्टेवार्ड चोङ, चीनका जोएसन छिन, भेलिरिन क्वीन, मार्क लाइकको टोलीले यो क्षेत्रमा अस्तव्यस्त रहेको फोहोर प्रशोधन गरेर धेरै वस्तु उत्पादन गर्न सकिने र त्यसको ठूलो परिणाममा निर्यात गर्न सकिने सम्भावनासहित रुपन्देहीमा आएको जनाएका छन् । उनीहरुले रुपन्देही, कपिलवस्तु र नवलपरासी क्षेत्रका विभिन्न क्षेत्रहरुमा यसको गहिरो अध्ययन गरी यस्तो निचोड निकालेको जनाउँदै स्थानीयले समन्वय गरेर कानूनी झण्झटमा नपारे प्रविधि र लगानीमा साथ दिने जनाएका हुन् ।

    लुम्बिनीका पूर्वमन्त्री तथा प्रदेश सांसद विष्णु प्रसाद पन्थीको साथ यस क्षेत्रका विभिन्न सम्भाव्यता अध्ययन गरेका उनीहरु यहाँको वातावरणबाट प्रभावित हुनुभएको छ । यो टोलीको नेतृत्व गरेका मलेसियाको जेबीसी र जेडीएफका अध्यक्षसमेत रहनुभएका स्टेवार्ड चेनले यति ठूलो सम्भाव्यता रहेको स्थानमा बस्ने नेपालीले आयात गर्ने नभइ निर्यात गर्ने वस्तु उत्पादन गर्नुपर्ने बताउनुभयो । ‘दक्षिणी क्षेत्रमा यति ठूलो जनसंख्या भएको छिमेकी देश छ, यहाँ यति ठूलो सम्भाव्यताको क्षेत्र छ उद्योगहरुका लागि, अब तपाईहरुले बाहिरबाट सामान ल्याउने होइन पठाउने योजना बनाउनुहोस्, प्रविधि र लगानीको वातावरण हामी मिलाउँछौं, सधैभरी आयात गरेर हुँदैन, अब निर्यात गर्ने वस्तु ठूलो मात्रामा उत्पादन गर्नुस्, भारतपछि युरोपियन मुलुकमा पठाउनुपर्छ’ उहाँले भन्नुभयो ।

    ‘भारतसँग सीमा नाकामा कुनै समस्या छैन, उत्पादन गरेका सामग्री निर्यातको योजना बनाउनुपर्छ, चीन, मलेसिया, युरोपमा भएका लगानीकर्ताहरुले यहाँ धेरै सम्भावना देखेका छन्, यहाँको वातावरण बनाएर अब औद्योगिक क्षेत्रमा ध्यान दिनुपर्छ’ स्टेवार्डले भन्नुभयो– अन्तर्राष्ट्रिय विमानस्थल छ, ढुवानीको सहजता रहेछ, अब यसमा ढिलाई नहोस् ।’

    उहाँले नेपालबाट भारत निर्यात के के भएका छन् र अब के हुन सक्छन् भन्ने विषयमा पनि गहिरो अध्ययन गरेको जानकारी दिनुभयो । उनीहरुको भ्रमण टोलीलाई संयोजन गर्नुभएका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य विष्णु प्रसाद पन्थीले कानुनी अल्झन नदिएर लगानीको वातावरण बनाउन सके यस्ता खालका लगानीकर्ताहरु धेरै रहेको बताउँदै यसको वातावरण सबै मिलेर बनाउनुपर्ने बताउनुभयो । ‘चाइनिज, मलेसियनसहित विश्वका धेरै देशका लगानीकर्ताहरु यहाँको प्रशस्त सम्भावना देखेर लगानीका लागि तयार छन् । तर, यहाँ साना साना स्वार्थका कारण हुने विवादमा उनीहरु जोडिन चाहदैनन्’ उहाँले भन्नुभयो–‘अहिलेको टोलीले फोहोरमैला प्रशोधनको ठूलो योजना लिएर आएको छ, अहिले सबै पालिकामा ठूलो चिन्ताको विषय बनेको फोहोरबाटै उनीहरुले प्रविधिको प्रयोगबाट विभिन्न उत्पादनको योजनालाई अघि सारेका छन्, हामीकहाँ कामभन्दा धेरै विरोध र हल्ला भएर समस्या भएको हो, अब लगानीको वातावरण बनाउनुपर्छ ।’

    यो टोलीले रुपन्देही उद्योग संघको टोलीसँग यहाँ आएर लागनीको वातावरणका विषयमा पनि लामो छलफल गरेको छ । संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले लगानी अध्ययनका लागि आएको टोली यहाँको वातावरण हेरेर निकै सन्तुष्ट भएको र अब यसका विषयमा सबैले चासो दिएर समन्वय गर्नुपर्ने बताउनुभयो ।

    ‘चिनियाँ र मलेसियन लगानीकर्ताको टोलीले यहाँ लगानी गरेर निर्यात गर्न सकिने विषयमा हामीसँग मिहीन छलफल चलाएको छ, यसमा हामीहरु निकै प्रभावित भएका छौं । अब यस्तो उत्साहित लगानीकर्तालाई कसरी यहाँ ल्याउन सकिन्छ भन्ने विषयमा निजी क्षेत्र र तीन तहका सरकारले विशेष योजना बनाउनुपर्छ’ उहाँले भन्नुभयो ।

    संघका महासचिव रहनुभएका युवा उद्योगी सुमन बस्यालले यसरी आएका विदेशी उद्योगीहरुसँग सहकार्य गरेर नै अघि बढ्न सकिने बताउनुभयो । ‘स्पष्ट योजना लिएर प्रविधि र लगानीको ढाडस दिनेहरुबाट हामीले केही न केही लिन सक्नुपर्छ, यो निकै सकारात्मक पक्ष हो’ उनले भने–‘अहिले विश्वका धेरै देशका लगानीकर्ताहरुले निर्यातको संभावना भएका ठाउँहरुमा अध्ययन गरेर नै लगानीको योजना बनाएका हुन्छन्, सायद उनीहरुको पनि यही नै होला, यसमा ढिलाइ गर्नुहुँदैन ।’ बस्यालले टोलीसँग संघले द्धिपक्षीय सहकार्य गरेर अगाडि बढ्ने विषयमा प्रस्ताव राखेको र उनीहरुले त्यसलाई सहज रुपमा लिएको जानकारी दिनुभयो ।