२०८३, कार्तिक १२ गते

Oct 29 2026 | २०८३, कार्तिक १२ गते

जनताले चाहेको परिवर्तनको अपेक्षा पूरा गर्न जनप्रतिनिधि र पत्रकारबीच सहकार्य जरुरी : सांसद खरेल

बिहिवार , कार्तिक १२, २०८३

  • 178
    Shares
  • 178
    Shares
  • बुटवल, १२ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुलभ खरेलले यस क्षेत्रका समस्या समाधान गर्न जनप्रतिनिधि र पत्रकार सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । जनताले चाहेको परिवर्तनको अपेक्षा पूरा गर्नका लागि जनप्रतिनिधि र पत्रकारबीच सहकार्य जरुरी रहेको उल्लेख गर्दै खरेलले दलगत राजनीति भन्दा माथि उठेर देश विकासमा जुट्न आग्रह गर्नुभएको छ । 

    रुपन्देहीको बुटवलस्थित सम्पर्क कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै सांसद खरेलले आफ्नो पहलमा भए–गरेका विकास र निकासका गतिविधि सञ्चार माध्यममा प्रकाशन, प्रसारण गर्ने कार्यमा सहकार्य गर्न आग्रह गर्नुभयो । सम्पर्क कार्यालयमार्फत नागरिकका समस्या, गुनासा र सुझाव संकलन गर्ने तथा ती विषयलाई आवश्यकता अनुसार संसदमा उठाएर समाधानका लागि पहल गर्ने जानकारी गराउँदै सांसद खरेलले सञ्चार क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने आश्वासन समेत दिनुभयो ।

    दशैं बिदाको समयमा गृहनगर आउनुभएका प्रतिनिधि सभा सदस्य खरेलले आफ्नो निर्वाचन क्षेत्र रुपन्देही–२ मा सक्रियता बढाउँदै विभिन्न क्षेत्रका सरोकारवालासँग समसामयिक विषयमा छलफल गर्दै आउनुभएको छ । सांसद खरेलले निर्वाचन क्षेत्रका नागरिकसँग निरन्तर सम्पर्कमा रहेर उनीहरूका समस्या बुझ्ने र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले कार्यालयमार्फत गतिविधि सञ्चालन गरिरहेको उहाँको सचिवालयले जनाएको छ ।
    नागरिकका दैनिक जीवनसँग जोडिएका समस्या, विकास निर्माण तथा सार्वजनिक सरोकारका विषयमा सम्बन्धित पक्षसँग छलफल गर्दै समाधानको पहल गर्ने उनको योजना रहेको सचिवालयले जनाएको छ । सांसद खरेलले बुटवलमा रहेको आफ्नो सम्पर्क कार्यालयमार्फत निर्वाचन क्षेत्रका नागरिकका गुनासा सुन्ने र समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । 

    सांसद खरेलले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल र बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनका लागि आवश्यक समन्वय र पहल गर्ने, बुटवल गोरुसिंगे सडक निर्माणमा भइरहेको ढिलाइ, अधुरो झुम्सा खानेपानी, तिनाउ खोलाको व्यवस्थापन र सुकुम्बासी समस्या समाधान लगायतका बिषयमा आफुले गम्भिरताका साथ अगुवाई गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।