बिहिवार , माघ २२, २०८२
काठमाण्डौ । नेपाली काँग्रेसले निर्वाचनपूर्व कुनैपनि दलसँग गठबन्धन नगर्ने स्पष्ट गरेको छ । नेपाली काँग्रेस केन्द्रिय प्रचारप्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुरा बताइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रवक्ता देवराज चालिसेले नेपाली काँग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको र सबै १६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार कायम रहेको जानकारी दिनुभयो । उहाँले नेपाली काँग्रेस पूर्ण रूपमा चुनावी प्रक्रियामा केन्द्रित रहेको बताउनु भयो ।
उहाँले संसद पुनःस्थापना लगायतका विषयमा चलेका हल्लाहरुको विषयमा काँग्रेसको कुनै टीप्पणी भएको बताउनु भयो । निर्वाचनबाट ध्यान मोड्न त्यस्ता प्रयास भएको उहाँको भनाई छ ।
उहाँले निर्वाचन अवधिभर कुनै पनि किसिमको गठबन्धन नहुने र काँग्रेस आफ्नै बलमा चुनाव लड्ने दोहोर्याउनुभयो । उहाँले स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा मतदान तथा प्रचार–प्रसार गर्न पाउनु नागरिक र राजनीतिक दलको अधिकार भएको उल्लेख गर्दै त्यसको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामी सम्पुर्ण रुपमा हामी चुनावी प्रणालीमा गईरहेका छोँ । हामी चुनावमा नै विश्वास गर्छौ । पार्टीले सम्पूर्ण शक्ति चुनावमा लगाएको छ । यही बीचमा कतिपय भेटघाट, अदालती कुरालाई लिएर अयन्त्र ध्यान मोड्ने कुरामा हाम्रो कुनै टिप्पणी छैन । चुनावपूर्व हाम्रो कसैसंग कुनै किसिमको गठबन्धन हुँदैन । नेपाली काँग्रेस १६५ क्षेत्रमा आफ्नो उम्मेद्वार कायम छ । हामी प्रचारमा लागेका छौँ । विजयको उन्मुख पुगिरहेका छौँ ।’
उहाँले निर्वाचनमा मतदान गर्दा विगतको ईतिहास र भविष्य निर्माण गर्न सक्ने पार्टी र उम्मेद्वारलाई गर्न पनि आग्रह गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
