२०८२, माघ २२ गते

Feb 05 2026 | २०८२, माघ २२ गते

‘गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय नहुँदा अरबौं लगानी जोखिममा’

बिहिवार , माघ २२, २०८२

  • 541
    Shares
  • 541
    Shares
  • भैरहवा, २२ माघ । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा अरबौंको लगानी जोखिममा परेकोले नियमित उडान हुनुपर्ने सिद्धार्थ सञ्जाल, रुपन्देहीले माग राखेको छ । 

    सोमबार र मंगलबार नवलपरासी (बर्दघाट–सुस्ता–पूर्व), नवलपुरको कावासोती नगरपालिका–१५ स्थित बाघखोरमा भएको सञ्जालको समीक्षा तथा योजना बैठकले निर्माणसम्पन्न भइसकेको विमानस्थल नियमित सञ्चालनका लागि दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

    सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि दबाबमूलक कार्यक्रम गर्ने, कुटनीतिक पहलका लागि सरकारलाई आग्रह तथा ध्यानाकर्षण गराउने, अल्टीमेटम दिइने बताउनुभयो । उहाँले आवश्यक परे चरणबद्ध आन्दोलनका कार्यक्रम समेत ल्याउने जानकारी दिनुभयो ।

    सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थलमा सञ्चालन हुने भनिएपछि निजी क्षेत्रले अरबौं लगानी गरेको तर, विमानस्थल सञ्चालनमा नआउँदा व्यवसायी र स्थानीय चिन्तित रहेको बताउनुभयो । उहाँले विमानस्थल लुम्बिनीको विकास र यहाँको भविष्यसँग समेत जोडिएको बताउनुभयो । विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भए पर्यटकको संख्या बढ्ने र त्यसले आर्थिक क्षेत्र चलायमान बनाउन मद्दत गर्ने उहाँको भनाइ छ ।

    त्यस्तै भैरहवा क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि पहल गरिने भएको छ । सिद्धार्थ सञ्जाल, रुपन्देहीले यस क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि स्थानीय सरकार (सिद्धार्थनगर नगरपालिका), जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीसँग आवश्यक परामर्श तथा पहल गर्ने भएको हो ।

    रात्रीकालीन बजार सञ्चालन भएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने र यस क्षेत्रको आर्थिक गतिविधिलाई अझ चलायमान बनाउन सहयोग पुग्ने अध्यक्ष ज्ञवालीले बताउनुभयो ।

    समीक्षा तथा योजना बैठकले १८ बुँदे वार्षिक कार्ययोजना तय गरेको सिद्धार्थ सञ्जालका महासचिव मधु प्रसाद पन्थीले बताउनुभयो । पर्यटन प्रबद्र्धनसम्बन्धी योजना ल्याएर पर्यटकका समस्या समाधानका लागि पहल तथा पर्यटकीय र धार्मिकस्थलको पहिचान गरी प्रचारप्रसारको योजना ल्याउने निर्णय भएको महासचिव पन्थीले जानकारी दिनुभयो ।

    WhatsApp Image 2026-02-05 at 6.50.49 AM.jpeg

    त्यस्तै विभिन्न संघ–संस्थासँग छलफल तथा अन्तरक्रिया गरी समस्या समाधानको लागि सम्बन्धित निकायमा पहल, उद्योगी–व्यवसायी र वस्तुगत संघ–संस्थाको गुनासो सुनी सम्बन्धित ठाउँमा पेश, ट्राफिक सचेतना कार्यक्रम सञ्चालन, शान्ति सुरक्षाको अवस्थाबारे सुरक्षा निकायसँग समन्वय गरी छलफल तथा अन्तरक्रिया, स्थानीय विकास र भौतिक निर्माणसँग सम्बन्धित विषयमा स्थानीय सरकारका जनप्रतिनिधिहरुसँग छलफल, समग्र भैरहवाको विकासका अवसर तथा चुनौती विषयक छलफल कार्यक्रम तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यको लागि सम्बन्धित निकायसँग छलफल गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

    त्यसै गरी सीमा क्षेत्र व्यवस्थित गर्न आवश्यक पहल, सरकारी कार्यालयहरुसँग समन्वय गरी आवश्यक सल्लाह–सुझाव दिने तथा यहाँका समस्याबारे सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने र यस क्षेत्रमा महोत्सव सञ्चालनका लागि स्थायी मण्डप नभएकोले भैरहवा मण्डपका लागि जग्गाकोे व्यवस्थापनका निम्ति सम्बन्धित निकायमा पहल गर्ने निर्णय भएको सञ्जालका उपाध्यक्ष डा. शान्त कुमार शर्माले बताउनुभयो ।

    करिब अढाइ वर्षअघि भैरहवा क्षेत्रका संघ–संस्थाको भेला गरी शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, व्यवसाय क्षेत्रको विकासका लागि आवाज बुलन्द गर्ने उद्देश्यले सिद्धार्थ सञ्जाल, रुपन्देही गठन भएको अध्यक्ष अनिल कुमार ज्ञवालीले बताउनुभयो ।

    बैठकमा संस्थाका सचिव बिन्दु न्यौपाने, सह–कोषाध्यक्ष राम प्रसाद पोख्रेल, सल्लाहकार खिम बहादुर खत्री लगायतले बोल्नुभएको थियो ।