शनिवार , माघ २४, २०८२
भैरहवा, २४ माघ । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)ले आफ्नो १९ औं स्थापना दिवस मनाएको छ । सिद्धार्थनगर नगरपालिका–९ उदयपुरस्थित संगठनको सभाहलमा स्थापना दिवस तथा सम्मान कार्यक्रम गरिएको अध्यक्ष सचिन रोक्काले बताउनुभयो । वि.सं. २०६३ साल माघ २२ गते स्थापना भएको संगठनले सप्ताहव्यापी कार्यक्रम गरेर १९ औं स्थापना दिवस मनाएको अध्यक्ष रोक्काले बताउनुभयो ।
कार्यक्रममा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको विजेता सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही टीमलाई पुरस्कार प्रदान गरिएको थियो । उक्त प्रतियोगिताका संयोजक शिवम जयसवालका अनुसार चारवटा टीम सहभागी प्रीतयोगिताको फाइनल खेलमा आयोजकलाई ५८ रनले पराजित गर्दै सिद्धार्थ उवासंघले उपाधि जितेको थियो ।
त्यस्तै माध्यमिक तह वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने जेसीज किण्डर गार्डेन हाई स्कूल, द्वितीय हुने साई ग्लोबल एकेडेमी, भानु माध्यमिक विद्यालय तृतीय र रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय सान्त्वना भएको कार्यक्रम संयोजक तथा संगठनका कोषाध्यक्ष धिरज कुमार मल्लिकले बताउनुभयो ।
प्ताहव्यापी कार्यक्रम अन्तर्गत योग ध्यान शिविर, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीलाई ज्याकेट र सोल्जर लाईट हस्तान्तरण, श्री सत्य साई वृद्ध सेवा आश्रममा खाद्यान्न वितरण, सरसफाई कार्यक्रम गरिएको संगठनका सचिव कृष्ण प्रसाद पाण्डेले बताउनुभयो ।
बिहीबार आयोजित स्थापना दिवस तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले उद्योग–व्यवसाय क्षेत्रमा रहेका समस्या समाधान गर्न संस्थाले निरन्तर पहल गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल, लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझी,आस्था महिला उद्यमी संघको अध्यक्ष मिनिता थापा क्षेत्री, चेम्बर अफ कमर्श, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष राम मिलन यादव, महासचिव लक्ष्मी अधिकारी लगायतले बोल्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
