शनिवार , माघ २४, २०८२
लुम्बिनी, २४ माघ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले विश्व शान्तिका लागि धार्मिक सद्भाव आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार हिन्दु र बौद्ध धर्मगुरुहरुले आयोजना गरेको शान्ति–मैत्री लुम्बिनी यात्रा कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. लामाले लुम्बिनीको विकास संरक्षण र प्रवद्र्धनमा सबै धर्म र सम्प्रदायको उत्तिकै जिम्मेवारी र उत्तरदायित्व रहेको बताउनुभएको हो ।
लुम्बिनीप्रति सबै धर्म मान्ने मानिसहरुले उत्तिकै आस्था र विश्वास रहेको बताउदै शान्ति र अहिंसाको मार्ग अवलम्बन गर्न प्रेरणा दिएको बताउनुभयो । उहाँले लुम्बिनी शान्ति चाहने सबै मानिसहरूको साझा स्थल भएको र व्यक्तिगत आस्थाभन्दा माथि उठेर राष्ट्रहितका लागि धार्मिक एकता कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै विश्व ओमकार एकता महाअभियानका संयोजक डा. चिन्तामणी नाथ योगीले राष्ट्र निर्माणका लागि धार्मिक एकता अपरिहार्य रहेको बताउनुभयो । नेपाल हिन्दु, बौद्ध, किराँत, जैन, बोनलगायत विविध धार्मिक समुदायहरूको साझा भूमि भएको उल्लेख गर्दै उनले सहअस्तित्व र सहकार्यमा बस्नुपर्नेमा जोड दिनुभयो ।
संगत संस्कृति अभियानका प्रमुख पुष्पराज पुरुषले भगवान बुद्धको जन्मस्थल सम्पूर्ण नेपालीको साझा धरोहर भएको बताउँदै धार्मिक भावना भएका प्रत्येक व्यक्तिले जीवनमा कम्तीमा एकपटक लुम्बिनीको भ्रमण गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा भिक्षु बजिरा, धार्मिक अभियानता मोहन रूम्बा, खेन्पो फुर्वा, शंकर खराल , भिक्षु सुमंङ्लो लगायत यात्रामा झण्डै दुई दर्जन भन्दा बढी हिन्दु र बौद्ध समुदायका धार्मिक अगुवाहरूको सहभागीता थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
